कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर ४ - राष्ट्रपति रामवरण यादवले संसद्मा शुक्रबार भएको घटनाप्रति दुःख मनाउ गरेका छन् । चालू संसद् अधिवेशन बन्द गर्ने मन्त्रिपरिषद् निर्णय लिएर गएका प्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रपति यादवले घटनालाई लिएर दुःख मनाउ गरेका हुन् । संसद्मा भएको घटनाको प्रधानमन्त्री नेपालले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
'घटना राम्रो देखिएन, नहुनुपर्ने हुन पुग्यो, दुःख लागेको छ भनेर प्रधानमन्त्रीसँग राष्ट्रपतिले भन्नुभयो,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले कान्तिपुरसँग भने । राष्ट्रपति यादवले प्रधानमन्त्री नेपालकै सामु संसद् अधिवेशन अन्त्य गर्न गरेको सिफारिसमा साढे १२ बजे हस्ताक्षर गरेको दाहालले बताए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले शिविरका लडाकुलाई माओवादीको विस्तारित बैठकमा सहभागी नगराउन सरकारले गरेको भूमिकालाई लिएर माओवादीले बजेट ल्याउन जनाएको सहमति उल्लंघन गरेको राष्ट्रपतिलाई बताएका थिए । 'त्यसपछि पनि मैले बारम्बार सहमतिमा बजेट ल्याउन आग्रह गरें, प्रचण्डले पार्टीभित्र सहमति गर्न सकिन । हामी विरोध गर्छौं, तपाईंहरू बजेट ल्याउनुहोस् भनेका थिए,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तर घटनाक्रमले अर्कै मोड लिन पुग्यो ।' उनले घटनामा दोषीहरूलाई कारबाही हुनुपर्ने मागसमेत मन्त्रिपरिषद्ले उठाएकोबारे जानकारी गराउँदै वैधानिक बाटो अवरुद्ध गरेपछि अध्यादेशबाट बजेट ल्याउनुपरेको बताएका थिए ।
शुक्रबार राति अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारले शनिबार बिहान राष्ट्रपति यादवले हस्ताक्षर गरेपछि दिउँसो सार्वजनिक गर्ने भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks