शिव शर्मा
रूपाकोट (कास्की), कार्तिक २४ - 'आगी चल्यो राम, पछि लक्ष्मण...' गीतमा दुई युवती र एक महिला एक तमासले नाचिरहेका थिए ।
जातीय पहिरनमा ठाँटिएकाहरू गीतसँगै मिल्दो मादल र अन्य बाजा बजाउँदा गाउँमा पुगेका स्वदेशी तथा विदेशी पर्यटक एक टक लगाइरहेका थिए । रोयल टे्रकअन्तर्गत पर्ने मोहोरिया गाउँमा पाहुनालाई परम्परागत घाटुले नै स्वागतसत्कार गर्ने चलन छ ।
आधा घन्टासम्म नाचिने यो नृत्य गर्न कठिन हुने नाच्दै आएकी शशिकला गुरुङले बताइन् । 'यही भएर धेरैले नाँच्नै चाहँदैनन्,' उनले भनिन, 'परम्परा जोगाउनका लागि पनि सिकेर घाटु नाच्दै आएकी छु ।'
गाउँमा उनीसँगै अन्तिम थापा, मीना थापा, विनीता र मनिताले मात्रै राम्रो सँगै घाटु नाच्न सक्छन् । 'तर अरूले भने घाटु नाच्नेतर्फ त्यति ध्यानै दिँदैनन,' गाउँमा घाटु संरक्षण गरी युवापुस्तालाई सिकाउँदै आएकी ५५ वषर्ीया विष्णुमाया गुरुङले भनिन्, 'युवापुस्ताले घाटु बिर्संदा संरक्षण हँुदैन कि भन्ने चिन्ता छ ।' ११ वर्षको उमेरदेखि घाटु नाच्दै आएकी उनले अहिलेसम्म पनि निरन्तरता दिँदै र अरूलाई पनि सिकाउँदै आएकी छन् ।
घाटु बाह्रमासे र सती गरी दुई किसिमले नाचिन्छ । 'गुरुङ समुदायमा प्रचलित घाटु सहरमा हराउँदै गए पनि गाउँमा केही हदसम्म जोगिएको छ,' स्थानीय प्रेमबहादुर गुरुङले भने । उनले गाउँमा आउने विदेशी पर्यटकहरू अन्य नाचभन्दा घाटुले लोभिने गरेको बताए ।
हालैको एक साँझ ४ जना साथीसहित गाउँमा भेटिएका अमेरिकाका २३ वषर्ीय एन्डि्रस बेसमेनले निकै रमाइलो मानेर घाटु नृत्य हेरे, नाचे । 'यो नौलो नाचले हामीलाई लोभ्याएको छ,' पहिलोपटक गाउँमा आएका उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks