Loving nepal news

Friday, November 19, 2010

डा.भक्तमानलाई चोरीको अभियोग

दीपेन्द्र बडुवाल

भरतपुर, मंसिर ४ - गत जेठमा १९ दिन अपहरणमा परेर मुक्त भएका बीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ बिरुद्ध अस्पतालकी प्रशासकीय अधिकृत इन्दिरा पराजुलीले चोरीको अभियोग लगाएकी छन् । उनले डा.श्रेष्ठ विरुद्ध शुक्रबार चोरी आरोपमा प्रहरीमा उजुरी हालेकी छन् ।

श्रेष्ठले करिब ३ महना अघि करार भंग गरेर पराजुलीलाई पदबाट निष्काशन गरेका थिए । उनीहरुको बिबाद पुनरावेदन आदालत पुगेको थियो । पराजुलीका अनुसार पुनरावेदनले आफूलाई निष्काशन गर्न नसक्ने आशयको फैसला गरेको दावी गरिन ।

डा.श्रेष्ठले शुक्रबार प्रहरीको रोहबरमा कर्मचारी लाएर क्वाटर खाली गराउने प्रयास गरेका थिए । मान्छे खटाइएपछि उनले जिल्ला प्रशासन र प्रहरीमा निर्देशकले चोरी गरेको आरोप लाएर उजुरी हालेको बताइन् । उजुरीमा उनले 'आफू नभएको बेला ताला फोडेर आफ्नो निवास भित्र रहेका बहुमूल्य वस्तु लगायत सबै सामान चोरी गरेको’ आरोप लगाएकी छन् । शुक्रबार बिहान साढे ११ बजे निवास खाली गर्न कर्मचारी खटाइएका थिए ।

जिप्रकामा पराजुलीले मौखिक उजुरी गरेपछि त्यो कार्य रोकिएको थियो । गत साउन २४ मा करार भंग गरेर श्रेष्ठले पराजुलीलाई निष्काशन गरेका थिए । 'सम्झौता सकिएकाले भंग गरेको हुं,' श्रेष्ठले भने,'करार भनेकै चित्त नबुझे भंग गर्ने हो ।' यी दुइ बीच श्रेष्ठ अपहरणमा पर्नु अघि देखि खटपट थियो ।

पराजुलीले जेठ २७ गते आफ्नो करार अवधि ६ महिनाका लागि बढाइएको भन्दै नियम विपरीत भंग गरेको दावीका साथ सञ्चालक समितिमा विमति जाहेर गरेकी थिइन् । सञ्चालक समितिले चाँडो निर्णय नदिएपछि उनले पुनरावेदन अदालत हेटौंडामा उजुरी हालिन । पुनरावेदनले क्यान्सर अस्पताल सञ्चालक समितिलाई गत असोज २१ गते आदेश जारी गरी पराजुलीको करार बीचैमा भंग गरिनुको कारण पेश गर्न भनेको थियो ।

पराजुलीले जिल्ला प्रहरीलाई बोधार्थ सहित प्रशासनमा दर्ता गराएको -दर्ता नम्बर १२२६) उजुरीमा कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठले गरेको पदीय दुरुपयोग र चोरी उपर आवश्यक कारवाही गरी आफ्नो धनको रक्षा गरी पाउँ भनेकी छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks