सुजित महत
काठमाडौ, कार्तिक २३ - प्रहरीले केहीअघि क्यासिनो र्याडमा (होटल र्याडिसनको) जुवा खेलिरहेको अवस्थामा बाइस वर्षीय युवकलाई नियन्त्रणमा लियो । १० लाख भारतीय रुपैयाँ बराबरको 'क्वाइन' लिएर खालमा बसेका उनी पक्राउ पर्दा ७ लाख बराबरको क्वाइन साथैमा थियो ।
बानेश्वर निवासी थापा थरका ती युवक जापानमा मेहनत गरेको कमाइ बोकेर जुवाघर छिरेका
थिए । जुवा ऐनअनुसार कारबाही चलाइएका उनी चार दिन थुनामा बसेर छुटिसकेका छन् । पाका र अधबैंसे जुवाडेले भरिने क्यासिनोमा पछिल्लो समयमा यस्तै युवाको बाहुल्य हुन थालेको छ । पछिल्लो समयमा अधिकांश ग्राहक २५ देखि ३५ वर्ष उमेरका युवा हुने गरेको सम्बद्ध व्यवसायी बताउँछन् ।
क्यासिनोमा नेपाली नागरिकको प्रवेशमा कडाइ गर्ने काठमाडौं प्रहरी परिसरका एसपी रमेश खरेल तिहारको मुखैमा तालिमका लागि विदेश गएकाले क्यासिनोमा भीडभाड निकै बढेको छ । 'भीडमा भर्खरका ठिटा धेरै छन्,' क्यासिनो रोयलका एक कामदारले भने ।
एक दशकदेखि क्यासिनो एभरेस्टमा कार्यरत एक जना अधिकृतका अनुसार उतिबेला जुवाको खालमा पाकाहरूका हूलमा केही अधबैंसे देखिन्थे । 'भर्खरका ठिटा त फेला पार्न मुस्किल हुन्थ्यो,' तिनले भने, 'तर अहिले पाका व्यक्ति निकै कम हुन्छन् ।' नेपाली ग्राहकका भरमा चलेका क्यासिनोमा करिब २५ प्रतिशत ग्राहक भारतीय हुन्छन् । 'भारतीयमा पनि युवाको संख्या बढ्दै गएको छ,' तिनले सुनाए, 'युवाले पाकालाई विस्थापित गर्न लागेका छन् ।' ती अधिकृतको अनुभवमा पुरानाहरू टाट पल्टेर पलायन हुने र नयाँ ग्राहक भित्रिने चक्र चल्ने क्यासिनोमा कुनै पनि व्यक्ति केही महिनादेखि एकाध वर्षका लागि मात्र नियमित ग्राहक हुन्छ ।
दर्जनौंपटक क्यासिनोमा छापा मारेका एक प्रहरी अधिकृत २० देखि २५ वर्ष उमरेका ठिटाठिटी पनि फेला पर्ने गरेको बताउँछन् । ठिटीचाहिँ जुवा खेल्न पल्केका 'ब्वाइफ्रेन्ड' का कारण क्यासिनो पुगेका हुन्छन् । जग्गाको कारोबार/दलाली, वैदेशिक रोजगारी, डान्सबार/डिस्को, म्यानपावरलगायत व्यवसायबाट छोटो समयमा पैसा कमाउन सफल व्यक्तिका साथै अपराधकर्ममा संलग्न युवाहरू क्यासिनोमा झुम्मिने गरेको प्रहरीको भनाइ छ । 'मेहनतले कमाउनेभन्दा लामो हात गर्नेहरू बढी आकषिर्त हुने गरेका छन्,' ती प्रहरी अधिकृतले भने, 'केहीचाहिँ धनी बाबुका बिग्रेका छोरा पनि भेटिन्छन् ।'
जुवाको खालमा हार्नेहरूलाई पैसा सापटी दिने व्यवसाय पछिल्लो समय फस्टाएकाले पनि क्यासिनोमा युवाहरूको भीड बाक्लिएको प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौं प्रहरी परिसरबाट क्यासिनोहरूको निगरानीमा संलग्न अर्का अधिकृतका अनुसार जुवामा हारेर पैसा सिध्याएका ग्राहकलाई तत्काल सापटी दिनेहरू क्यासिनोमा ठूलो संख्यामा तैनाथ हुन्छन् । पैसाको बिटो बोकेर क्यासिनोको चक्कर लगाउने यस्तो समूहले पैसा सिध्याउने ग्राहकको गाडी, गहनालगायत सामान बन्धकी लिएर चर्को ब्याज दिने सर्तमा पैसा लगानी गर्छन् ।
ती अधिकृतका अनुसार १ लाख रुपैयाँ सापट लिने जुवाडेले भोलिपल्ट १० हजार ब्याजसहित सापट फर्काउनुपर्छ । 'विश्वासको आधारमा यस्ता लगानीकर्ताले भारतीय जुवाडेलाई समेत बिनाधितो पनि लगानी गर्दारहेछन्,' उनले भने ।
यसरी लगानी गर्नमा नाम चलेका केहीलाई प्रहरी परिसरले सार्वजनिक अपराध कानुनअन्तर्गत कारबाही चलाएको थियो । 'यसरी सापट दिएर करोडौं कमाएका यस्ता लगानीकर्तालाई छाड्न प्रधानमन्त्रीबाट समेत दबाब आउँथ्यो,' उनले भने ।
आकर्षक ब्याजको लोभमा व्यवसायीहरूका साथै प्रहरी अधिकृतहरूले पनि यस्तै युवाहरूमार्फत पैसा लगानी गरेका छन् । यसरी पैसा लगानी गर्ने कतिपय युवाहरू आफै जुवाको लतमा फसेर ब्याजका साथै साँवा पनि सिध्याएर पलायन हुने गर्छन् । केही प्रहरी अधिकृतले लगानी गर्न दिएको पैसासमेत जुवामा हारेपछि सिलवाल थरका एक जना युवा फरार भएको ती अधिकृत बताउँछन् ।
प्रहरी परिसर हनुमान ढोकाका डिएसपी प्रद्युम्न कार्कीका अनुसार क्यासिनोबाट महिनामा करिब ५० जनालाई पक्राउ गरी जुवा ऐनअनुसार कारबाही चलाइएका छन् । 'सानोतिनो रकम खेल्नेमा युवाहरूको बाहुल्य भए पनि ठूलो खालमा चाहिँ अधबैसे उमेरका हुन्छन्,' उनले भने । सित्तैमा मदिरा सेवन गरी छुट्टै माहोलमा रमाउनका लागि ठिटाहरू क्यासिनो छिर्ने गरेको उनले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks