दीपेन्द्र बडुवाल
मेघौली (चितवन), मंसिर १५ - निकुञ्ज पोलो टिम कप्तान तथा पूर्ववार्डेन रामपि्रत यादवले आयोजक र निकुञ्जसित मात्रै तालिमप्राप्त हात्ती रहेका र घरेलु टिमले मात्र राम्रो अभ्यास गर्न पाएको बताएका छन् । 'विदेशबाट सहभागी घोडा र जिपमा अभ्यास गर्छन्,' उनले भने, 'जिपमा चढेर तयारी गरेको सुन्दा अनौठो लाग्छ ।' प्रतियोगितामा प्रत्येक वर्ष नयाँ टिम सहभागी हुन्छन् । तर तिनका देशमा हात्ती हँुदैनन् ।
पछिल्लो समय सञ्चार माध्यमको तीव्र विकासले मुलुकमा यसको प्रचार भएको हो । त्यसअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले मात्रै यसको समाचार 'कभर' गर्ने गरेको उनले बताए । 'विश्वप्रसिद्ध छ,' उनले भने, 'प्रतिष्ठित व्यक्ति सहभागी हुन्छन् ।' खर्चिलो भएकाले स्वदेशी टिम धेरै भाग लिँदैनन् । सहभागी हुन एक टिमले १ हजार ५ सय डलरभन्दा बढी तिर्नुपर्छ । त्यो पैसा आयोजकले संरक्षणमा खर्च गरेको यादवले बताए ।
'जनावर र मानिस मिलेर खेल्छन्,' उनले भने, 'यो मेलमिलापको खेल हो ।' आयोजकका अनुसार यो
वर्ष अफगानिस्तान र स्विट्जरल्यान्डबाट नयाँ टिम सहभागी छन् । गत वर्ष १२ टिम सहभागी थिए । यसपालि आठ टिम छन् । खेलमा नवप्रवेशीलाई अनुभवी र पूर्वविजेताले 'ह्यान्डीक्याप' का रूपमा गोल उपहार दिने चलन छ । 'ह्यान्डीक्याप' दिने टिमले जित हासिल गर्न उपहार दिएकोभन्दा धेरै गोल गर्नुपर्ने नियम छ ।
टाइगर टप्सका कर्मचारी रामसिंह गुरुङले पोलो खेल्ने लठ्ठी दिल्लीबाट ल्याउने गरिएको बताए । बल प्रहार गर्दा लठ्ठी जुधेर भाँचिने गर्छ । 'दुई कार्पेन्टर लठ्ठी मर्मत गर्न राखेका छौं,' उनले भने, 'कमाउनेभन्दा नेपालसम्बन्धी 'गुडविल' प्रचार गर्ने प्रतियोगिता हो ।' गत वर्ष बर्दिया लगेका सामग्री ल्याउने क्रममा टुटफुट भएका छन् । अर्को ठाउँमा पोलो खेलाउन हात्तीसमेत यहाँबाटै लग्नुपर्ने बाध्यता छ ।
यसको सुरुआत नै मनोरञ्जनका लागि गरिएको थियो । टाइगर टप्सका पूर्वअध्यक्ष जिम एडवार्ड एकपटक स्विट्जरल्यान्ड पुगेका थिए । साथीसित हि्स्वकी पिउँदै गर्दा रमाइलोका लागि हात्तीपोलो सञ्चालन गर्ने कुरा दिमागमा फुरेको थियो । 'मेरो बाबाले रमाइलोका लागि खेलाएका थिए,' टाइगर टप्सका निर्देशक टिम एडवार्डले भने, 'लामा लठ्ठी ल्याएर यो खेल खेल्न थाले ।'
पोलोका संस्थापक जिमको डेढ वर्षअघि निधन भएको थियो । उनले मनोरञ्जनका लागि सुरुआत गरेको हात्तीपोलो पर्यटकका लागि मुख्य आकर्षण बन्दै छ । चितवन चिनाउने यो विश्वस्तरीय प्रतियोगिता हो । अहिलेसम्म चितवन निकुञ्जभित्रको यस होटलले आफ्नै लगानीमा उक्त खेल आयोजना गरिरहेको छ । पोलो सामग्री तथा हात्तीको अभावमा अन्यले आयोजना गर्न सम्भव छैन ।
निकुञ्जबाहिर होटल व्यवस्थापनका लागि थपिएको सञ्चालन अवधि सकिन २ वर्ष बाँकी छ । आयोजक यसलाई निरन्तरता दिने पक्षमा छन् । 'पोलोको घर चितवन हो,' उनले भने, 'यहाँ नभए बर्दियामै निरन्तर हुन्छ ।' यसले संरक्षण चेतना फैलाउने दाबी आयोजकको छ । प्रत्येक वर्ष खेलबाट हुने आम्दानी होटलले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष -आईटीएनसी) मा जम्मा गर्दै आएको छ । 'यसपालि सबै 'डोनेसन' कोषमा जम्मा गर्नेछौं,' उनले भने, 'अलिकति समुदायलाई सघाउनेछौं ।'
चोरी/सिकारविरोधी काम, शिक्षा र स्वास्थ्यका लागि हुने सहयोगको बाँडफाँड समुदायले गर्ने आयोजकले जनाएको छ । गत वर्ष बर्दियामा आयोजित पोलोमा उत्साहजनक सहभागिता थियो । पोलोको फाइनल १० हजारले हेरेका थिए । सोमबार मेघौलीमा खेल हेर्न विदेशी साथै बाल बच्चासहित स्थानीय पुगेका थिए । पर्यटन वर्षलाई लक्षित गरी नयाँ वर्षमा बर्दियामा पोलो आयोजनाको सम्भावना रहेको होटलले जनायो ।
चितवन निकुञ्जको लगातार जित
मेघौलीमा सञ्चालित २९औं अन्तर्राष्ट्रिय हात्तीपोलोअन्तर्गत लिग चरणको दोस्रो दिन मंगलबार घरेलु टोली चितवन निकुञ्जले दोस्रो जित हात पारेको छ । जितसँगै घरेलु टोलीले समूहको अग्रता हासिल गरेको छ ।
घरेलु निकुञ्जले ईएफजी स्विट्जरल्यान्डमाथि १२-८ गोलको फराकिलो अन्तरको जित हात पार्यो । दोस्रो खेलमा टाइगरटप्स टस्करले अफगानिस्तानलाई ७-३ ले पाखा लगायो । स्कटल्यान्डको सिभास रिगल र यूएईको सिप्योजबीचको लिग चरणको खेल बराबरीमा रोकिएपछि दुवै टिमले अंक बाँडेका छन् । दुवै टिमले समान ६-६ गोल गरेका थिए ।
बेलायतको बि्रटिस गोर्खाजले बेलायतकै पक्काचक्कालाई ३-२ ले हराएको छ । बुधबार लिग चरणका अन्तिम खेल हुनेछन् ।
मेघौली विमानस्थलमा आयोजित खेल हेर्न स्वदेशी एवं विदेशी पर्यटकको उपस्थिति अघिल्लो दिनको तुलनामा बढेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks