कान्तिपुर संवाददाता
काठमाडौ, कार्तिक २५ - पुराण सत्य हो कि कल्पना ? यसका पात्र नाटकीय हुन् कि जीवन्त ? आदिकालदेखि यसबारे भएको बहसले अझै टुंगो पाइसकेको छैन । पुराणका पात्रको जन्मस्थल, शास्त्रमा वणिर्त स्थान र रिवाज चिनाउँदै एउटा पक्ष यसलाई सत्य मान्दै आएको छ, अर्को पक्षले चाहिँ त्यसको खण्डन गर्ने अनेक उपाय निकालिरहेको छ ।
पक्ष-विपक्षको यो लामो शृंखलामा जोडिन आइपुगेका छन्- एक पत्रकार डम्बर अधिकारी । सेती र मादी नदीको संगमस्थल छेउ दमौलीको व्यास गुफा महाभारतका रचनाकार 'वेदव्यासको जन्मभूमि' भएको भन्ने पौराणिक मतलाई पच्छ्याउँदै डम्बरले त्यसबारे तस्बिर र वृत्तचित्र तयार पारेका छन् जो अहिले देशव्यापी प्रदर्शनको सिलसिलामा छ ।
प्रदर्शनीको सुरुवात् उनले तिहारको छेका पारेर काठमाडौंबाट सुरु गरे जसको आयोजना गरिदियो फोटो पत्रकार महासंघको काठमाडौं शाखाले । व्यास र उनको जन्मभूमि झल्काउने ३० तस्बिरहरू प्रदर्शनीमा थिए ।
पुराण भन्छ, सेती र मादीको संगमस्थलमा एउटी अतभूत मत्स्यकन्या बस्थिन् । पराशर ऋषि उनलाई भेटेर कामातुर भए । तर सुन्दरी अरूले देख्लान् भनेर तयार भइनन् । तब उनले कुहिरोको निर्माण गरेर उनीसँग सहवास गरे र त्यही सहवासबाट व्यास जन्मिए रे ।
अहिलेको सन्दर्भमा अपत्यारिलो तर रमाइलो यो पौराणिक कथा सत्य थियो/थिएन, तर दमौलीको त्यस स्थानमा अहिले पनि कुहिरो लाग्छ, मत्स्यपेसा गर्ने बोटे जातिहरू त्यहाँ छन् र तिनका चेलीहरू मत्स्यकन्या जस्तै लजालु तर सुन्दरी छन् ।
डम्बरले आफ्ना तस्बिरमा पुराणका यिनै कुरालाई प्रस्ट्याउने जमर्को गरेका छन् । यसैबारे उनले १५ मिनेट लामो वृत्तचित्र पनि तयार पारेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks