काठमाडौ, मंसिर १३ - फिल्म 'फिलिम' मा सँगै देखिएका हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी फेरि ठूलो पर्दामा सँगै देखिन लागेको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउने शिव रेग्मी निर्देशित फिल्म 'हाँसिदेऊ एक फेर' मा कलाकारद्वयले दर्शकलाई हाँसोसँगै रुवाउने बताएका छन् ।
'शिव रेग्मीले प्रायः रुवाउँछन्, यसमा पनि दर्शकले रोएरै मनोरञ्जन लिनेछन्,' फिल्मका एक पात्र हरिवंशले भने, 'फिल्म मनन गर्ने खालको सामाजिक उत्तरदायित्वको अनुभव गराउने हुनेछ ।' उनले फिल्ममा हाँसो पनि उत्तिकै भएको बताए ।
मदनकृष्णले मह जोडीको भनेर बढी आशा गरेकैले आफ्ना केही टेली सिरियल पहिलो पटकमा खासै नरुचाइएको र दोस्रो टेलिकास्टमा मात्रै रुचाइएको उल्लेख गर्दै यस फिल्मबाट पनि धेरै आशा नगर्न अनुरोध गरेका छन् । 'सुखदुःख' मा निर्देशक रेग्मीसँग काम गरिसकेका मदनकृष्णले फिल्म हेरेर रुने दर्शक आफूलाई मन पर्ने बताए । 'अरूको दुःखमा दुःख मानेर रुने दर्शक पो राम्रो त । अरूलाई चोट पर्दा हाँस्ने पनि के राम्रो ?'
दुई वर्ष लगाएर बनाइएको फिल्मले एकबारको जुनीमा मरेर बाँच्नु हुन्न भन्दै सकारात्मक सोचका साथ बाँच्न सन्देश दिन खोजेको निर्देशक रेग्मीले पत्रकार सम्मेलनमा बताए । फिल्ममा सुशील क्षेत्री, राजबल्लभ कोइराला र श्वेता खड्काले समेत मुख्य भूमिकामा खेलेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks