Loving nepal news

Tuesday, November 2, 2010

विद्यार्थी हत्याका अभियुक्त पुर्पक्षका लागि थुनामा * · अभियुक्तले पाएनन् कानून व्यवसायी

जनक नेपाल

नेपालगन्ज, कार्तिक १६ - दुई स्कूले विद्यार्थीको हत्याका अभियुक्तहरुलाई मंगलवार बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सोमवार र मंगलवार अभियुक्तहरुको बयानपछि न्यायधिश महेन्द्रराज गौतमको एकल इजलासले थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको हो । प्रहरीले मुख्य अभियुक्त मेराज अहमद साई, इब्राईम मनियार, रज्जाब अलि शेख, नाजिर खाँ, राजितराम बर्मा, रामशोभित बर्मा, कैलाश गडरिया र प्रहरी हवल्दार साकिर अलि बेहना अदालतमा उपस्थित गराएको थियो ।

स्कूले विद्यार्थीद्वय कपिल द्विवेदी र लिलाधर भट्टको अपहरण तथा हत्याका मुख्य योजनाकार रामसुरेश बर्मा र मानवअधिकारकर्मीका रुपमा नेपालगन्जमा कार्यरत सीपी सिंहलगायत आठ जना भने फरार रहेको प्रहरीले जनाएको छ । मुख्य अभियुक्त मेराजलाई मुखबीर राख्ने राष्ट्रिय अनुसन्धानका अधिकारीहरु बिरुद्ध भने प्रहरी र परिवारले कुनै अभियोग लगाएका छैनन । अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै ६३ कानुन व्यवसायीहरुले पैरवी गरेका छन् ।

हत्याका अभियुक्तहरुले भने कानुन व्यवसायीसमेत पाएका छैनन । जिल्ला अदालतका रजिष्टार डिल्लीरत्न श्रेष्ठले जिल्ला वार एशोसिएशनलाई मंगलवार पत्र लेखी प्रतिवादीतर्फबाट वकालत गर्न इच्छुक कानुन व्यवसायीलाई पठाउन आग्रह गरेको छ ।

बारले इच्छुक कानूनव्यवसायीलाई प्रतिवादीका पक्षमा पैरवी गर्न सचिव जनकबहादुर शाहीले सूचना पनि प्रकाशित गरे । तर, कसैले पनि अभियुक्तको पक्षमा पैरवी गरेनन् । 'दुई विद्यार्थीको हत्याले नगर शोकमग्न भएकाले पनि कुनै कानूनव्यवसायी इच्छुक नभएका हुनसक्छन'-जिल्ला वारका अध्यक्ष विश्वजित तिवारीले कान्तिपुरसित भने,- यसअघिका कुनै घटनामा यस्तो भएको थिएन् ।

विद्यार्थी हत्यालगत्तै सडकमा उत्रेका नगरबासीले अदालत घेराउ गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए । मुख्य अभियुक्त मेराजलाई अदालत लैजान र फर्काउनसमेत प्रहरीलाई कठिनाई भएको थियो ।

सोमवार र मंगलवार बयान लिने क्रममा पनि अदालत परिसरमा ठूलो संख्यामा सर्वसाधारणहरु उपस्थित थिए । तीमध्ये अधिकांश पीडित परिवारका आफन्त र महिलाहरु थिए । सर्वसाधारणको चाप बढेपछि अदालतले प्रवेशमा कडाई गरेको छ । गेटमा मेटल डिटेक्टरसहित प्रहरीले जाँच गर्न सुरु गरेको छ । मुद्दाका वादी/प्रतिवादी र साक्षीबाहेक अरुलाई अनुमति पत्र लिएर मात्र प्रवेश गर्न दिइएको थियो । 'अभियुक्तप्रतिको आक्रोश र अदालत घेराउका घटनाले पनि कानूनव्यवसायीहरु पछि हटेका हुनसक्छन्'-पुनरावेदन वारका पूर्व अध्यक्ष लोकबहादुर शाहले भने,-पीडितका परिवारले कानुनव्यवसायीसंग सहयोग मागेकाले पनि हो । अपहरण र हत्याको अनुसन्धान भईरहँदा अदालतबाट यसअघिझै अभियुक्तहरु सजिलै छुट्ने आशंकामा नागरिकस्तरबाट पनि कानुनव्यवसायीलाई प्रतिवादीको पक्षमा वकालत नगर्न आग्रह गरिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks