Loving nepal news

Monday, November 29, 2010

पोखरामा झ्वाँक तन्नेरी


शिव शर्मा

कास्की, मंसिर १४ - दोहोरी गायक प्रजापति पराजुलीले कोमल वलीको नाम उच्चारण गर्नेबितिक्कै दोहोरीमा झुमिरहेका दर्शक खुसीले उफ्रेका थिए । तर पोखरामा जारी औद्योगिक मेलाको चौथो दिन सोमबार आयोजित सांस्कृतिक कार्यक्रममा अबेरसम्म पनि कोमल स्टेजमा नदेखिएपछि दर्शक झोक्किन थाले ।

स्टेजमा उनकै स्वर त गुन्जियो तर उनी अझै देखिएनन् । जसै दर्शककै पछिल्तिरबाट गायिका वली हातेमाइक गाउँदै अघि बढिन् दर्शक छक्क परे । 'कालो छ टोपी कालै छ कोट...' गाउँदै दर्शकसँग रम्न थालिन् । गायिका दर्शककै बीचमा घेरिएकी थिइन् । स्टेजमा बसिरहेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र लालचनले 'अगाडि देखिएन उनलाई स्टेजमै ल्याउनु पर्‍यो' भन्दै सञ्चालक प्रजापतिलाई आग्रह नै गर्नुपर्‍यो ।

यसपछि गायिका वली दर्शकको भीड छिचोल्दै स्टेज उक्लिन् । 'वाह, क्या राम्रा पोखराका झ्वाँक तन्नेरी' चर्चित गीत 'झ्वाँक तन्नेरी...' गाउनुअगाडि दर्शकतिर हेर्दै उनले के भनेकी थिइन्, तन्नेरीहरू 'म पनि छु झ्वाँक तन्नेरी' भन्दै हुटिङ गर्न थालिहाले ।

मेलाको विशेष आकर्षण बनेकी उनको गीतमा सबैजना झुमे । 'पोइला जान पाम...' बोलको गीतले सबैभन्दा बढी ताली पायो । 'बदमास हत्तेरिका शिवजी...', 'मनमा आँट भा'को गोजीमा गाठ भा'को...' लगायतका प्रस्तुतिलाई पनि दर्शकले खुलेर साथ दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks