Loving nepal news

Friday, November 26, 2010

विमानस्थल सुधार नहुँदा उडान प्रभावित


हरिहरसिंह राठौर

खलंगा, मंसिर ११ - रुकुमको चौरजहारी विमानस्थलमा आधारभूत सुधार नभएकाले नियमित उडानहरू प्रभावित भएका छन् ।

विमानस्थल ३६ वर्षदेखि सञ्चालन भए पनि आधारभूत भौतिक सुधार हुन सकेको छैन । विमानस्थलबाट जहाजसँग सम्पर्क गर्ने भरपर्दो सञ्चारमाध्यम र प्राविधिक छैनन् । दशकअघि माओवादीद्वारा ध्वस्त कार्यालय हालसम्म पुनर्निर्माण नभएकाले पनि उडान प्रभावित भएका हुन् । विमानस्थल अस्थायी कर्मचारी र स्थानीय कार्यालय सहयोगीले सञ्चालन गरेका छन् ।

नेपालगन्जबाट सबैभन्दा छोटो हवाई दूरीमा रहेकाले अन्य निजी कम्पनीले उडान सञ्चालन गरेका छैनन् । अहिले सरकारी विमानले सातामा तीन उडान गर्छ । तर धेरैजसो उडान रद्द हुँदा यात्रु मर्कामा पर्ने गरेका छन् ।

नेपालगन्जसम्म हवाई यातायात र सडक यातायात मूल्य बराबर पर्ने भएपछि हवाई यात्रुको चाप बढेको छ । जाजरकोट र चौरजहारीबाट कच्ची सडकमा चल्ने यातायातका साधनमा दिनभर हुने झन्झट र महँगो भाडाका कारण पनि यात्रुको आकर्षण भएको हो ।

जाजरकोट सदरमुकामसँग जोडिएको रुकुमको चौरजहारी विमानस्थलमा कर्मचारीको व्यवस्थापन, हवाई मैदान, कार्यालय र सञ्चार उपकरणको स्तरोन्नति भएको छैन । 'हवाई मैदान सञ्चालन हुँदा २०३१ सालमा टिकटहरू राख्न पठाइएको सुटकेसले हालसम्म धानेको छ,' विमानस्थलका कर्मचारी लोकराज गिरीले भने ।

हवाई सेवा सुरु हुँदा नेपालगन्जको टिकट १ सय रुपैयाँ थियो । हाल १ हजार ३ सय ५५ रुपैयाँ छ । तत्कालीन शाही नेपाल वायु सेवा निगमले काठमाडौंबाट १ उडान र नेपालगन्जबाट सातामा नियमित ५ उडान भर्ने गरेको थियो ।

हाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको महत्त्वपूर्ण सञ्चार उपकरणको जिम्मा लिए पनि दक्ष प्राविधिक कर्मचारी नपठाएकाले स्थानीय निम्नस्तरका कार्यालय सहयोगीले काम चलाएका छन् । प्राविधिकको अभावमा सञ्चार उपकरण बिग्रेमा वा सञ्चालन गर्न नसकेका दिन उडानहरू रद्द हुने गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks