Loving nepal news

Tuesday, November 9, 2010

ठूला दलको सत्ता मोहले गतिरोधः ठाकुर

शंकर आचार्य

पर्सा, कार्तिक २३ - तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले ठूला तीन दलको सत्ता मोहका कारण संविधान निर्माण र शान्ति प्रकृया प्रभावित भएको आरोप लगाएका छन् । रिपोटर्स क्लव पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको साक्षात्कारमा बोल्दै ठाकुरले त्यस्तो आरोप लगाएका हुन् ।

तीन ठूला दल मध्ये कसैलाई पनि जनताले बहुमत नदिएकाले मुलुकलाई सहमतीय तरिकाबाट चलाउनुको बिकल्प नरहेको उनको भनाई थियो । यसरीनै पटक पटक प्रधानमन्त्रीको निर्वाचन गर्नुको कुनै औचित्य नरहेको उनको कथन थियो ।

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई दोधारे चरित्रको व्यक्ति भन्दै ठाकुरले यादव कहिले मधेशी मोर्चामा मिल्ने र आफ्नो स्वार्थ पूरा गर्न फेरी मोर्चाबाट अलग्गिने गरेको आरोप लगाए । माओवादी नेतृत्वको सरकारमा तमलोपा सामेल हुने नहुने कुरो बारे निर्णय भई नसकेको भन्दै ठाकुरले यसलाई भविष्यको कुरो भनेर पन्छिन खोजे ।

तराईमा हत्या हिंसा गरी रहेका भूमिगत संगठनहरुलाई राजनीतिक भन्न नमिल्ने भन्दै उनले बल प्रयोग गर्ने संगठन वा राज्य दुबै आतंकी हुने बताए । भारतीय राजदुत राकेश सुद उपर माओवादी कार्यकर्ताले गरेको जुत्ता प्रहारको घटना कुटनीतिक मर्यादाको विपरीत र निन्दनिय रहेको भन्दै उनले यो घटनामा संलग्न माओवादी कार्यकर्तालाई पक्राउ गरी कानूनी कारवाही गर्नु पर्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks