Loving nepal news

Friday, November 5, 2010

आज लक्ष्मीपूजा

काठमाडौ, कार्तिक १९ - आज साँझ नेपालभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा गरिदैंछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटाले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।लक्ष्मीपूजासागै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसाग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ ।आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिड्छन् । यसरी भैलो माग्दै हिड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।
सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाा लक्ष्मीले सदा बास गरून् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वास छ । रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks