Loving nepal news

Wednesday, November 24, 2010

माओवादीमा महाधिवेशन माग


गंगा

पालुङटार (गोरखा), मंसिर ९ - माओवादी विस्तारित बैठकमा प्रस्तुत तीनवटा दस्तावेजमाथि आ-आफ्ना धारणा राख्ने क्रममा सहभागीले छिट्टै महाधिवेशन गर्न माग गरेका छन् ।

खासगरी उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर प्रतिनिधिले बुधबारको छलफलमा विस्तारित बैठकले टुंग्याउन नसकेका विषयमाथि छलफलका लागि आगामी चैत वा वैशाखमा महाधिवेशन गर्न माग गरेका हुन् । ०४८ मंसिरमा एकता महाधिवेशन भएयता माओवादीमा महाधिवेशन भएको छैन ।

अध्यक्ष पुष्पकमल दाहालले भने बैठकमा नसुल्भिmएका विषय बाहिरै छलफल गरेर मिलाउन सकिने बताएका छन् । 'कतिपय सैद्धान्तिक विषयमा मतभेद बाँकी रह्यो भने केन्द्रमा फोरम चलाउने तरिका अपनाउन सकिन्छ । कतिपय विषय बाहिरै छलफल गरेर पनि मिलाउन सकिन्छ, त्यसो गर्दा बिगि्रहाल्छ भन्ने होइन,' उनले कान्तिपुरलाई भने ।

प्रतिनिधिहरूले भने केन्द्रीय समितिमा नमिलेर विस्तारित बैठकमा आएको विषयलाई फेरि त्यही फर्काउन नमिल्ने बताएका छन् । 'मिल्ने भए त केन्द्रीय कमिटीमै मिल्थ्यो । किन विस्तारित बैठक गरिरहनुपथ्र्यो ? त्यसैले महाधिवेशनमा जानुको विकल्प छैन,' भट्टराई पक्षधर प्रतिनिधिको भनाइ थियो ।

'अध्यक्षको शान्ति र संविधानको खाका स्पष्ट छैन । उहाँको कार्यनीति ढुलमूले छ,' सभासदसमेत रहेका थारूवानका इन्द्रजित चौधरीले

भने । अध्यक्ष दाहालले 'जनयुद्धको ब्याज खाएर बस्न खोजेको' आरोप वैद्य पक्षधरको थियो । स्रोतका अनुसार आजको छलफल सुनेपछि अध्यक्ष दाहाल बिहीबारै स्थायी समिति बैठक राखेर संघर्षको नयाँ कार्यक्रम प्रस्ताव गर्ने सोचमा छन् ।

वैद्य पक्षधरले दाहालको कार्यशैली र भट्टराईको कार्यदिशाको कटु आलोचना गरेका थिए । उनीहरूले नेतृत्वको आचरणमा खराबी देखिएको, आर्थिक अनुशासनमा नरहेको, आवश्यकताभन्दा बढी बोल्ने र बोलीको ठेगान नभएको टिप्पणी गरेका थिए भने भट्टराई भारतपरस्त भएको र पार्टीलाई सम्झौतावादी भासमा लैजान खोजेको आरोप लगाएका थिए । भट्टराई पक्षधरले भने उनलाई गद्दार भनेर पुष्पलाल बनाउने षड्यन्त्र भइरहेको धारणा राखेका थिए ।

सभासदसमेत रहेकी सुदूर- पश्चिमकी लीला भण्डारीले दाहालले भारतीय राजदूत राकेश सूदलाई नौ महिनामा ७१ पटक भेटेको दाबी गर्दै भनिन्, 'सामान्य मर्यादा बिर्सेर राजदूतजस्तो व्यक्तिलाई पटक-पटक भेट्ने राष्ट्रवादी हुने अनि भारतमा पढेको भरमा भट्टराईचाहिँ भारतपरस्त हुने ?'

तराईको भोजपुरा र मिथिला राज्य समितिका अधिकांश प्रतिनिधि भट्टराईको पक्षमा देखिएका छन् । उनीहरूले अध्यक्ष दाहालले मधेसका मुद्दालाई सम्बोधन गर्न नसकेको धारणा राखेका थिए । भट्टराई पक्षधरले सांसद खरिदबिक्री सम्बन्धमा आएको चिनियाँ टेप प्रकरण के हो ? अध्यक्षले प्रस्ट पार्नुपर्छ भनी माग गरेका थिए ।

अध्यक्ष दाहाल पक्षधरले भने वैद्यको अभिव्यक्तिमा पार्टी फुटाउने षड्यन्त्रको गन्ध आएको बताएका थिए । वैद्यले आफ्नो प्रस्तुतिका क्रममा पार्टी नेतृत्व नसुधि्रए र बहुमतले पेलेर जान खोजे आफूलाई मान्य नहुने बताउँदै त्यसबेला पार्टीबाट विद्रोह गर्न कार्यकर्तालाई आह्वान गरेका थिए ।

'वैद्यजीको अभिव्यक्तिमा पार्टी फुटाउने षड्यन्त्रको गन्ध पाइयो । एउटाले यो बैठकको लाइन मेरो र अर्कोले त्यो बैठकको लाइन मेरो भनेर अध्यक्षलाई न्यूनीकरण गरी समाप्त पार्ने षड्यन्त्र भइरहेको छ,' दाहाल पक्षधर एक नेताले प्रश्न गरे, 'ठूलो जोखिम मोलेर त्यत्रो जनयुद्ध, आन्दोलन गरेर पार्टीलाई यहाँसम्म कसले ल्याइपुर्‍यायो ?'

मगरात राज्य समितिका वसन्त शर्माले भट्टराईको कार्यनीतिले भारत र एमाले, कांग्रेससँग सम्झौता गरेर पार्टीलाई एमालेकरण गर्ने र सम्झौतावादी बाटोमा लैजाने बताएका थिए । 'यसबाट पार्टीको एमालेकरण हुने र पार्टी सम्झौतावादी, यथास्थितिवादी धारमा फस्नेछ,' उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेताहरूको नजिक रहे पनि विगतका बैठकमा सन्तुलित विचार राख्ने कार्यकर्ता यसपालि भने खुलेरै विभाजित भएको स्रोतले बतायो । खासगरी भट्टराई पक्षधरले आफ्नो धारणा खुलेर राखेका थिए । बिहीबारको बैठकमा सेती-महाकाली, भेरी-कर्णाली, थारूवान, अवध, भोजपुर, नेवाः, मगरात, मिथिला, तमुवान र ताम्सालिङ राज्य समितिका तीनवटै धारका एक-एक गरी ३० जनाले र अन्य दुई जनाले भिन्न धार प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks