Loving nepal news

Wednesday, November 24, 2010

कांग्रेसमा मनोनयन ११ गतेभित्र

कान्तिपुर संवाददाता


काठमाडौ, मंसिर ९ - कांग्रेस सभापति सुशील कोइरालाले ११ गतेभित्र पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् । स्रोतअनुसार उनले उपसभापतिमा रामचन्द्र पौडेल, महामन्त्रीमा रामशरण महत र सहमहामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई बनाउने मनस्थिति बनाएका छन् । पदाधिकारीमा आफ्नै समूहभित्र धेरै आकांक्षीका कारण विवाद बढेकाले सहमति खोज्न कोइरालाले बुधबार दिनभर प्रयास गरेका थिए । महामन्त्रीमा अर्जुननरसिंह केसी, महत र सिटौला दाबेदार रहँदै आएका छन् ।

कोइराला निकट एक नेताले कान्तिपुरसँग भने, 'शेरबहादुरजीसँग समेत छलफल गर्ने विचारमा उहाँ हुनुहुन्छ ।' देउवा पक्षले पनि महत्त्वपूर्ण तीन पदाधिकारीमध्ये एक पाउनुपर्ने माग गर्दै आएको छ ।

कोइरालाले १२ गते केन्द्रीय समिति बैठक बोलाइसकेका छन् । केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने र मनोनयनको जानकारी गराउने उनको योजना छ ।

विधानअनुसार महाधिवेशनको दुई महिनाभित्र विस्तार गरिसक्नुपर्ने उल्लेख भए पनि कोइरालाले शेरबहादुर देउवालाई मात्रै मनोनयन गरेका छन् । ११ गते महाधिवेशन सकिएको दुई महिना पुग्दै छ । सभापतिले उपसभापति, महामन्त्री, सहमहामन्त्रीको प्रस्ताव लैजाने र अन्य २० सदस्य मनोनयन गर्न बाँकी छ । त्यस्तै, केन्द्रीय सदस्यहरूमा गोपाल पहाडी, दिलबहादुर घर्ती, फरमुल्ला मन्सुर, चिरञ्जीवी वाग्ले, रामकृष्ण यादव, जीप छिरिङ लामा, पदमनारायण चौधरी, सुरेन्द्र चौधरी, विमलेन्द्र निधि, भीमबहादुर तामाङ, नरहरि आचार्य, लक्ष्मी राईलाई ल्याउने मनस्थिति बनाएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks