योगेश खतिवडा
काठमाडौ, मंसिर ८ - सुनचाँदीको आयातमा लगाइएको प्रतिबन्ध बिहीबारदेखि खुला हुने भएको छ । शनिबार अध्यादेशमार्फत आएको बजेटले सुनचाँदीको भन्सार उच्चदरले बढाएपछि सरकारले आयात प्रतिबन्ध हटाउन लागेको हो ।
यसबारे अर्थ मन्त्रालयसँग छलफल गरी वाणिज्य मन्त्रालयले प्रतिबन्ध हटाउनेबारे निर्णय गर्नेछ । आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्ने अधिकार भएको वाणिज्य मन्त्रालयले बन्देज खुला भएको निर्णय गर्नुपर्छ । वाणिज्य सचिव पुरुषोत्तम ओझा विबामा रहेकाले उनी बिहीबार कार्यालय आएपछि प्रतिबन्ध हट्नेछ ।
'सुन र चाँदी दुवैको भन्सार बढेको छ,' वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, 'अब आयातमा प्रतिबन्ध लगाउनुपर्ने कुनै अवस्था छैन । छिट्टै खुला हुन्छ ।'
झन्डै दुई महिनाअघि दोस्रोपटक आयातमा प्रतिबन्ध लगाइएको थियो । सुरुमा धेरै परिणाममा सुन आएको र यसले शोधानान्तर बढाएको देखिएपछि सुनचाँदी आयातमा रोक लगाइएको थियो । त्यसको केही समयपछि अध्यादेशमार्फत भन्सार बढाई बैंकले दैनिक कोटामा ल्याउने सक्ने व्यवस्था गरी आयात खोलियो । अध्यादेशको म्याद सकिएपछि पहिलेकै भन्सार कायम हुने अवस्था आएप्छि अढाइ महिनाअघि दोस्रोपटक आयातमा प्रतिबन्ध लगाएको थियो ।
बजेटले सुनको दस ग्राममा १ हजार र चाँदीको प्रतिकिलो २४ सय रुपैयाँ भन्सार तोकेको छ । 'सुनको भन्सार भारतमा भन्दा धेरै पुगेको छ,' वाणिज्यका एक अधिकारीले भने, 'अब कुनै बन्देजबिना जोसुकैले सुन ल्याउन सक्ने व्यवस्था हुन्छ ।'
सुरुमा प्रति दस ग्राम सुनमा १ सय ३० र प्रतिकिलो चाँदीमा ३ सय रुपैयाँ भन्सार थियो । पछि अध्यादेशमार्फत दस ग्राम सुनमा ४ सय ७० र प्रतिकिलो चाँदीमा १६ सय रुपैयाँ भन्सार पुर्याइयो । अध्यादेशको म्याद अढाइ महिनाअघि सकिएपछि भारतको भन्दा सस्तो भन्सार कायम हुने अवस्था भएपछि वाणिज्यले आयातमा प्रतिबन्ध लगाएको थियो ।
अर्थ मन्त्रालयका अनुसार अब खुला रूपमा आयात गर्न पाइनेछ । 'यति धेरै भन्सार तिरी आयात भएको सुन लुक्ला वा हराउला भन्ने लाग्दैन,' उनले भने, 'त्यसैले परिणात्मक बन्देज (कोटा) आवश्यक छैन । सबैले बैंकमा एलसी खोली आयात गर्न सक्ने व्यवस्था ठीक हुन्छ ।' उनले भारतमा सुन भन्सार दर दस ग्रामको ४ सय ८० रुपैयाँ रहेकाले त्यहाँ जाने सम्भावना नरहने बताए ।
सुनचाँदी व्यवसायीले भने सुन आयातमा नियन्त्रण हुनुपर्ने बताएका छन् । बजारको मागअनुसार कोटा तोकी आयात गर्नुपर्ने उनीहरूको भनाइ छ । 'अहिले दैनिक ३० देखि ४० किलो माग छ,' व्यवसायी निर्मल ज्योतिले भने, 'यहीअनुसार कोटा तोकी सुन आयात गर्न दिनुपर्छ । यस्तो नभए फेरि उच्च परिमाणमा सुन आउन सक्छ ।' उनले सेयर बजार र घरजग्गाको कारोबार घटेकाले यसमा धेरै लगानी हुन सक्ने भन्दै नियन्त्रण गर्नुपर्ने बताए । यस्तो नभए मुलुकको शोधानान्तर अवस्थामा फेरि नकारात्मक असर पर्न सक्ने उनको भनाइ छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks