धनगढी, मंसिर १३ - प्रहरी छरितो हुनाले सीमापारि तीन सय किलोमिटर दूरी पार गरिसकेका अपहरणकारीको कब्जाबाट बालिका उद्धार गर्न सफल भएको भन्दै स्थानीय बासिन्दाले सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।
सूर्यास्त हुनै लाग्दा प्रहरी उपरीक्षक योगेश्वर रोमखामीले भारतीय सुरक्षा अधिकारीसँग फोनमा कुरा गरेर प्रहरी नायव निरीक्षक दानबहादुर रोकाय र अपराध शाखाका असई गगन गिरीलाई बालिका खोज्न पठाएका थिए । प्रहरीका साथमा अपहरित बालिकाका बाजे रोहितकुमार मिश्र पनि थिए ।
धनगढीका व्यापारी मणिकान्त मिश्राले २ बजे छोरी हराएको जानकारी वडा प्रहरी, धनगढीलाई दिएका थिए । जिल्ला प्रहरी प्रमुख रोमखामीकहाँ यो खबर पुग्दा झन्डै तीन बजिसकेको थियो । यताउताको खोजीसँगै अपहरणको आशंकामा प्रहरी उपरीक्षक रोमखामीले बेलैमा मिश्राको घर, पसल र अपसेट प्रेसमा काम गर्नेलाई निगरानीमा राख्न प्रहरीलाई निर्देशन दिए ।
अनुसन्धान क्रममा एउटा टाटा इन्डिका कार मिश्राको घर नजिकैको अर्काे गल्लीमा देखिएको थाहा भयो । मिश्राको प्रेसमा २ महिनादेखि बाइन्डिङ काम गर्ने भारतीय नागरिक रियाज उल हसनका दाइ, दिदी र भिनाजु भारतबाट उक्त कारमा आएकोसमेत प्रहरीले एक घन्टाकै अवधिमा पत्ता लगायो । त्यसपछि प्रहरीले भारतीय नागरिक उल हसनलाई शंकाको घेरामा राखेर प्रहरीले नियन्त्रणमा लिए ।
'उल हसनले दिदी भिनाजु आएको जानकारी मालिक मिश्रासँग गोप्य राखेका कारण प्रहरी सशंकित भयो', प्रहरी उपरीक्षक रोमखामीले भने, 'मिश्रा परिवार बस्ने घरको तेस्रो तलामा समेत उल हसन गएको खुल्न आउने बित्तिकै बालिका अपहरणमा परेकी हुनसक्नेतिर आशंका बढ्यो ।' मुख नखोलेका उल हसनबाट दिदी भिनाजुको ठेगाना लिएर त्यहाँसम्म प्रहरी पठाउने निर्णय प्रहरी उपरीक्षक रोमखामीले बेलैमा नगरेको भए बालिका शायद फेला पर्दैनथिइन् । एसपी रोमखामीको उक्त निर्णय र निर्देशनको जिम्मेवारी लिएका सई रोकायले अत्यन्तै चनाखो गरी अपहरणकारी रहेको इलाका पत्ता लगाए ।
भारतीय प्रहरीको सहयोग पाएको बताउने सई रोकायले भने, 'अपहरणकारीले प्रहरी पिछा लागेको छ भन्ने सूचना पाएको भए बालिकाको ज्यान जोगाउन सकिँदैन थियो ।' सीमावर्ती जिल्ला लखिमपुर खिरीसँग जोडिएको अर्काे जिल्ला सीतापुरको हरगाउँमा बिहान ३ बजे उल हसनको घरमा छापा मार्दा अपहरणमा संलग्न रियाजका दाइ जमिर पक्राउ परे । उनीबाट अपहरण गरेको कुरो खुल्यो ।
त्यसपछि दिदी भिनाजुको घरमा छापा मार्दा दिदी हिना खान र भिनाजु फिरोज खान पक्राउ परे । अपहरणकारीले बालिकालाई अर्काे गाउँ मनुवापुरको जमाल उद्धिनको घरमा राखेका थिए र बिहान ५ बजे प्रहरीलाई बुझाएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks