पालुङटार (गोरखा), मंसिर १२ - पार्टीको शीर्ष नेतृत्व सम्हालेको २१ वर्षको इतिहासमा पहिलो पटक अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा सहमति जुट्न नसकेपछि त्यसलाई विस्तारित बैठकबाट पुनः केन्द्रीय समितिमा फिर्ता पठाइएको छ । यसबाट माओवादीमा तीनवटा धार र अन्तरसंघर्ष कायमै रहेको स्पष्ट भएको छ ।
दुई महिनाअघि केन्द्रीय समितिमा दाहालले प्रस्तुत गरेको दस्तावेजका विरुद्ध दुई उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले फरक-फरक दस्तावेज प्रस्तुत गरेपछि तीनवटै दस्तावेज विस्तारित बैठकमा प्रस्तुत गरिएको थियो । विस्तारित बैठकका प्रतिनिधिलाई मताधिकार नहुने भएकाले प्रस्तावमाथि मतदान भने भएको थिएन ।
'मैले अध्यक्षको हैसियतमा पहिलो पटक आफ्नो प्रतिवेदन पारित गर्न सकिन भन्ने होइन । पारित मात्रै गर्ने वा अध्यक्षले जित्यो भन्ने बनाउन चाहेको भए हुन्थ्यो पनि होला,' दाहालले भने, 'तर हामी त्यो तरिकामा जान चाहेनौं । अध्यक्षले पनि जित्ने, उपाध्यक्षहरूले पनि जित्ने, सिंगो पार्टी र देशले नै जित्ने नयाँ विधि अपनायौं ।'
उपाध्यक्षद्वय वैद्य र भट्टराईले तीनवटै दस्तावेजमा भएका असहमति केन्द्रीय तहमा फोरम चलाएर हल गरिने जनाए । भट्टराईले भने, 'हाम्रो प्रस्ताव अध्यक्षकामा विलिन भएको छैन । यो बैठकले नमिलेका विषय हल गर्न केन्द्रीय समितिलाई दिएको
छ ।' उपाध्यक्ष वैद्यको प्रमुख असहमति चुनबाङ बैठकको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र शान्ति सम्झौताबारे दाहालले गरेको विश्लेषणमा छ ।
अर्का उपाध्यक्ष भट्टराईको भने मुख्य शत्रु आन्तरिक हो कि बाह्य पक्ष हो भन्ने प्रधान अन्तरविरोधकै विषयमा अध्यक्षसँग ठूलो मतान्तर छ । 'मतभेद रहेका माक्र्सवादको विकास, विश्व परिस्थिति र विगतको आन्दोलनको मूल्यांकन, मुख्य बाधक आन्तरिक पक्ष हो कि बाह्य हो भन्ने सैद्धान्तिक विषयमा आवश्यकताअनुरूप छलफल चलाएर जान्छौं,' उनले भने ।
घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवाद नै प्रधान अन्तरविरोध हो भन्नेमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्य सहमत छन् ।
दस्तावेजमा सहमति जुट्न नसके पनि असहमतिका विषय केन्द्रमा फोरम चलाएर हल गर्न र जेठ १४ सम्मका लागि एउटा संक्रमणकालीन कार्ययोजना बनाएर अघि बढ्न तीनैजना शीर्ष नेता सहमत भएका छन् । 'मैले संश्लेषणसहित पेस गरेको नयाँ दस्तावेजमाथि दुवै उपाध्यक्षबाट टिप्पणी भएपछि एकीकृत बनाउने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ । अब तीनवटा प्रस्ताव पार्टीमा छैन,' अध्यक्ष दाहालले भने, 'बाँकी रहेका मतभेदमा फोरम चलाउने निर्णय भएको छ ।'
गतिरोध चिर्न दलहरूसँगको वार्ता जारी राख्ने र राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित समस्या लिएर सडकमा आन्दोलन पनि गर्ने तत्कालीन कार्ययोजनामा सबै एकताबद्ध भएको उनले जनाए । उनले भने, 'यो बैठकले जनताको इच्छा, आकांक्षाअनुसार शान्ति र संविधान भएन भने जनतालाई सम्पूर्ण रूपमा सडकमा ल्याएर विद्रोह गर्नुपर्छ भन्ने निर्णय गरेको छ ।'
उपाध्यक्ष वैद्यले अध्यक्षबाट संश्लेषण प्रस्ताव आइसकेपछि पार्टीभित्र अलग प्रस्ताव नरहेको
बताए । 'आगामी कार्ययोजनामा पनि हामी एकमतमा पुगेका छौं,' उनले भने, 'केही विषयमा अलि पछिसम्म मतभेद रहने भएकाले फोरम चलाएर हल गर्ने सहमति भएको छ ।' उपाध्यक्ष भट्टराईले पनि यो बैठकले तीनवटै दस्तावेज एउटै बनाउने जिम्मा केन्द्रीय समितिलाई दिएको बताए । 'सैद्धान्तिक विषयका अन्तरमा फोरम आदि चलाएर विधिसम्मत तरिकाले छलफल चलाउँदै जान सक्छौं । अहिले तुरुन्त गर्नुपर्ने कामका विषयमा हामी एउटै हुन्छौं,' उनले भने, 'अब तीनवटा प्रस्ताव हुँदैनन्, पार्टीको एउटै प्रस्ताव हुन्छ ।'
तीनैजना शीर्ष नेताले अब पार्टी एकढिक्का भएर अघि बढ्ने दाबी गरे । 'कतिपयले यो छलफलले हामीलाई विभाजनतिर लान्छ कि भन्ने सोचेका थिए । कतिपयले त त्यही चाहेका पनि थिए,' अध्यक्ष दाहालले भने, 'तर त्यसको ठीकविपरीत हामी अझ बढी एकताबद्ध र सुदृढ भएर अघि बढेका छांै ।' कम्युनिस्टहरूले पार्टीभित्रको अन्तरसंघर्षलाई एकता, संघर्ष र रूपान्तरण तथा नयाँ आधारमा नयाँ एकताका रूपमा बुझ्ने उल्लेख गर्दै उनले बहसबाट एकताका थप आधारहरू तयार भएको बताए ।
उपाध्यक्ष वैद्यले पनि नयाँ उचाइमा भएको बहस, छलफलले पार्टीलाई एकताबद्ध बनाएको र पार्टीले बनाउने अन्तरिम कार्ययोजनालाई एकताबद्ध भएर अघि बढाइने जनाए ।
उपाध्यक्ष भट्टराईले एकताबद्ध भएर जानुपर्छ भन्ने पार्टीको निरन्तर प्रयत्न र विगत इतिहास रहिआएको बताए । 'नेपाली जनता अझै पूरै अधिकारसम्पन्न भइसकेका छैनन्, त्यस निम्ति संघर्ष गर्नुपर्छ भन्नेमा हामीबीच नयाँ एकता हासिल भएको छ । यो नै ठूलो एकता हो,' उनले भने, 'मूलभूत रूपमा एकता प्राप्त भएको छ र पार्टी एकढिक्का भएर आन्दोलनमा उत्रिन्छ ।'
पत्रकार सम्मेलनमा एकताको कुरा गरे पनि शनिबार बिहानको बैठकको बन्दसत्रमा दुवै उपाध्यक्ष अध्यक्ष दाहालप्रति चर्को रूपमा खनिएका
थिए । उपाध्यक्ष वैद्यले पार्टीलाई संशोधनवादी र दक्षिणपन्थी भासमा लैजान खोजेको भन्दै नेतृत्व नसच्चिए विद्रोह गर्ने चेतावनी दोहोर्याए ।
'पार्टीमा अवसरवाद हावी भए र क्रान्तिको धार गुमाए विद्रोह हुन्छ,' उनले आफूलाई नेतृत्व गर्न सक्दैन भनिएकोप्रति चर्को असन्तुष्टि जनाउँदै भने, 'नेतृत्व सच्चिएन भने म पनि नेतृत्व लिन सक्छु भन्ने हिम्मत गरेर नै मैले फरक दस्तावेज राखेको हुँ । म नेतृत्वका लागि सक्षम छु ।'
उनले अध्यक्ष दाहालले बैठकमा राखेको २४ पृष्ठ लामो नयाँ दस्तावेजमा ८ देखि २१ पृष्ठसम्म असहमति जनाएका थिए ।
'अध्यक्षले मेरो र बाबुरामजीको दस्तावेजको खण्डन गर्नुभयो, यो वितण्डावाद भयो,' उनले भने । अर्का उपाध्यक्ष भट्टराईले भने अध्यक्षको दस्तावेजमा आफ्नो पूरै असहमति रहेको बताए । 'अध्यक्षको दस्तावेज, अस्पष्ट, रिमिक्स र यो मीठो तरकारीमा गोबर मिसिएको जस्तो छ । मलाई यो स्वीकार गर्न गाह्रो छ,' उनले भने ।
अध्यक्ष दाहालले भने शान्ति र संविधानका लागि संघर्ष गर्ने, त्यसमा षड्यन्त्र भए विद्रोह गर्ने आफ्नो नीति एकदम सीधा र प्रस्ट भएको बताए । उनले यहाँबाट फर्केपछि पार्टीहरूसँग छलफल गरेर सरकार निर्माणका बारेमा अन्तिम निर्णय लिने जानकारीसमेत दिए । 'यो कुरा पहिले पार्टीहरूसमक्ष नै राख्छौं, अहिल्यै तपाईंहरूलाई भनिदियो भने सबै रणनीति फेल हुन्छ,' उनले भने ।
नेताहरूले शान्ति र संविधानमै पहिलो जोड भएको बताए पनि पत्रकार सम्मेलनअघि बाँडिएको प्रेस विज्ञप्तिमा समावेश भएअनुसार बैठक समापनमा लगाइएको नारामा भने 'शान्ति र संविधान' कतै उल्लेख छैन ।
त्यहाँ लगाइएका प्रमुख नारामा 'जनविद्रोहको दिशामा अघि बढांै, नेपाली नयाँ जनवादी क्रान्ति जिन्दावाद' लगायत छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks