काठमाडौ, कार्तिक १७ - निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि नागरिकता बाहेकका प्रमाण तथा सिफारिसलाई पनि मान्यता दिने निर्णय गरेको छ ।
आयोगले विभिन्न राजनीतिक दलहरुको सुझावलाई दृष्टीगत गरी मतदाताको विवरण संकलन एवं दर्ताको लागि नागरिकता प्रमाणपत्रका अतिरिक्त अन्य प्रमाणलाई समेत आधार मान्ने सम्बन्धमा निर्णय गरेको जनाएको छ ।
नागरिकतालाई मात्र प्रमाणको रुपमा लिन नहुने भन्दै तराईका बिभिन्न जिल्लाहरुमा नामावली संकलनमै अवरोध भएपछि आयोगले यो निर्णय गरेको हो ।
आयोगले बुधबार जारी गरेकँ बिज्ञप्तिमा योग्यता पुगेका तर नागरिकता प्रमाणपत्र पेश गर्न नसक्ने व्यक्तिको जन्म स्थान, स्थायी ठेगाना, जन्म मिति, उमेर र बावु वा आमा समेतको नाम पुष्टि हुने गरी जग्गाधनी प्रमाणपूर्जा वा सरकारी कार्यालय, स्थानीय निकाय, सरकारी स्वामित्व भएको संस्था वा शिक्षण संस्थाद्वारा जारी गरिएको कुनै परिचयपत्र पेश गरेमा त्यस्तो व्यक्तिको विवरण संकलन गरी फोटो सहितको मतदाता नामावलीमा नाम समावेश गरिने छ ।
यसरी प्रमाण पेश गर्न नसकेको अवस्थामा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाले जन्म स्थान, स्थायी ठेगाना, जन्म मिति, उमेर र बावु वा आमा समेतको नाम पुष्टि हुने गरी मतदाता नामावलीमा विवरण समावेश गरिदिन सिफारिश गरेमा त्यस्तो व्यक्तिलाई पनि समावेश गराइने छ ।
साथै साविकको मतदाता नामावलीमा नाम भएका व्यक्तिले पनि पहिचानको लागि प्रमाणसहितका सिफारिसको प्रकृया पुरा गर्नु पर्ने उल्लेख गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks