Loving nepal news

Monday, November 1, 2010

दिउँसो म्यारिज, राति कौडा * · प्रहरी संरक्षणमा जुवाघर * · हरेक रात डेढ लाख नाल * · जुवाडेलाई ब्ल्याक लेवल र सेकुवा

जनक नेपाल

नेपालगन्ज, कार्तिक १५ - प्रहरीको संरक्षणमा नेपालगन्जको मुक्तिपुरस्थित एक इटा व्यवसायीको निबास जुवाघर बनेको छ । उक्त जुवाघरमा २५ लाखदेखि एक करोडसम्मको हारजित हुने दाबी गर्ने स्रोत भन्छ- संचालकले दिनहुँ कम्तिमा एक लाख नाल उठाउँछन् ।

मुक्तिपुरस्थित इटा व्यवसायी प्रकाश शाहको घरमा दिनरातै जुवा हुन्छ । जुवा खेल्न सेनाका उच्च अधिकारीदेखि उद्योग-व्यवसायीहरुको ठूलै जमघट हुने गरेको छ । जुवा खेल्न भारतबाट समेत आउने गरेका छन् । 'दिनभर म्यारिज चल्छ, रातमा कट् र कौडा खेल्छन्'-स्रोतले भन्यो- ५० हजारभन्दा कमको दाउ लाग्दैन । खेलको ५ प्रतिशत जुवा संचालकले नाल उठाउने गरेका छन् । कोजाग्रत पूर्णिमाको रातमा डेढ करोडभन्दा बढीको हारजित भएको दाबी गर्ने स्रोतका अनुसार, नाल उठेको रकमबाट जुनियर अधिकृतमार्फत जिल्ला प्रहरीलाई घुस पठाइएको थियो ।

जुवा खेलाउन छुट्टै हलसहित शाहको घर सुविधासम्पन्न जुवाघरभन्दा कम छैन । जुवा खेलाउन, पैसा उठाउने, गन्ने र हिसाब गर्न युवाहरु राखिएका छन् । तीमध्ये एक युवती हुन् । कर्मचारीहरु हरेक साँझ गाडी वा मोटरसाइकलबाट शाह निवास छिर्ने गरेका छन् । जुवाघरमा खानपिनका परिकार पुर्‍याउन आफूसहित आधा दर्जन कर्मचारी रहेको एक युवाले बताए । 'तीन पटक साथीसंग २०/२५ हजार बोकेर गएँ । तर, त्यहाँ हाम्रो हैसियतको खेल हुन्न । दुई-तीन जना मिलेर थाप्नुपर्छ'-एक जुवाडेले भने ।

जुवा खेल्नेहरुलाई खाल अनुसारै खानपिनको व्यवस्था हुने गरेको छ । दिउँसो मध्यम खाले म्यारिज खेल्नेहरुलाई सामान्य खाजा र मदिरा दिइने गरेको भए पनि राती भने ब्ल्याक लेवल, रेड लेवल र सेकुवा दिइने गरेको ती युवाले बताए । 'सेनाका हाकिमहरु र भारतबाट मान्छेहरु आउँदा धेरै परिकार मगाउँछन्'-उनले भने । जुवा खेल्न नेपालगन्ज र वरपरका सैनिक अधिकारीहरु जुवाघर पुग्ने गरेका छन् ।

जुवाघर वरपर सादा पोशाकमा सेनाका जवानहरु र प्रहरीहरु देखिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । राती प्रहरीको गस्ती आए पनि सुरक्षाकर्मी भने भित्र नपस्ने उल्लेख गर्दै स्थानीय महिलाले भनिन्-रातभर हल्लाखल्ला हुन्छ । मोटरसाइकल र गाडीको ओहोरदोहोरले डिस्टर्ब हुन्छ ।

जुवाघर संचालक शाहले भने दसै-तिहारको रमाइलो मनाउन मात्र म्यारिज र कौडा खेलेको बताए । 'जुवाघर भन्न मिल्दैन'-उनले कान्तिपुरसित भने,-कोजाग्रत पूणिर्माका दिन ठूलै खेल भएको हो । अरु दिन सामान्य म्यारिज र कौडा मात्र हो । अहिले उनी काठमाण्डौ छन् । तर, उनको घरमा जुवा भने भईरहेको स्रोतले बताएको छ । शनिवार र विदाका दिन सेनाका अधिकृत र पूर्व डिआईजी लगायत व्यवसायी रमाइलो गर्न आउने गरेको उनले स्वीकारे । 'खेल्छौ भन्नेलाई उठ्नुस् भन्न मिलेन'-शाहले भने । जुवा खेलाएवापत प्रहरीलाई पैंसा भने नदिएको उनले बताए । उनी इन्द्रपुरस्थित गंगा इट्टा भट्टाका संचालक हुन् ।

नगरको मध्यभागमा रहेको 'जुवाघर'बारे प्रहरीले भने अनभिज्ञता व्यक्त गरेको छ । बाँके प्रहरी उपरीक्षक महेशविक्रम शाहले व्यवसायिक ढंगले जुवा खेलाइएकोबारे प्रहरीलाई थाह नभएको र कुनै उजुरी पनि नआएको बताए । 'घरभित्र रमाइलोका लागि म्यारिज खेल्छन् भन्ने सुनिएको हो'-उनले भने,- जुवा खेलाएको जानकारी आए कारबाही गछौ । पुनारावेदन अदालत विराटनगरले म्यारिज तासलाई जुवा नमान्ने फैसाला सर्वोच्च अदालतले उल्टाइसकेको छ । जुवा ऐन-२०२० ले पटके जुवाडेलाई एक महिनादेखि एक बर्षसम्म कैद सजाँय तोकेको अभिवक्ता लोकबहादुर शाहले बताए । त्यस्तै, बारम्बार जुवा खेलाएर नाल उठाउनेलाई ३ महिनादेखि नौ महिनासम्म कैद सजाँय रहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks