अर्जुन सुवेदी, काठमाडौं, मंसिर १२- सडक बत्ती मर्मत हुन नसक्दा राजधानीका मुख्य सडकहरू साँझ पर्नेबित्तिकै अन्धकारमय हुन थालेका छन्। नयाँ बत्ती विस्तार नभएको मात्र होइन, एक वर्षअघि नै बिग्रिएका बत्ती समेत फेरिएका छैनन्।
रत्नपार्क, दरबारमार्ग, बानेश्वर, कलंकी, सुन्धारालगायत महानगरका चोकका सडक बत्ती बल्न छाडेका छन्। आफ्नै कार्यालयअगाडिका मुख्य सडकका बत्ती लामो समयदेखि नबल्दा पनि महानगरपालिका, सडक विभाग, विद्युत प्राधिकरणलगायत कार्यालय मौन छन्।
सडक बत्ती नहुँदा राजधानीका कतिपय ठाउँमा रात परेपछि हिँडनसमेत गाह्रो हुने सर्वसाधारण बताउँछन्। 'बाटोमा सम्झाँझै लुटिएपछि आजभोलि हिँडन पनि डर लाग्छ,' दुई साताअघि पुतलिसडकमै लुटिएको बताउने मैतिदेवीका सिर्जन पौडेलले भने, 'जता गयो उतै अँध्यारो हुन्छ, गाडी पनि पाइन्न।'
सडक बत्ती नभएकै कारण दुर्घटना र लुटपाटका घटना बढ्दै गएको प्रहरी बताउँछ। ट्राफिक प्रहरी महाशाखा प्रमुख विनोद सिंह सडक बत्ती बल्न छाडेपछि ट्राफिक प्रहरीलाई समस्या भएको बताउँछन्। 'अँध्यारो ठाउँमा दुर्घटना बढी हुन्छ र चेकजाँचका लागि पनि समस्या हुन्छ,' उनले भने।
सडक बत्ती व्यवस्थापनको जिम्मा महानगरपालिकाको हो। स्थानीय स्वायत्त शासन ऐन ०५५ ले गल्ली र सडकमा बिजुलीको प्रबन्ध गर्न नगरका सम्बन्धित वडालाई जिम्मा दिएको छ। तर बत्ती हराउँदै गए पनि महानगर जिम्मेवारीबाट पन्छिरहेको छ।
मुख्य सडकका बत्तीको जिम्मेवारी सडक विभागको भएको उसको दाबी छ। 'हामीसँग मुख्य सडकमा काम गर्ने जनशक्ति र स्रोत साधनै छैन,' महानगरपालिका भौतिक तथा विकास पूर्वाधार विभाग प्रमुख रोशन शाक्यले भने, 'भित्री सडकका बत्तीको जिम्मेवारी मात्र अहिले हामीले सम्हालेका छौं।'
तर सडक बत्ती नहुँदा भित्री गल्लीहरू झन् अँध्यारा र असुरक्षित छन्। 'स्थानीयले माग राखे मात्र हामीले सडक बत्ती हेर्छौं,' शाक्यले भने, 'लोडसेडिङ बढेकाले सडक बत्तीको माग पनि घट्दै गएको छ।'
उनका अनुसार महानगरको सडक बत्ती सुधार गर्न यस वर्ष २५ लाख रुपैयाँ छुट्याएको छ। तर मुख्य सडकका बत्ती सडक विभागले हेर्दै आएको उनले बताए।
सडक विभागले भने बजेट अभावमा बत्ती फेर्न नसकिएको बताएको छ। सडक विभागका प्रवक्ता डिल्लीरमण निरौला गत वर्ष भनेजति बजेट नआएपछि सडक बत्तीको समस्या समाधान नभएको बताए।
'सबै बत्ती बनाउन अर्थ मन्त्रालयमा बजेट मागेका छौं,' निरौलाले नागरिकसँग भने, 'अब मुख्य स्थानका सडक बत्ती बनाउने कामलाई प्राथमिकता दिन्छौं।'
जापानी सहयोगमा केसरमहल, सिंहदरबार, माइतीघर, थापाथलीलगायत १० स्थानमा राखिएका बत्ती लोडसेडिङका कारण बिग्रिएको उनले बताए।
'लोडसेडिङको असर पर्न नदिने चार्ज हुने ब्याट्री व्यवस्था गरिएको थियो,' प्रवक्ता निरौलाले भने, 'थोरै समय बत्ती आउँदा चार्ज हुन नपाएपछि धेरैजसो ब्याट्रीमै समस्या आयो।' यी बत्तीको मर्मत गर्न बढी खर्च लाग्ने समेत उनले बताए।
महानगरभित्र करिब २२ हजारभन्दा सडक बत्ती छन् भने बिग्रिएका सडक बत्ती बनाउन प्रत्येक वडामा एक प्राविधिक रहेको महानगरपालिका भौतिक तथा विकास पूर्वाधार विभाग प्रमुख शाक्यले बताए।
आपसी समन्वय अभावले सडक बत्तीको संख्या र समस्याबारे यथार्थ जानकारी नभएको विद्युत प्राधिकरणले बताएको छ।
प्राधिकरण, सडक विभाग र महानगरले आ-आफैं सडक बत्ती जडान गर्दै आएकाले कत्ति स्थानमा सडक बत्ती छ भन्ने रेकर्डसमेत नभएको प्राधिकरणका अर्थ विभाग प्रमुख दिवाकर पौडेलले बताए।
'महानगरभित्र ४० प्रतिशतभन्दा बढी स्थानमा सडक बत्तीको समस्या छ,' विद्युत प्राधिकरणका एक इन्जिनियरले भने, 'महानगर र प्राधिकरणले एकअर्काको मुख ताक्दा यस्तो समस्या देखिएको हो।'
यति मात्र होइन, अपराधीका कारण पनि सडक बत्तीको समस्या बढेको दुवै निकायको भनाइ छ। लागूपदार्थ प्रयोगकर्ता तथा चोरी र लुटपाटका घटनामा संग्लनले सडक बत्ती बिगार्ने गरेको उनीहरूको भनाइ छ।
'उज्यालो भए पक्राउ पर्ने डरले सडक बत्ती बिगार्ने गर्छन्,' महानगरका शाक्यले भने।
उनले देशभरका सबै नगरपालिकाको विद्युत महसुल बक्यौता ८९ करोड ७० लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको थियो। तर आगामी बक्यौता कसले तिर्ने भन्ने बारेमा समेत स्पष्ट छैन।
प्राधिकरणका अर्थ विभाग प्रमुख दिवाकर पौडेल महशुलकै कारण बनाएर प्राधिकरणले सडक बत्तिमा अवरोध नगरेको बताउँछन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks