Loving nepal news

Sunday, November 14, 2010

दाहाल नयाँ दस्तावेज तयारीमा * पहिलेकैमा छलफल गर्न वैद्य र भट्टराई पक्षको दबाब

गंगा बीसी

काठमाडौ, कार्तिक २९ -

माओवादी छैटौं विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ राजनीतिक दस्तावेज पेस गर्ने/नगर्नेबारे पार्टीमा विवाद उत्पन्न भएको छ । दाहालले नयाँ दस्तावेज लेखिरहेका बेला उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराई पक्षले पहिलेकै दस्तावेजमा छलफल हुनुपर्ने दबाब दिएका छन् ।

केही दिनअघि बसेको केन्द्रीय पदाधिकारी बैठकमा यसबारे छलफल भए पनि कुनै निर्णय नभएको स्रोतले जनायो । दाहाल भने अध्यक्षको हैसियतले नयाँ दस्तावेज पेस गर्ने तयारीमा छन् । अन्य दुई पक्षले भने तीन फरक-फरक दस्तावेजमा 'व्यापक बहस' भएपछि मात्र अध्यक्षले नयाँ दस्तावेज बनाउनुपर्ने बताएका छन् ।

दाहाल पक्षले केन्द्रीय समितिको निर्णयअनुसार अध्यक्षको हैसियतले दाहालले 'उचित विचार समेटेर' बैठकमा नयाँ दस्तावेज प्रस्तुत गर्ने दाबी गरेका छन् । 'दस्तावेजमा उठेको बहस समेटेर अध्यक्षले दस्तावेज लेख्दै हुनुहुन्छ,' दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले कान्तिपुरसँग भने, 'उहाँले पार्टीको तर्फबाट बैठकमा नयाँ दस्तावेज पेस गर्नुहुन्छ ।'

वैद्य र भट्टराई पक्षले दाहालको प्रतिवेदनलाई 'टिपोट' भनिरहेका बेला दाहालले केही संशोधनसहित नयाँ लेख्न लागेका हुन् ।

वैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले विस्तारित बैठकमा पुरानै तीन फरक दस्तावेजमा छलफल हुने बताए । उनले तीनवटामा छलफल भएपछि मात्र अन्य कुरा हुने बताए । 'तीनवटै दस्तावेज छलफलमा गइसकेका छन्, बैठकमा तीनवटै राखिन्छ,' उनले कान्तिपुरसँग भने, 'तीनवटामा छलफल भएपछि मात्र थप ल्याउने कुरा हुन्छ ।' भट्टराई पक्षीय एक नेताले दाहालले 'नयाँ दस्तावेज ल्याउन गाडी छुटिसकेको' बताए । उनले भने, 'तीनवटै दस्तावेजमा गम्भीर छलफल भएकाले तिनमै बहस हुन्छ, नयाँमा हुँदैन ।'

दाहालले पहिलेको 'बुँदागत' दस्तावेजलाई परिमार्जन गरी 'व्यवस्थित रूपमा' ल्याउन लागेकाले वैद्य र भट्टराई पक्षले विरोध गरेका हुन् । विस्तारित बैठकअघि बस्ने स्थायी र केन्द्रीय समिति बैठकमा यसबारे चर्को विवाद हुने स्रोतले जनायो ।

दाहालको दस्तावेजलाई 'मध्यमार्गी' भन्दै आएका वैद्य र भट्टराई पक्षले आफ्नो दस्तावेज बलियो भएको दाबी गर्दै सीधै छलफल गर्न चाहेका छन् ।

दस्तावेज लेखनदेखि अन्य विषयमा दाहाललाई सघाइरहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाहालले विस्तारित बैठकमा 'पार्टीको आधिकारिक नयाँ दस्तावेज ल्याउने' बताए । 'अध्यक्षले नयाँ आधिकारिक दस्तावेज ल्याउनुहुन्छ,' उनले कान्तिपुरसँग भने, 'त्यसमा सहमति नभए मात्र अन्य दस्तावेज ल्याउने कुरा हुन्छ ।'प्रगतिशील संविधान कि जनविद्रोह ?

विस्तारित बैठक नजिकिँदै गर्दा माओवादीमा जनविद्रोहबारे विवाद चर्कंदो छ । दाहालले संविधान निर्माण गरी त्यसपछि मात्र विद्रोहमा जानुपर्ने बताएका छन् ।

'अहिले यथासम्भव प्रगतिशील संविधान निर्माण गरेर अर्को निर्वाचनमा बहुमत हासिल गरी मौलिक ढंगले केही वर्ष लगाएर मात्र विद्रोह गर्न सम्भव हुन्छ,' उनले आफ्नो दस्तावेजमा भनेका छन्, 'राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुखता दिएरमात्र हामीले विद्रोहका आधार तयार गर्न सकिन्छ । संविधानसभाको सबैभन्दा ठूलो जनअनुमोदित पार्टी हुनुको नाताले हामीले शान्ति र संविधानको निम्ति संघर्ष गर्न पनि छोड्नु हुँदैन ।'

उपाध्यक्ष वैद्य जनगणतन्त्र विद्रोहबाट हुने बताउँछन् । 'जनताको संघीय गणतन्त्रको प्राप्ति जनविद्रोहबाट नै हुन्छ' उनको धारणा छ, 'जनविद्रोह जनयुद्धको जगमा आधारित हुन्छ ।'

अर्का उपाध्यक्ष भट्टराईले प्रगतिशील संविधान बनाउन अन्तिम समयसम्म प्रयत्न गर्नुपर्ने तर त्यसो गर्न नदिए जनविद्रोहमा जाने बताएका छन् । 'सदनको मुख्य मोर्चाबाट जनताको संघीय गणतन्त्रको अन्तरवस्तुसहितको अधिकतम प्रगतिशील संविधान निर्माण गर्ने इमान्दार र सक्रिय प्रयत्न गरिनुपर्छ,' उनले भनेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks