Loving nepal news

Wednesday, November 17, 2010

वाषिर्क १ अर्बको गहुँ निर्यात


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर २ - पर्याप्त मल र सिँचाइलगायत गुणस्तरीय बीउमा किसानको पहुँच बढाउन सके मुलुकले गहुँ निर्यातबाट ठूलो लाभ लिन सक्ने देखिएको छ । सरकारले समयमा सहुलियत नदिए पनि वाषिर्क १ अर्बभन्दा बढीको गहुँ निर्यात हुने गरेको छ ।

कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६५/६६ को तथ्यांकअनुसार वाषिर्क १ अर्ब ३७ करोड रुपैयाँ बराबरको गहुँ -पिठो र दाना) निर्यात भएको हो । त्यसमध्ये बंगलादेशले मात्रै १ अर्ब १६ करोड रुपैयाँ बराबरको गहुँको दाना आयात गरेको मन्त्रालयका प्रवक्ता हरि दाहालले बताए । प्रतिकिलो २७ रुपैयाँ ५७ पैसाका दरले निर्यात भएको थियो । गत आर्थिक वर्ष १५ लाख ५६ हजार ५६ सय ३९ टन उत्पादन भएको तथ्यांक छ । यसको मूल्य करिब ४३ अर्ब रुपैयाँ बराबर हुन आउँछ ।

क्षेत्रफल र उत्पादनको हिसाबले गहुँ तेस्रो ठूलो खाद्यान्न बाली हो । उपभोगको दृष्टिले दोस्रो स्थानमा छ । एजिडिपीमा यसले ७ दशमलव १४ प्रतिशत योगदान दिएको छ ।

सन् २००९ मा नेपाल विश्वमा बढी गहुँ उत्पादन गर्ने मुलुकको सूचीमा ३६ औं स्थानमा थियो । सबैभन्दा बढी गहुँ उत्पादन गर्ने मुलुकमा चीन पहिलो (११ करोड ५० लाख टन) र भारत (८ करोड ७० लाख टन) दोस्रो स्थानमा छन् । रुस, अमेरिका र फ्रान्सलगायत मुलुक पनि गहुँ बढी उत्पादन गर्नेमा पर्छन् । गत वर्ष विश्वभरि करिब ६८ करोड टन गहुँ उत्पादन भयो ।

२५ वर्ष अवधिमा गहुँको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढे पनि अझै धेरै बढाउन सकिने सम्बद्ध विज्ञ बताउँछन् । गहुँको क्षेत्रफल ६२, उत्पादन २ सय ९२ र उत्पादकत्वमा १ सय ८० प्रतिशतले वृद्धि आएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष १९८४/८५ मा ४ लाख ५१ हजार ८ सय ९० हेक्टरमा गहुँ खेती भएकामा २००९/१० मा ७ लाख ३१ हजार १ सय ३१ हेक्टर पुगेको छ । यस अवधिमा उत्पादन ५ लाख ३३ हजार ७ सय २० टनबाट १५ लाख ५६ हजार ५ सय ३९ टन र उत्पादकत्व १ हजार १ सय ८१ बाट २ हजार १ सय २९ केजी प्रतिहेक्टर पुगेको छ । नेपालमा गहुँका ३० उन्नत जात प्रयोगमा छन् । स्थानीय जात लोप हुने स्थितिमा रहेको अधिकारीहरू बताउँछन् ।

कृषिमा प्रशस्त सम्भावना भए पनि सरकारले ध्यान दिन सकेको छैन । कृषिकको कुल गार्हस्थ उत्पादन -एजिडिपी) मा रासायनिक मलको को ठूलो योगदान रहे पनि सरकारले उपलब्ध गराउन नसकाले किसानले ठूलो सास्ती बेहोर्दै आउनुपरेको छ ।

सन् २००९/१० मा एजिडिपीमा मलको ३७ दशमलव १५, राम्रो जात भएको बालीबाट ३ दशमलव ३९ र सिँचाइबाट १५ दशमलव ८९ प्रतिशतले योगदान दिएको छ ।

दीर्घकालीन कृषि नीति (एपिपी) ले सन् २००९/१० मा औसत ९४ किलो प्रतिहेक्टर रासायनिक मल खपत हुने प्रक्षेपण गरेको थियो । यसअन्तर्गत उच्च पहाडमा २७ दशमलव ८१, पहाडमा ७४ दशमलव ७६ र तराईमा १ सय १२ दशमलव ३ केजी प्रतिहेक्टर हुने अनुमान गरिएको थियो । कृषि सामग्री कम्पनीले गत वर्ष ८१ जार ६ सय ५ टन मल आयात गरेको तथ्यांकको आधारमा मलको औसत खपत १३ दशमलव ६६ किलो प्रतिहेक्टर मात्रै छ ।

सिँचित क्षेत्रमा गहुँका लागि नाइट्रोजन प्रतिहेक्टर १ सय केजी, फस्फोरस ५० र पोटास २५ केजी पोषणतत्त्व आवश्यक पर्छ । यस्तै असिँचित क्षेत्रका लागि नाइट्रोजन, फोस्फोरस र पोटास क्रमशः ५०/५० र २० केजी चाहिन्छ । गहुँ खेती हुने ७ लाख हेक्टरका लागि आवश्यकताअनुसार मल हाल्ने हो भने २ लाख ५६ हजार २ सय टन आवश्यक पर्ने उनले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks