Loving nepal news

Monday, November 29, 2010

प्रहरीलाई पत्रकारसँग नबोल्न निर्देशन


प्रतिमा बाँस्कोटा

काठमाडौ, मंसिर १४ - महानगरीय प्रहरी आयुक्त मदनबहादुर खड्काले मातहतका कार्यालयलाई पत्रकार सम्मेलन गर्न र सञ्चारकर्मीसँग बोल्न रोक लगाएका छन् । आयुक्तको कार्यालयले हालै अपराध अनुसन्धान महाशाखा, काठमाडौं, ललितपुर र भक्तपुर परिसरका साथै वृत्त र प्रभागहरूलाई सञ्चारकर्मीसँग सम्पर्क नगर्न निर्देशन दिएको हो । आयुक्त खड्काले महानिरीक्षकसँग छलफल गरी यस्तो निर्देशन दिएको बताएका छन् ।

नेपाल प्रहरीको मिडियासम्बन्धी नीति २०६० का आधारमा पत्रकारलाई सूचना नदिन निर्देशन दिएको स्रोतले जनायो । आयुक्तको कार्यालयबाट मंसिर ५ मा लेखिएको ९३२ चलानी नम्बरको पत्रमा भनिएको छ, 'यसउप्रान्त कुनै पनि अपराध र अन्य कुनै पनि किसिमका घटनासँग सम्बन्धित विषयवस्तुको सम्बन्धमा पत्रकार सम्मेलन तथा कुनै पनि सूचना यस कार्यालयबाट गरिने भएकाले निर्देशन अक्षरंश पालना गर्न गराउन हुन अनुरोध गरिएको छ ।' उक्त निर्देशन पालना नभएको पाइए सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयकै एक उच्च अधिकारीले भने उपत्यकाका तीनै जिल्लामा भएका बारदातको गम्भीर अनुसन्धान गर्ने जिम्मा पाएको अपराध महाशाखा तथा जिल्ला प्रमुखलाई आयुक्त खड्काले दिएको यो आदेश 'हास्यास्पद' भएको टिप्पणी गरे ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन्छन् भने परिसरको कमान्ड प्रहरी उपरीक्षक (एसपी) को हातमा हुन्छ । आफूले नरुचाएका एसपी रमेश खरेल सञ्चारमाध्यममा पि्रय बनेको देख्न नसकी खड्काले यस्तो निर्देशन दिएको स्रोतको दाबी छ । 'लोकपि्रय देखिएका खरेललाई सञ्चारमाध्यममा आउन नदिन षड्यन्त्र गरिएको हो,' प्रधान कार्यालयका ती उच्च अधिकारीले भने । २०६० मा राजाको शासनका बेला बनाएको नीतिलाई आधार मानेर यो निर्देशन दिइएको हो । 'महानगरीय प्रहरीको अवधारणा नआउँदै बनाएको नीतिलाई आधार मानेर निर्देशन दिनु गलत हो,' प्रधान कार्यालयका अर्का वरिष्ठ अधिकृतले भने, 'समयको विकासक्रमसँगै सर्वसाधारणमा छिटोछरितो रूपमा सूचना प्रवाह गर्न दिनुपर्छ ।'

ठूलठूला घटना, योजना र उपलब्धिबारे परिसरले आफैं तथा वृत्त र प्रभागले परिसरको अनुमति लिएर सञ्चारकर्मीलाई सूचना दिने गरेका थिए ।

आयुक्तको कार्यालयबाट प्रेषित पत्रमा व्यक्तिगत रूपमा सञ्चारमाध्यमसँग सम्पर्क राख्ने, गैरआधिकारिक सूचना प्रवाह गर्ने तथा व्यक्तिगत अवधारणाहरू व्यावसायिक अवधारणाको प्रतिकूल हुने गरी सूचना सम्प्रेषण गर्ने कार्य रोक्न निर्देशन दिइएको छ ।

प्रहरीले सञ्चारमाध्यमलाई व्यक्तिगत प्रचारका लागि प्रयोग गरेकाले बन्देज लगाउनुपरेको एआईजी खड्काले बताए । 'प्रहरी बढी प्रचारमुखी भएकाले एउटै कार्यालयबाट सूचना प्रवाह गराउने निर्देशन दिइएको हो,' उनले भने, 'अब आयुक्तको कार्यालयकै सञ्चारकक्ष सक्रिय बनाउँछु ।' उनका अनुसार मातहतका प्रहरीबीच सञ्चारमाध्यममा आउन होडबाजी चल्न थालेकाले यस्तो निर्देशन दिइएको हो ।

एसपी प्रमुख रहने कार्यालयमा प्रवक्ता राखेर अनुसन्धानलाई अप्ठ्यारो नपर्ने किसिमका सूचना प्रवाह गर्न मिल्ने प्रधान कार्यालयका एक अधिकृतले बताए । सबै किसिमका सूचना आयुक्त कार्यालयले दिने निर्देशनले सञ्चारकर्मीलाई समेत असजिलो हुने देखिएको छ । अपराध गरेर समातिएको व्यक्तिलाई खिच्न एउटा कार्यालय र घटनाबारे बुझ्न अर्को कार्यालय जानु झन्झटिलो काम हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजीपी विज्ञानराज शर्माले आयुक्त मातहतका प्रहरी कार्यालयलाई बोल्न नदिने मनसाय नभएको बताए । 'व्यवस्थित गरेर एउटै च्यानलबाट लैजान खोजिएको हो,' उनले भने ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks