Loving nepal news

Thursday, November 11, 2010

भारतीय अधिकारीद्वारा माओवादी शिविरको सूचना माग

मोहन बुढाऐर

धनगढी, कार्तिक २६ - भारतीय सुरक्षा अधिकारीले कैलालीस्थित माओवादी सैन्य शिविरभित्रको गतिविधिमाथि नजर राख्न र सूचना दिन नेपाली पक्षसँग आग्रह गरेका छन् । धनगढीको डिभोटी होटलमा बिहीबार सम्पन्न नेपाल-भारत सीमा सुरक्षा बैठकमा भारतीय अधिकारीहरूले त्यस्तो माग गरेका हुन् ।

सहभागी स्रोतका अनुसार माओवादी सैन्य शिविरमा भारतीय माओवादीले तालिम पाइरहेको सूचना प्राप्त भएको दाबी गर्दै भारतीय अधिकारीले कैलालीमा रहेका तीनवटै सैन्य शिविरभित्रको गतिविधिमाथि नजर राख्न र सूचना दिन नेपाली समकक्षीसमक्ष आग्रह गरेका हुन् । भारतीय अधिकारीले कैलाली र कञ्चनपुरमा पाकिस्तानी जासुसी संस्था 'आईएसआई' चलखेल बढेको आशंकासमेत व्यक्त गरेका थिए ।

भारतको पिलभित र लखिमपुर खिरी, नेपालको कञ्चनपुर र कैलाली जिल्लाका उच्च सुरक्षा अधिकारी बैठकमा सहभागी थिए । नेपालतर्फबाट टोलीको नेतृत्व कैलालीका प्रजिअ नारायणप्रसाद बिडारी र कञ्चनपुरका प्रजिअ बुद्धिबहादुर खड्काले गरेका थिए भने भारततर्फबाट पिलभित र खिरीका जिल्ला मजिस्ट्रेट -डीएम) द्वय चोतेलाल प्यासी र समीर वर्माले अगुवाई गरेका थिए ।

दुवै देशका जिल्लास्थित सबै सुरक्षा अंगका प्रमुख, भन्सार, वन र द्विपक्षीय सरोकार राख्ने अन्य कार्यालयका अधिकारीसमेत बैठकमा सहभागी थिए । बैठक 'अति गोप्य' र 'खुला' गरी दुईपटक गरिएको सहभागी एक अधिकारीले जनाए । त्यसमध्ये गोप्य भनिएको बैठकमा माओवादीमाथिको निगरानी र आईएसआईका विषयमा छलफल चलेको हो ।

बैठकमा सीमामा हुने अपराध रोक्न सूचना आदानप्रदान गर्ने र भन्सार नाकामा भारतीय कर्मचारी र प्रहरीद्वारा नेपालीमाथि गरिने दुव्र्यवहार नियन्त्रण गर्ने लगायतका सहमति भएका छन् । पत्रकार सम्मेलनमा खिरीमा डीएम वर्माले भने, 'कुनै पनि नेपालीलाई बिनाकारण भारतीय सुरक्षाकर्मी र भन्सारकर्मीले दुःख दिएको पाइएमा कारबाही गर्न तयार छौं ।'

उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले गौरीफन्टा नाकामा भारतबाट नेपाल र्फकने नेपालीबाट भारु ५ सय र हजारका नोट नक्कली भन्दै सुरक्षाकर्मीले लुट्ने गरेको विषयमा पनि बैठकमा छलफल भएको बताए ।

उनका अनुसार भारतीय अधिकारीले अबदेखि यसो गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा हराएका, भत्केका र जीर्ण भएका सीमा स्तम्भको स्थलगत निरीक्षण गरी बिजोर स्तम्भ नेपालले बनाउने र जोर स्तम्भ भारतले बनाउने सहमतिसमेत भएको छ । यही मंसिर २२ देखि यो कार्य थाल्ने बताइएको छ ।

बैठकमा कैलाशपुर बाँध र शारदा ब्यारेजका विषयमा पनि छलफल भएको थियो । वषर्ात्को समयमा ब्यारेजका सबै ढोका खुल्ला राख्ने र वषर्ात्मा बाढीले नेपालतर्फ हुने क्षति कम गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks