काठमाडौ, कार्तिक १६ - प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीलाई कारबाही गर्न सदैव सरकार तत्पर रहेको बताएका छन् ।
ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार भएको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएको ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णुबहादुर सिंहले जानकारी दिए ।
ट्रान्स्परेन्सीको जर्मनीको बर्लिनस्थित केन्द्रीय कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार झन् बढ्दै गएको उल्लेख भएकाले यसलाई कसरी रोक्न सकिन्छ भनेर आफूहरूले प्रधानमन्त्रीसँग परामर्श गरेको उनले बताए ।
अध्यक्ष सिंहको नेतृत्वमा गएको सो टोलीले सार्वजनिक पदमा रहेका व्यक्तिको राष्ट्रिय सदाचार पद्धति, आचारसंहिता, वैदेशिक सहायता पारदर्शिता, राजस्व चुहावट नियन्त्रणलगायतका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको थियो ।
अध्यक्ष सिंहका अनुसार उनीहरूले आगामी मंसीर २३ गते विश्व भ्रष्टाचारविरुद्धको दिवस मनाउनेबारे पनि प्रधानमन्त्री लगायत सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए ।
छलफलमा महालेखापरीक्षक, राष्ट्रिय सतर्कता केन्द्र, अर्थमन्त्रालय लगायतका सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks