Loving nepal news

Tuesday, November 2, 2010

पोखरामा स्काई डाइभिङ सुरु


ईश्वरी न्यौपाने

पोखरा, कार्तिक १६ - साहसिक पर्यटनको आकर्षण बढ्दै गइरहेको पर्यटकीय सहर पोखरामा स्काई डाइभिङ सुरु भएको छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट र बेलुनपछि यहाँको आकाशमा स्काई ड्राइभिङ हुन थालेको हो ।

तारा एयरको पिलाटसपोटर जहाजबाट यहाँ प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल छिनेडाँडाको खुला जमिनमा सोमबार सफलतापूर्वक स्काई डाइभ गरियो । पोखरा विमानस्थलबाट उडेको उक्त जहाजको १४ हजार फिट उचाइबाट हामफालेका स्काई डाइभरहरू सकुशल अवतरण गरेका थिए ।

एभरेस्ट स्काई डाइभ र तारा एयरको संयुक्त आयोजनामा पहिलोपटक गरेको परीक्षण उडानमा चार विदेशी डाइभरसहित दुई नेपाली उत्रिएका हुन् । उडानमा सहभागी विश्व च्याम्पियन तथा गिनिज बुक रेकर्ड होल्डर विन्डी स्मिथले पोखराको डाइभिङ अत्यन्त रमाइलो भएको बताइन् । न्युजिल्यान्डकी विन्डी र अमेरिकाका डोरेक थोमस एक्लै (सोलो) तथा अमेरिकाका टम नुनान र फ्रान्सका केभिन हाडविक यात्रुसहित (टेन्डम) हाम फालेका थिए । टमसँग एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डे र केभिनसँग नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विनोद गौतम यात्रीका रूपमा थिए ।

डाइभ गरेर झरेका एभरेस्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेले प्राकृतिक सौन्दर्यलाई आकाशमा घुमेर हेर्दै झर्दा अत्यन्तै रमाइलो देखिएको बताए । 'यो अनुभवले पोखरा स्काई डाइभिङको उपयुक्त गन्तव्य देखियो, यहाँ व्यावसायिक डाइभिङले सफलता पाउनेछ,' पाण्डेले भने, 'माछापुच्छ्रे, अन्नपूर्ण पोखराका ताल तथा व्यवस्थित सहरी बस्तीलाई नांगो आँखाले सोझै हेर्दाको मनोरञ्जन विश्वमा विरलै पाइने खालको छ,' उनले भने ।

पोखरामा बिहान ९ बजेअघि जोमसोमतर्फका उडान चल्नेबेला अहिलेको विमानस्थलबाट पूर्वतर्फ र अपराह्न राजधानीतर्फ उडान हुने बेला पश्चिम पामे क्षेत्रमा स्काई डाइभ उपयुक्त हुने प्राविधिकहरूको भनाइ छ । २००८ देखि स्याङबोचे क्षेत्रमा स्काई डाइभ सञ्चालन गरेको यो कम्पनीले नेपालीलाई पनि दक्ष डाइभर बनाउन प्रशिक्षणसमेत सञ्चालन गरेको छ । प्रशिक्षणमा अहिलेसम्म सात जाना नेपाली युवा सहभागी छन् । 'तालिम गर्ने अवसरका लागि पोखरा दक्षिण एसियाकै पहिलो गन्तव्य हुनेछ,' अध्यक्ष पाण्डेले भने ।

अहिले यो कम्पनीले छ जना विज्ञ विदेशी डाइभरहरू ल्याएर डाइभ गर्ने तथा प्रशिक्षण दिने कार्य गरिरहेको छ । तीमध्ये विन्डीले १७ हजार ८ सय पटक डाइभ गरिसकेकी छिन् । उनले नेपालमा तीन वर्षमा स्याङबोचे क्षेत्रमा २५ पटक डाइभ गरिसकेकी छन् । उनी जहाजबाट सबैभन्दा पछि झर्ने र अरू डाइभरहरूको तस्बिर तथा दृश्य खिच्न पनि निपुण छिन् । उनले टाउकामा क्यामेरा राखेर खिच्ने गर्छिन् ।

स्काई डाइभिङ निकै व्यवस्थित व्यवस्थापनबाट गरिने बिशिष्ट हवाई खेल हो । जहाजबाट डाइभिङ गर्ने अवधिभर उद्धारका लागि फिस्टेल एयरको हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको थियो । विश्वभर सात लाख स्काई डाइभर छन् । उनीहरूको गन्तव्य पोखरा बनाउने लक्ष्य कम्पनीले लिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks