Loving nepal news

Sunday, November 21, 2010

माओवादीलाई बिश्वास गर्ने आधार समाप्त भयोः प्रधानमन्त्री * बजेट ल्याउनु पूर्व सहमति भए/नभएको राष्ट्रपतिको जिज्ञाशा

अब्दुल्लाह मियाँ

काठमाडौं, मंसिर ६ - प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा आक्रमणपछि 'माओवादीलाई बिश्वास गर्ने आधार समाप्त भएको' बताएका छन् ।

राष्ट्रपति डा.रामवरण यादवसँग आइतबार अपरान्ह भएको भेटमा प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै सहमति तोडेर 'ठूलो गल्ति' गरेको बताएको राजनीतिक सल्लाहकार रघुजी पन्तले बताए ।

'अब माओवादीलाई कुनै हालतमा विश्वास गर्न नसकिने भयो' प्रधानमन्त्री नेपालको भनाई उदधृत गर्दै सल्लाहकार पन्तले आईतबार कान्तिपुरसित भने, 'अब विश्वासै गर्न नसकिने गरी माओवादीले खाडल खन्यो, अब कसरी सहकार्य गर्ने ?' संसद्भित्र माओवादीले प्रदर्शन गरेको गतिविधिले दलहरुवीच दूरी बढाएको धारणा पनि प्रधानमन्त्रीको थियो ।

माओवादी अध्यक्ष दाहालले आफैंले गरेको सहमति उल्लंघन गरी सिंगो संसद् र देशको बेईज्जत गरेको नेपालले यादबसंग गुनासो गरेका थिए । 'पटक/पटक गरेको सहमति उल्लंघन गरी माओवादीले शान्ति र संविधानकालागि दलहरुवीच आवश्यक सहकार्यलाई गम्भीर अड्चन खडा गरेको' प्रधानन्त्रीले बताएका थिए । नेपालले संसद्भित्र माओवादीले गरेको असंसदीय र अमर्यादित गतिविधिले नकारात्मक सन्देश गएकोमा राष्ट्रपतिसंग दुःखमनाउ गरेका थिए ।

संसद्मा शुक्रवार बजेट प्रस्तुत गर्न खोज्दा माओवादी सभासद्ले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लछार पछार गर्नुका साथै बजेटको बि्रफकेस तोडफोड गरी कागजात च्यातचुत गरेका थिए । उनीहरुले उर्जामन्त्री प्रकाशसरण महतलाईसमेत लछारपछार गरेका थिए ।

राष्ट्रपतिले बजेट ल्याउनु अघि माओवादीसंग सहमति भए/नभएकोबारे प्रधानमन्त्रीसंग स्पष्ट हुन खोजेपछि नेपालले बालुवाटार र सभामुखसंगको छलफलमा माओवादीले बजेटबारे औपचारिक रुपमै सहमति दिएको प्रष्ट पारेका थिए । रुसमा हुने बाघ पाईने देशहरुको सम्मेलनमा जानु अघि प्रधानमन्त्रीले राष्ट्रतिलाई भेटेका हुन् । उनले रुसमा हुने बाघ सम्मेलनबारेपनि राष्ट्रपतिलाई जानकारी गराएको पन्तले जनाए । नेपाल आईतबार राती पौने १२ बजे रुस प्रस्थान गरेका छन् ।

यस अघि अध्यक्ष दाहालले शनिवार 'सरकारकै कारण संसद्मा परिस्थिती बदलिएर त्यस्तो घटना भएको र त्यसको जिम्मेवार सरकार नै भएको' राष्ट्रपति यादबसंगको भेटमा दाबी गरेका थिए । दाहालले सरकारले सहमतिविपरित पूर्ण बजेट ल्याउन खोजेपछि संसद्मा परिस्थिती बदलिएको यादबसंग जिकिर गरेका थिए । संसद्मा भएको गतिविधिलगत्तै त्यसबारे राष्ट्रपति यादबले दुःखमनाउ गरेका थिए ।

यसैवीच, राष्ट्रिय जनशक्ति पार्टीले शुक्रवार संसदमा भएको घटना देशलाई अधिनायकबादको बाटोमा डोर्‍याउन भइरहेको श्रृंखलामध्येको एक कडी भएको टिप्पणी गरेको छ । अध्यक्ष सूर्यबहादुर थापाले आईतबार विज्ञप्ति जारी गरेर यस्ता श्रृंखलाप्रति बेलैमा सचेत भएर उपयुक्त कदम चल्न युक्तिसंगत हुने सुझाएका छन् । यस्तै, नेकपा माक्र्सवादीलेपनि विज्ञप्तिमार्फत् संसदमा शुक्रवार भएको घटनालाई माओवादीको विकृति चिन्तनको उपज भनेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks