Loving nepal news

Sunday, November 21, 2010

स्वदेशमा मेडिकल पास, विदेशमा फेल

होम कार्की

काठमाडौ, मंसिर ६ - सिन्धुली, लडेभीरका रामकाजी विक मलेसियामा स्वास्थ्य जाँचमा फेल भएपछि स्वदेश आउनुपर्‍यो । काठमाडौंस्थित नमस्ते नेपाल मेडिकल सेन्टरमा गत भदौमा स्वास्थ्य जाँचमा पास भएर त्यता हानिएका उनी मंसिरमै फर्काइए । 'छातीमा दाग देखिएकाले अनफिट भएँ,' ३१ वषर्ीय रामकाजीले भने, 'विदेश जान लागेको खर्चको क्षतिपूर्ति दाबी गरेको छु ।'

नेपालमा पास भएका म्याग्दी दानाका रुद्रबहादुर विक पनि छातीमै कालो दाग देखिएकाले असोजमा कतारबाट फिर्ता भए ।

स्वदेशमा स्वास्थ्य परीक्षण गरी विदेश गएका रामकाजी र रुद्रबहादुर जस्ता कामदार विदेशको

परीक्षणमा फेल भएपछि क्षतिपूर्तिको माग गर्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघमा उजुरी दिनेको चाङ नै लागेको छ ।

महासंघका अध्यक्ष खड्गबहादुर श्रेष्ठका अनुसार दुई वर्षमा पाँच सय ४६ जनाले क्षतिपूर्ति पाएका छन् ।

महासंघले पीडित कामदारलाई ७० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने गरेको छ । पछिल्लो समयमा मेडिकल फेल भएर र्फकने कामदार बढिरहेका छन् । महासंघमा निवेदन दिएकामध्ये साउन, भदौ, असोजमा क्रमशः ७७, ८२ र ७३ जनाले क्षतिपूर्ति पाएका छन् । महासंघले मेडिकल फेल भएको प्रमाण, सम्बन्धित मुलुकको दूतावास वा काउन्सेलर कार्यालयको सिफारिसपत्र र होलोग्राम स्टिकरसहितको मेडिकल-कार्डका आधारमा क्षतिपूर्ति तय गर्छ ।

खाडीका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरबसहितका मुलुक र मलेसियामा पुगेका कामदारमध्ये अधिकांशजसो निमोनिया रोगका कारण छातीमा देखिने कालो दाग -क्याल्सिफिकेसन) का कारण फेल हुने गरेको पाइएको छ । त्यसबाहेक सूचीकृतभन्दा बाहिरका स्वास्थ्य संस्थाहरूले प्रक्रिया नपुर्‍याई परीक्षण गरिदिँदा पनि कामदारले दुःख पाइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न एक सय ५३ स्वास्थ्य संस्थालाई अनुमति दिएको छ । 'स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन र गलत काम गर्नेमाथि रोक लगाउन हामीले होलोग्राम टाँस्ने व्यवस्था लागू गरेका छौं,' श्रेष्ठले भने, 'श्रमस्वीकृति दिँदा होलोग्रामलाई अनिवार्य गर्न नसक्दा सूचिकृत नभएकाले पनि स्वास्थ्य परीक्षण गरिरहेका छन् ।'

वैदेशिक रोजगार ऐनको दफा ७२ -१) मा 'वैदेशिक रोजगारमा जानुपूर्व नेपाल सरकारबाट स्वीकृतप्राप्त स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्नेछ' भन्ने व्यवस्था छ । त्यही प्रयोजनका लागि सरकारले १ सय ५३ वटालाई सूचीकृत गरेको हो । तर तीबाहेकले पनि परीक्षण गरी उपयोगमा आइरहेकामा व्यवसायीले आपत्ति जनाएका छन् ।

'जुन पायो त्यहीले स्वास्थ्य परीक्षण गराउने हो भने किन सूचीकृत गर्नु ?' श्रेष्ठ भन्छन्, 'ऐनको व्यवस्था कार्यान्वयन नहुँदा कामदारले दुःख पाइरहेका छन् ।' वैदेशिक रोजगार विभागले गत वर्ष दुई लाख ९४ हजारलाई श्रम स्वीकृति दिएको छ । जबकि दुई वर्षमा एक लाख ६५ हजार कामदारको परीक्षणमा मात्रै होलोग्राम स्टिकर टाँसिएको छ । अनधिकृतले गर्ने परीक्षणलाई सरकारले नियन्त्रण र कारबाही गर्न सकेको छैन ।

विभागका निर्देशक काशीनाथ मरासिनीका अनुसार साउदी, ओमन र बहराइन जाने कामदारका हकमा फरक नियम छ । 'ती देशका लागि स्वास्थ्य परीक्षणको अनुमति गाम्का

-पाँच स्वास्थ्य संस्थाको समूह) लाई मात्रै भएकाले त्यसमा होलोग्राम चाहिँदैन,' उनले भने, 'अरूको हकमा भने महासंघले आफ्ना सदस्यहरूलाई अनिवार्य गर्नुपर्छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks