पालुङटार -गोरखा)-, मंसिर ६ - माओवादी विस्तारित बैठकको बन्दसत्र सुरु हुने अघिल्लै दिन अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य सहमतिनजिक पुगेका छन् । बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका अर्का उपाध्यक्ष बाबुराम भट्टराई भने महाधिवेशनमै गएर भए पनि तीनवटै दस्तावेजका विषयवस्तुको टुंगो लगाउनुपर्ने अडानमा छन् । बैठकको बन्दसत्र सोमबार सुरु हुँदैछ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको दस्तावेजविरुद्ध फरक दस्तावेज प्रस्तुत गरेका उपाध्यक्ष वैद्यले विषयवस्तुका हिसाबले दुवै दस्तावेजमा निकै समानता रहेको बताए । 'बाबुरामजीको दस्तावेज एक ढंगको छ, मेरो अर्को ढंगको छ ।
अध्यक्षको अलि बीचमा छ, त्यसैले हाम्रा धेरै कुरा मिल्छन् । अध्यक्षसँग मेरो भिन्नता भनेको कार्यान्वयनको पाटोमा अलि गएन भन्ने हो,' आइतबार कान्तिपुरसित कुरा गर्दै उनले भने ।
भक्तपुरको खरिपाटीमा भएको विस्तारित बैठकले नै करिब तीन वर्षअघि जनताको संघीय गणतन्त्रको कार्यदिशा पारित गरेको तर त्यो कार्यान्वयन नभएको जनाउँदै
उनले भने, 'अध्यक्षसँग मेरो मुख्य असहमति यही हो । खबरदारी गर्न पनि मैले यो दस्तावेज ल्याएको हुँ ।' तीन वर्ष बित्दासमेत पार्टीको कार्यदिशा कार्यान्वयन नगर्ने नेतृत्वलाई किन राखिरहेको त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, 'नेतृत्वबाट केही कमजोरी भए होलान् तर अहिले नै नेतृत्व परिवर्तनबारे सोचेका छैनौं, त्यो दिशातिर जाँदैनौं ।'
बिहान भएको स्थायी समिति र केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले दुवै उपाध्यक्षका दस्तावेजका विषयवस्तु समेटेर तयार पारेको नयाँ दस्तावेज प्रस्तुत गर्ने चाहना राख्दा दुवै उपाध्यक्ष त्यसको विरोधमा एक ठाउँ उभिएका थिए । तर दिउँसो कान्तिपुरसित कुरा गर्दै वैद्यले तीनवटै दस्तावेजमाथि छलफल सकिएपछि आएका सुझावलाई संश्लेषण गरी नयाँ दस्तावेज प्रस्तुत गर्ने अधिकार अध्यक्षमा रहेको बताए ।
उपाध्यक्ष वैद्यनिकट स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले पनि यो बैठकले राजनीतिक मामिलासम्बन्धी विषयलाई एकीकृत र केन्द्रीकृत भएर पास गर्ने र केही सैद्धान्तिक मामिलामा छलफल गर्दै अघि बढ्ने बताए । 'मूल कुरामा हामी यहाँबाट एक भएर जान्छांै । तीनवटै दस्तावेज संश्लेषण गर्ने काम अध्यक्षको नेतृत्वमा हुन्छ,' उनले भने । बैठकले राजनीतिक संकट र अस्थिरताको निकास खोज्नुका साथै पार्टीभित्रको राजनीतिक, संगठनात्मक र सांस्कृतिक बहसलाई टुंगो लगाउने उनले बताए ।
उपाध्यक्ष भट्टराईले भने मुलुकमा देखिएको राजनीतिक गतिरोधबारे बैठकले एउटा स्पष्ट नीति निर्धारण गर्ने र नमिलेका बाँकी विषय महाधिवेशनमा जाने बताए । 'मिल्ने विषयमा मिलेर जाने हो, नमिल्ने विषय महाधिवेशनलगायत प्रक्रियाबाट हल गर्छौं,' उनले भने । भट्टराईनिकट स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अध्यक्षको नयाँ दस्तावेज प्रस्टीकरणका रूपमा पनि यो बैठकमा प्रस्तुत
नहुने बताए ।
'अध्यक्षको नयाँ दस्तावेज प्रस्तुत हुँदैन । प्रस्तुत भएका तीनवटा दस्तावेजमै केन्दि्रत रहेर बैठकमा छलफल हुनेछ,' उनले भने । यद्यपि उनले बैठकबाट राजनीतिक र सांगठनिक विषयलाई एकीकृत र केन्द्रीकृत गरी अघि बढ्न र अहिलेको राजनीतिक अन्योललाई दिशा प्रदान गर्न महत्त्वपूर्ण नीति तथा कार्यक्रम तय गर्ने बताए । भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्कीले त तीनवटा दस्तावेज एकै ठाउँमा ल्याएर मिसाउने कुरा माक्र्सवादसम्मत नहुने बताए ।
'तीनवटा दस्तावेजमा छलफल हुन्छ, अध्यक्षको नयाँ दस्तावेज त पछिको
कुरा हो । एउटाको दुइटा, अर्कोको दुइटा कुरा मिसाएर क्वाँटी बनाउने हो र ? माक्र्सवादमा यस्तो हँुदैन,' उनले भने, 'माक्र्सवादी भाषामा यसलाई
सारसंग्रहवाद भन्छन्,' उनले भने, 'तर शान्ति, संविधान हो कि, अरू केही हो ? भारतीय हस्तक्षेपविरुद्ध युद्ध हो कि आन्दोलन हो भन्ने विषयमा
एउटा प्राक्टिकल स्थितिमा आउँछौं । रणनीतिक र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित विषय महाधिवेशनका लागि छाडिदिन्छांै ।' यही बैठकमा तीनवटै दस्तावेजलाई एक बन्ने विश्वास अध्यक्ष पक्षधरको छ ।
अध्यक्षनिकट स्थायी समिति सदस्य वर्षमान पुनले यो बैठकले मूलतः
सुझाव र परामर्श दिने र तीनवटै
प्रस्ताव परामर्श दिने आधारका रूपमा आएको बताए । यी तीनवटा प्रस्तावमाथि पर्याप्त छलफल, परामर्श भएर सुझाव आएपछि केन्द्रीय समितिले नयाँ एकताको दस्तावेज दिने उनले बताए । 'साथै बैठकले केन्द्रीय समितिलाई शान्ति प्रक्रिया, संविधान लेखन, अहिलेको समग्र वैदेशिक हस्तक्षेप र आन्तरिक राजनीतिक गतिरोध हल गर्ने विषयमा परामर्श र समग्रमा पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्ने वातावरण दिन्छ । बैठकबाट अहिलेका राजनीतिक समस्या हल गर्ने खालको एउटै दस्तावेज आउँछ,'
उनले भने । अध्यक्ष पक्षधर पोलिटब्युरो सदस्य लेखराज भट्टले विभिन्न प्रवृत्तिलाई समेटेर अगाडि लैजाने सबालमा अध्यक्ष अगाडि रहेको र विगतमा पनि त्यस्तो गर्दै आएको बताए ।
संस्थापन पक्षले सबैका विचारलाई समेटेर ल्याउने कुराले नै सबैलाई डोर्याउने जनाउँदै उनले भने, 'अहिले सबैभन्दा ठूलो समस्या भारतीय हस्तक्षेप हो । त्यसलाई कसरी रोक्ने भन्ने हो । आन्तरिक राजनीतिमा जनता र मुलुकले अपेक्षा गरेबमोजिम शान्ति र संविधान निर्माण हाम्रो मुख्य उद्देश्य हो तर यसमा छेकवार आए जनविद्रोहबाहेक अर्को
विकल्प रहन्न ।'
उपाध्यक्ष वैद्यनिकट पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले तीनवटै दस्तावेजलाई तलसम्म लगेकाले पार्टी विभाजन हुने हो कि भन्ने चिन्ता जनताको तहसम्म देखापरेको बताए । 'तर क्रान्तिका उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्नेमा कसैको पनि दुईमत छैन । बुझाइका अभिव्यक्ति मात्र फरक हुन् । अहिलेसम्मको छलफल हेर्दा अध्यक्षले अधिकांश रूपमा तीनवटा दस्तावेज एउटामा संश्लेषण गर्नुहुनेछ,' उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks