Loving nepal news

Tuesday, November 23, 2010

दाहालद्वारा प्रतिरोध संघर्षको प्रस्ताव 'हामी शान्ति र संविधानको बाटो छाडेर जान सक्दैनौं'


सरोज

पालुङटार (गोरखा), मंसिर ८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'जनताको संघीय गणतन्त्र' प्राप्तिको बाटोमा अवरोध भए राष्ट्रिय स्वाधीनताको संघर्ष विकास गर्नुपर्ने बताएका छन् । पालुङटार विस्तारित बैठकमा आफ्नो राजनीतिक प्रतिवेदनको व्याख्या गर्ने क्रममा उनले बाह्य हस्तक्षेप भए 'राष्ट्रिय प्रतिरोध युद्ध' समेत हुन सक्ने घोषणा गरेका छन् ।

उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले प्रतिवेदन प्रस्तुत गरेको भोलिपल्ट उनले नेपाली क्रान्ति सम्पन्न गर्न प्रतिरोध संघर्षको सम्भावना औंल्याएका हुन् । 'नेपालको हरेक मामिलामा भारतीय विस्तारवादले हस्तक्षेप गर्ने गरिरहेको छ,' दाहालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'यो हस्तक्षेपविरुद्ध प्रतिरोधको तयारीबिना नेपालको क्रान्ति पूरा गर्न सकिँदैन ।'

अध्यक्ष दाहालले प्रतिरोध संघर्षको तयारी गरिएमात्र शान्ति र संविधान निर्माण सुनिश्चित हुन सक्ने धारणा राखे । 'हामी शान्ति र संविधानको बाटो छाडेर जान सक्दैनौं,' उनको भनाइ थियो, 'तर त्यसलाई रोक्न खोजियो भने जनविद्रोह अनिवार्य हुन्छ ।'

दाहालले आगामी कार्यदिशा बनाउँदा प्रधान अन्तरविरोध भारत लक्षित हुनुपर्ने तर्कसमेत गरे, जुन उपाध्यक्ष वैद्यको नीतिसँग मिल्छ । 'भारतीय विस्तारवाद र घरेलु प्रतिक्रियावाद घुलमिल भएर नेपाली क्रान्तिको प्रधान अन्तरविरोध बन्न पुगेको छ,' उनको भनाइ थियो । उपाध्यक्ष भट्टराईले भारतले सैनिक हस्तक्षेप गर्ने अवस्था नभएकाले भारत प्रधान अन्तरविरोध भइनसकेको धारणा सोमबार राखेका थिए ।

२०६५ चैतमा गौरमा आफ्ना तीन दर्जन कार्यकर्ता मारिएको घटनादेखि हालको राजनीतिक गतिरोधका पछाडि समेत भारतीय सत्ताको हात रहेको दाबी गर्दै उनले त्यसविरुद्ध आन्दोलन गरेर जानुपर्ने बताए । 'भारतको हस्तक्षेप चुलोसम्म आइपुगेको छ,' उनको भनाइ थियो, 'भारतसँग प्रमुख संघर्ष नभए क्रान्ति सम्पन्न हुन सक्दैन ।'

वैद्य र भट्टराईले मध्यपन्थीको आरोप लगाएका दाहालले आफू विचारविहीन हुनै नसक्ने भन्दै पार्टीलाई अप्ठ्यारो अवस्थामा समेत सफल नेतृत्व गरेको उल्लेख गरे । 'मैले नेतृत्व गरेको झन्डै २२ वर्ष भयो । जनयुद्ध, शान्ति प्रक्रिया र संविधानसभा मेरै नेतृत्वमा भयो,' उनले भने, 'अरूको विचार लिएर टाकनटुकन गरेको, विचारबिनाको नेतृत्व हो भन्नु तथ्यहीन, अवस्तुवादी र अवैज्ञानिक छ ।'

वैद्य र भट्टराईले आफ्नो विचार लिएर नेतृत्व गरेको आरोप लगाएको प्रत्युत्तरमा दाहालले आफ्नो कार्यदिशाले नै मुलुक र पार्टीलाई यहाँसम्म ल्याइपुर्‍याएको बताए । 'चुनबाङको कार्यदिशा मेरै नेतृत्वमा भएको हो, यसमा बाबुरामजीलगायत अरूको सहयोग थियो,' दाहालको थप भनाइ थियो, 'जनताको संघीय गणतन्त्रको कार्यनीतिको आधार चुनबाङ बैठकले तयार पारेको हो । अरूले तयार पारेको भन्नु सोहै्र आना गलत हो ।'

सकारात्मक छ: वैद्य

सम्बोधन भएन : भट्टराई

अध्यक्ष दाहालको सम्बोधनलाई उपाध्यक्ष वैद्यले 'सकारात्मक' भन्ने प्रतिक्रिया दिएका छन् भने अर्का उपाध्यक्ष भट्टराईले आफूले उठाएका विषयलाई सम्बोधन नगरिएको बताएका छन् ।

उपाध्यक्ष वैद्यले कान्तिपुरसँग भने, 'अध्यक्षले कार्यदिशा र प्रधान अन्तरविरोधबारे किरणसँग नजिक छु भनेको राम्रो भयो, यो सकारात्मक छ । उहाँलाई धन्यवाद दिनुपर्छ ।'

यद्यपि बैठकको अन्त्यमा आउने अध्यक्षको संश्लेषित प्रतिवेदन हेरेपछि मात्र दाहालको र आफ्नो दुई प्रतिवेदन एउटै हुन सक्ने वा नसक्नेबारे आफूले निर्णय गर्ने उनले बताए । 'मिलेर जानुपर्छ भन्ने विचार ठीक हो तर पछि अर्को प्रतिवेदन कसरी आउँछ, त्यसैका आधारमा मिल्ने वा नमिल्ने स्पष्ट हुन्छ,' उनले भने ।

अर्का उपाध्यक्ष भट्टराईले भने अध्यक्षको प्रस्टीकरणसहितको प्रतिवेदनले कार्यकर्ताका सबै जिज्ञासालाई समाधान गर्न नसकेको प्रतिक्रिया दिए । 'किरण र मैले पटक-पटक स्पष्ट हुनुहोस् भन्दा पनि ढुलमूले ढंगले उहाँका विचार आएका छन् । अन्तरविरोध बढाउने ढंगले आएका छन्,' उनले भने, 'यसमा सन्तुष्ट हुने ठाउँ छैन ।'

भट्टराईले आफूलाई आत्मसमर्पणवादी बन्न खोजेको आरोप जनता, कार्यकर्ता कसैले नपत्याउने बताए । 'हामीले उठाएका विषयमा सतही जवाफ आएको छ, वैचारिक जवाफ दिनुपथ्र्यो,' उनको भनाइ थियो ।

शान्ति र संविधानको कार्यदिशाबाट दायाँबायाँ लाग्ने तत्काल कुनै सम्भावना नभएको भन्दै उनले जारी बैठकले पनि त्यसकै पक्षमा निर्णय गर्ने ठोकुवा गरे । 'शान्ति र संविधानलाई छाडेर जाने कुनै सम्भावना छैन, बरु त्यसविरुद्ध षड्यन्त्र भए आन्दोलन गरेर सुनिश्चित गर्ने कार्यदिशा तय हुनेछ ।'

भट्टराईले २०६२ सालमा चुनबाङ बैठकले पारित गरेको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिलाई र वैद्यले २०६५ सालमा खरिपाटी राष्ट्रिय भेलाले तयार पारेको जनताको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आ-आफ्नो भनी दाबी गरेका थिए ।

दाहालले नयाँ कुरा गर्दा वैद्य तर्सिने गरेका र भट्टराईचाहिँ राष्ट्रिय आत्मसमर्पणवादउन्मुख भएको आरोप लगाएका थिए । तर उनले अन्तरसंघर्षपछि एकता हुने उल्लेख गर्दै विस्तारित बैठकबाट आफूहरू एक भई र्फकने उद्घोषसमेत गरे । उनले नमिलेका विषयलाई महाधिवेशन गरेर भएर पनि टुंग्याउन सकिने धारणा राखे ।

'गल्ती गर्न कोही कम छैनौं'

अध्यक्ष दाहालले मूल नेतृत्वको कार्यशैली गलत भएको भन्ने आरोपको प्रतिवाद गर्दै कमजोरी सबैबाट भएको जवाफ दिए । 'मबाट पनि त्रुटि भएकै छ तर दोष अर्काको थाप्लामा हाल्नु ठीक होइन,' उनको भनाइ थियो, 'मेरो जनयुद्धदेखि एउटै कार्यशैली छ, बरु साथीहरूको जीवनस्तर फेरिएको छ ।'

आर्थिक रूपमा अपारदर्शी भएको आरोपको खण्डन गर्दै दाहालले सभाहलमै हिसाबकिताब देखाउन तयार भएको उल्लेख गरे । 'मैले सम्पूर्ण आर्थिक हिसाबकिताब बोकेर ल्याएको छु,' उनले वैद्य र भट्टराईतिर संकेत गर्दै भने, 'तपाईंहरू पनि हिसाबकिताब देखाउनुस् ।' उनले यसबारे आयोग बनाएर छानबिन गर्न सकिने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks