कुलचन्द्र न्यौपाने
काठमाडौ, मंसिर १४ - कांग्रेस केन्द्रीय समितिमा पदाधिकारी मनोनयन प्रस्तावमाथि पक्ष/विपक्षमा छलफल चलिरहेका बेला सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा आ-आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।
कोइरालाद्वारा आइतबार केन्द्रीय समिति बैठकमा प्रस्तुत मनोनयन प्रस्ताव सहमतिमा नटुंगिएमा मतदानमा जाने भन्दै दुवै नेताले आ-आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत थालेका हुन् । महामन्त्रीका आकांक्षी अर्जुननरसिंह केसीले प्रस्तावमाथि गोप्य मतदान गरिनुपर्ने माग सोमबारको बैठकमा राखेका छन् ।
सहमति नभए बुधबार प्रस्तावउपर मतदान हुने सम्भावना छ । कोइरालाले आइतबारको बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्रीमा प्रस्ताव गरेका थिए । पौडेलको मनोनयन प्रस्तावलाई अधिकांश केन्द्रीय सदस्यले स्वाभाविक ठाने पनि सिटौलाप्रतिको असन्तुष्टि चर्को छ ।
प्रस्ताव असफल बनाउन देउवा कोइराला समूहबाट असन्तुष्ट सदस्यलाई आफूतिर आकषिर्त गर्ने अभियानमा छन् । कोइराला आफ्ना समूहका असन्तुष्टलाई चित्त बुझाउन खोज्दैछन् । पार्टी स्रोतअनुसार सुजाता कोइरालालाई चित्त बुझाउन उनले सहमहामन्त्री र पार्टी सरकारमा रहेका बेला पुनः उपप्रधानमन्त्री दिने आश्वासन दिएका छन् ।
प्रस्तावप्रति असन्तुष्टि जनाउँदै केवी गुरुङ, अर्जुननरसिंह केसी, सुजाता र गगन थापा विपक्षमा उत्रिएपछि सभापति कोइराला कार्यसमितिमा अल्पमतको स्थितिमा देखिएका छन् । स्रोतअनुसार 'कनिष्ट'लाई महामन्त्रीमा प्रस्ताव गरिएको भन्दै कोइराला समूहभित्र तीव्र असन्तुष्टि छ । कोइराला क्याम्पका केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू पनि सिटौलालाई मनोनयन प्रस्तावप्रति सन्तुष्ट छैनन् ।
देउवा पक्षले सभापति कोइराला सहमतिमा नआए प्रस्ताव असफल बनाउने तयारी गरेको छ । कोइरालाले सुजातालाई आफ्नो पक्षमा नै राख्न सके पनि प्रस्ताव पारित गर्न थप एक मतको आवश्यक पर्छ । हाल केन्द्रीय कार्यसमितिमा निर्वाचित ६४ सदस्यमा सभापतिसहित ३५ सदस्य कोइराला र २९ सदस्य देउवा पक्षीय छन् । कोइरालाले निर्णायक मत मात्रै दिन पाउँछन् । गुरुङ, केसी, सुजाता र थापा देउवा पक्षमा लाग्दा कोइराला अल्पमतमा पर्नेछन् । त्यस्तो अवस्थामा कोइरालाको पक्षमा ३१ र देउवा पक्षमा ३३ सदस्य पुग्नेछन् । देउवा क्याम्पका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई सोमबार बिहान निवासमा डाकेर कोइरालाले आफूतिर तान्ने प्रयास गरेका थिए ।
देउवाले विदेशमा रहेका डिना उपाध्याय र प्रदीप गिरीलाई मंगलबारको बैठकमा उपस्थित हुनेगरी र्फकन आग्रह गरिसकेका छन् । कोइराला उनीहरू र्फकनुअगावै प्रस्ताव पारित गर्ने दाउमा देखिएका थिए तर केन्द्रीय समितिमा प्रस्तावउपर इच्छुक सबैले बोल्न पाउनुपर्ने माग चर्को उठेपछि बैठक लम्बिन पुगेको छ । सोमबारसम्म २७ जनाले मात्रै बोलेका छन् ।
प्रस्तावलाई लिएर कार्यसमितिमा विभाजन देखिएपछि केन्द्रीय सदस्य खुमबहादुर खड्काले प्याकेजमा सहमति खोज्न मध्यस्थताको भूमिका खेलेका छन् । खड्काले पार्टी संसदीय समिति, कार्यसम्पादन समिति, विभाग र अनुशासन समितिलगायतका प्याकेजमा सहमति जुटाएर गएमा प्रस्ताव सर्वसम्मतले अनुमोदन हुनसक्ने बताएका छन् । तर कोइरालाले प्याकेज प्रस्तावलाई अस्वीकार गर्दै सभापतिलाई काम गर्न दिनुपर्ने बताएको स्रोतको दाबी छ । उपसभापतिका प्रस्तावित नेता पौडेलले बैठकमा प्रस्तावका नामलाई लिएर कसैले विरोध नगरेको बताएका छन् । उनले अनुमोदन गर्ने प्रक्रियाबारे मात्रै बैठकमा छलफल भएको बताए । सोमबार बोल्ने १६ जनामध्ये कोइराला पक्षका नेताहरूले प्रस्ताव गर्नु सभापतिको विशेषाधिकार रहेको बताउँदै अनुमोदन गर्नुपर्ने माग गरेका थिए । देउवा पक्षीय नेताहरूले भने दुवै पक्षको सहमतिमा पार्टीका विभाग र समितिसमेतमा प्याकेजमा सहमति जुटाएर अघि बढ्नुपर्ने धारणा राखे । 'पार्टीभित्रका सबै विचार र पक्षलाई सुन्तलन र संयोजन गर्ने कि एकपक्षीय र एकांकी बनाउने ?,' बैठकमा बोल्दै केसीले भने, 'सभापतिको मनोनयन प्रस्ताव पारितोषिक बाँड्ने र कृपापात्र बनाउने खालको छ ।' सिटौलालाई महामन्त्री बनाएको प्रति असन्तुष्ट देखिएका केसीले पार्टीलाई एक ढिक्का बनाउन र मतविभाजन रोक्न सहमतिको अर्को प्रस्ताव ल्याउनुपर्ने बताए । 'यसैलाई टुंग्याउने हो भने कि नियमावली पर्खनु पर्यो कि केन्द्रीय कार्यसमितिले कार्यविधि बनाउनु पर्यो,' केसीले भने, 'यथावत् रूपमा प्रस्ताव पारित हुन सक्दैन । पारित गर्ने हो भने गोप्य मतदानमा जानुपर्छ ।'
बैठकमा नवीन्द्रराज जोशी, मानबहादुर विश्वकर्मा, उमाकान्त चौधरी, महमम्द आफताफ आलाम, कृष्णचन्द्र नेपाली, दीपक गिरी, ईश्वरी न्यौपाने, चन्द्र भण्डारी, धनराज गुरुङ, रत्ना शेरचन, मीना पाण्डेलगायतका नेताहरूले मनोनयन प्रस्ताव अनुमोदन हुनुपर्ने बताएका थिए । सुजाता प्रस्तावको विपक्षीमा देखिए पनि उनी निकट मानिएका आलाम र चौधरी भने पक्षमा देखिएका छन् । देउवा पक्षीय नेता बालकृष्ण खाँडले सभापतिबाट वरिष्ठ नेताको हैसियतले पौडेललाई मनोनयन प्रस्ताव गरे पनि महामन्त्रीको आधार के हो ? भन्ने प्रश्न गरेका थिए । 'वरिष्ठ नेतालाई प्रस्ताव गरेको छु भन्नुभयो । तर महामन्त्रीमा केबी गुरुङ, खुमबहादुर खड्का, अर्जुननरसिंह केसी वरिष्ठ होइनन् ?' खाँडले भने, सभापतिले मनोनयन गर्दाको आधारसमेत दिन सक्नु भएको छैन ।' एनपी सावद र रमेश रिजालले दुवै पक्षको सहमतिका साथ अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks