शिला पाण्डे
काठमाडौ, मंसिर १२ - नेपालमा पर्यटन पर्वतारोहणबाट सुरु भए पनि सरकार र सम्बद्ध निजी क्षेत्रले नयाँ र भर्जिन हिमालमा अझै प्रवर्द्धन गर्न सकेका छैनन् ।
धेरै अगाडि विदेशीले पत्ता लगाएका केही हिमालबाहेक अन्ततिर पर्वतारोहणको विस्तार अझै भएको छैन । पत्ता लागिसकेकामध्ये १ सय १२ हिमाल अझै पनि कसैले चढेका छैनन् । जसमध्ये १३ वटा हिमाल ५ हजारदेखि ६ हजारसम्मका र ५ वटा ७ हजार मिटर अग्ला छन् ।
पर्यटन विकासको जतिसुकै कुरा गरे पनि नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्न धेरै समय लाग्ने नेपाल पर्वतारोहण संघका उपाध्यक्ष निमानुरु शेर्पाले बताए । 'बाह्य मुलुकमा प्राकृतिक सम्पदाका साथै ठाउँ र गतिविधिको प्रवर्द्धनमा सरकार र निजी क्षेत्र दुवैले विशेष ध्यान दिन्छन्,' उनले भने, 'तर यहाँ सरकारको भूमिका शून्य छ, जति पनि पर्यटनले गति लिएको छ निजी व्यवसायीका कारण हो ।'
करिब एक दशकअघि खुला भए पनि प्रवर्द्धन अभावले सुदूरपश्चिमको अपिल र सैपालमा थोरैले आरोहण गरेका छन् । त्यस्तै दुई वर्षअघि खुला भएको चुन भ्यालीमा आरोहणयुक्त हिमालहरू भए पनि अन्वेषण हुन सकेको छैन । यस क्षेत्रमा ६ देखि ७ हजार मिटरका हिमाल छन् तर अन्वेषण गर्न गाह्रो रहेको पर्वतारोहण प्रशिक्षक तथा पर्वतारोहण संघका केन्द्रीय सदस्य नवाङ नीमा शेर्पाले बताए । 'यो काम सरकारले गर्नुपर्ने हो, तर सर्भेमा कर्मचारीलाई पठाउने गरिन्छ,' उनले भने, 'छेउछेउमा पुगेर र्फकन्छन्, यसबाट हिमालबारे पूर्ण जानकारी आउँदैन ।' नेपालभन्दा पछि पर्यटन सुरु गरेको चीनले तिब्बती क्षेत्रको हिमाल अन्वेषणमा आरोही पठाउने गर्छ ।
आरोहण प्रवर्द्धन गर्न उचाइमात्र थाहा भएर हुँदैन । त्यसको सबै खण्डको फोटो, चुचुरोसम्म पुग्न सकिने क्लाइम्बिङ रुट, ध्रुवीय रेखांक, 'म्याग्निच्युड' सबै थाहा पाउनुपर्छ । 'यसमा ठूलो रकम खर्च हुने भएकाले सरकार र निजी क्षेत्र दुवै निष्त्रिmय छन्,' नवाङले थपे, 'सम्पूर्ण जानकारी लिन चाहिने मेकानिज्म पनि छैन ।' यहाँका महत्त्वपूर्ण पदयात्रा भौगोलिक विज्ञ हर्क गुरुङले पत्ता लगाएको
हुन् । तर हिमालबारे जानकारी लिनसक्ने जनशक्ति नभएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रन्जनकृष्ण अर्याल स्वीकार्छन् । 'वैज्ञानिक अनुसन्धान गर्नुपर्ने हुन्छ,' उनले भने 'त्यस्ता व्यक्ति यहाँ छैनन् ।'
अनुमति दिने हिमालको उचाइ र स्थान थाहा भए पनि त्यसबारे पूर्ण जानकारी पर्वतारोहण संघसितसमेत छैन । 'सगरमाथा, धौलागिरि, अमादब्लमलगायत केहीको मात्र विस्तृत जानकारी छ,' नवाङले भने, 'सरकार पनि राजस्व बढी उठ्ने हिमालमा मात्र केन्दि्रत छ ।'
पर्वतारोहण संघले केही समयअघि बोर्डरमा रहेका हिमाल खुला गर्न माग गरेको थियो । तर हिमाल भएका क्षेत्र खुला गरे पनि त्यसको विस्तृत विवरणसहित सम्पूर्ण जानकारी जुटाउने र प्रवर्द्धन कसले गर्ने भन्नेमै समय बित्नसक्ने पवर्तारोण सम्बद्ध संस्थाका प्रतिनिधिले शंका व्यक्त गरे । यस क्षेत्रमा कुल ८८ हिमालहरू छन् । तीमध्ये ८ हजार मिटर अग्ला ५ वटा, ७ हजार मिटर अग्लो १४ र ६ देखि ७ हजार मिटरबीचको ३८ हिमाल रहेको पवर्तारोहण विकासका लागि आवश्यक सुझाव लिन गठन गरिएको कार्यदलको प्रतिवेदनमा
छ । उक्त कार्यदलले २०११ अगाडि नै नयाँ हिमाल अन्वेषण गरी त्यसको विस्तृत जानकारीसहितको रुट निर्माण र नक्सा तयार गर्न सरकारलाई सुझाव दिएको थियो ।
'सुझाव दिएको ६ महिनाभन्दा बढी भइसक्यो, हालसम्म कुनै प्रगति देखिएको छैन,' संघका उपाध्यक्ष नीमा शेर्पाले भने, 'बुझाएको
फाइल कता गएर थन्किएको छ, थाहा भएन ।'
मन्त्रालयमा बुझेपछि यसबारे कुनै छलफलसमेत नभएको एक अधिकारीले बताए । 'बैठक बसेर निष्कर्ष निकाल्छन्,' ती अधिकारीले थपे 'काम भनेको त्यस्तै हो ।' त्यसमाथि बजेट अभाव मुख्य कारण भएको पनि उनको भनाइ
छ । अर्थले बजेट छुट्याउँदा यस्ता विषयलाई प्राथमिकतामा नै नराख्ने उनले बताए । 'दस वर्षयता नयाँ हिमाल अन्वेषण गरिएकै छैन,' ती अधिकारीले भने 'त्योभन्दा अगाडि जति खोजी भए सबै विदेशीले नै गरेका हुन् ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks