Loving nepal news

Saturday, November 27, 2010

पर्लको काखमा एसियाड समापन


हिमेशरत्न वज्राचार्य/अजय हमाल

ग्वान्जाउ (चीन), मंसिर १२ - उदघाटन जति भव्य थियो, समापनमा पनि केही कमी रहेन । अन्तर्राष्ट्रिय खेल महोत्सवमा नौलो थालनी गर्दै सोह्रौं एसियाली खेलकुदको समापनसमेत पर्ल नदीकै काखमा भयो । त्यसको साक्षी बन्यो, सँगै रहेको १ सय ८ तलाको क्यान्टोन टावर । टावर वरिपरि १० किलोमिटर क्षेत्र कलात्मक रूपमा प्रकाशमय पारिएको थियो । सुरुमै टावरबाट आतिसबाजी सुरु भएको थियो । कार्यक्रम औपचारिक रूपमा थालिनुअघिदेखि नै विभिन्न नृत्य र गीत प्रस्तुत भइरहेको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एसियाली ओलम्पिक कमिटी, चिनियाँ अधिकारी तथा विदेशी राष्ट्राध्यक्षको उपस्थितिमा कार्यक्रम सुरु भएलगत्तै चिनियाँ सैनिकले संगीत र नृत्य प्रस्तुत गरेका थिए । शृंखलाबद्ध भारतीय, जापानी, काजाकिस्तानी, इन्डोनेसियाली, लेवनानी नृत्य र गीत प्रस्तुत गरिएको थियो । सबैमा स-साना बालबालिकाको अत्यधिक सहभागिता थियो ।

त्यसपछि प्रतियोगितामा सहभागी ४५ देशका खेलाडीले आ-आफ्ना राष्ट्रिय झन्डासहित मार्चपास गरेका थिए । नेपाली झन्डा बोक्ने अवसर बक्सिङ खेलाडी दीपक महर्जनले पाए । उनी यसपल्टको एसियाली खेलकुदमा नेपालका लागि पदक जित्ने एकमात्र खेलाडी हुन् । उनी अरू देशका सफलतम् खेलाडीमाझ थिए ।

खेलमा सहभागी सबै मुलुकको प्रतिनिधित्व जनाउन पर्ल नदीमा साना-साना जहाज कुदाइएको थियो । प्रत्येक जहाज ती देशको परिचय झल्काउने कलाकृतिद्वारा आकर्षक ढंगले सिंगारिएको थियो ।

अब यो खेलको आयोजना चार वर्षपछि सन् २०१४ मा दक्षिण कोरियाली सहर इन्चेनमा हुनेछ । अर्को कोरियाली सहर सोलमा यसअघि नै आयोजना भइसकेको छ ।

शनिबारको समापन समारोहमा इन्चेनमा भेट्ने वाचासँगै उक्त सहरको संस्कृति झल्किने नृत्य र गीत प्रस्तुत गरिएको थियो । साथै इन्चेनका मेयरले ओलम्पिक झन्डा बुझेका थिए । ग्वान्जाउमा एसियाली खेलकुद टुंगिएको संकेत दिन उद्घाटन समारोहमा प्रज्ज्वलित ज्योति निभाइएको थियो । कार्यक्रमको अन्त्यमा आकर्षक आतिसबाजी पनि भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks