अनमोलमणि
काठमाडौ, मंसिर ११ - आधुनिक संगीतको बजार ओरालो लाग्दै गर्दा उदाएका थिए एसकुमार । 'मैले छोएको पानी चल्दैन...' ले उनी सुपर हिट भए । त्यही 'पानी चल्दैन...' गीत राखेर उनी एकाएक 'हिरो' का रूपमा देखिएका छन् आफ्नै निर्माणको 'बाटोमुनिको फूल' मार्फत, जसमा जातीय विभेद र अन्तरजातीय प्रेमले पैदा गर्ने तनाव हेर्न सकिन्छ ।
अन्तरजातीय प्रेम र विभेदका विषमा बनेको फिल्म यो पहिलो होइन । धेरैजसो नेपाली फिल्मले अपनाउने 'कथा टुल्स' लाई यसले पनि अपनाएको मात्रै हो । यो फिल्मको सारले भन्छ, 'जातीय विभेदको चरम रूपले अपराध पनि जन्माउन सक्छ ।' हत्या अभियोगमा पक्राउ परेको सुरेश दमाईको कथालाई मियो बनाएर निर्देशक सुरज सुब्बाले कलाकारमार्फत यस्तै सन्देश दिएका छन् । तर संवादै पिच्छेको जातीय विभेदचाहिँ सिर्जनात्मकभन्दा दलित मुक्तिका नाममा उठाइएका सस्ता नाराजस्ता लाग्छन् । फिल्ममा जातीय विभेदको एउटा अंश छ, त्यसको अर्थ-राजनीतिक पाटो छैन ।
एकजना गाइनेले प्रहरी कार्यालयमा गरेको परिघटना वर्णनमा सुरेश दमाईको विगत फिल्ममा देखाइएको छ । उसले दलित मुक्तिका लागि एनजीओ चलाएका एकजना उपाध्यायकी छोरी गुराँस (रेखा थापा) लाई कसरी प्रेम गर्यो ? दमिनी बूढीले आँट गरेर नातिको प्रेमलाई सम्मान गर्दै उपाध्यायकी छोरी माग्न जाँदा कस्तो दुव्र्यवहार खेपी ? चर्चित मोडेल हुने अभिलाषा पालेकी कामीकी छोरी तुलसी
(नन्दिता केसी) कसरी भीमेबाट बलात्कृत भई र त्यो युवतीलाई सुरेशको भाइ कान्छाले कसरी मन परायो ? प्रेमी छुटाउन गएको सुरेशको हातबाट उसकी प्रेमिका र भीमे कसरी एकै ठाउँ मारिए ? चार गीत, दुई द्वन्द्व दृश्यसहितको सवा २ घन्टा अवधिको फिल्म यिनै प्रश्नको उत्तरवरिपरि घुमेको छ ।
यो फिल्ममा एसकुमारसँगै 'ट्वाक्क ट्वाक्क...' गायक बाबु बोगटी पनि नायक भएका छन् । दुवै आफ्ना म्युजिक भिडियो (बोगटीचाहिँ टेलि सिरियलमा पनि) मा 'हिरो' बनिसकेकाले हुन सक्छ, चल्तीका नायकहरूको भन्दा उनीहरूको अभिनय कमजोर छैन । पटकथालाई सही तरिकाले बुन्न नसक्दा पात्रको अभिनय एकोहोरो र स्लो लाग्छ ।
'बाटोमुनिको फूल' मा पनि अन्य फिल्मका जस्तै रोनाधोना र बिलौना, फाइट 'मसला' हेर्न सकिन्छ । मुस्तण्डेहरूको कुटाइ खाएर र पटकपटक तरबार लागेर पनि नायकहरूचाहिँ सामान्य घाइते मात्रै हुने तथा एक्लो नायककै जित हुने परम्परा यसमा पनि छ । खलनायकहरू नायिकालाई बलात्कार गर्न र हिरोसित फाइट खेल्न जबर्जस्ती खडा गरिएका छन् ।
माक्र्सवादीहरूको वर्गविभेदको दर्शन अनुसार यो फिल्म विषयमा 'प्रगतिशील' मान्न सकिन्छ तर द्वन्द्वात्मक भौतिकवादको कोणबाट हेर्दा सांस्कृतिक स्खलन भएर 'मनोरञ्जन' प्रधान बनेको छ । यद्यपि विभेदविरुद्धको सन्देश यसले राम्ररी सम्प्रेषण गर्न सक्छ । समाजमा हुने सामाजिक, आर्थिक र सांस्कृतिक भेदहरूको जन्मबारे फिल्मको प्रस्तुति आफैं प्रस्ट छैन । 'दलितलाई अपराधी बनाउने हामी हौं' भन्ने डीएसपीको संवाद छ तर वर्ग कसरी जन्मिन्छ पटकथाले त्यसको सही पुष्टि गर्न सक्दैन । काठमाडौंनजिकैको त्यो दमाई परिवारको वर्गीय हैसियत, 'तँतँ र मम' को सम्बन्ध भएका शिक्षित जोडीको समाजविरुद्ध जान नसक्ने सोच र संकुचनलाई फिल्मले न्याय गर्न सकेको छैन । नायिकाको बलात्कार जबर्जस्ती लाग्छ भने अन्त्यमा उनीहरुको मिलन वा विछोड फिल्मले प्रस्ट्याएको छैन ।
समग्रमा 'बाटोमुनिको फूल' ले नेपाली फिल्मको धारै परिवर्तनको हैसियत राख्दैन । कमजोर पटकथाका बाबजुद संगीत, छायांकनले 'सहरिया' दर्शकलाई पनि तान्न सक्छ । कमजोर नेपाली फिल्मको हारमा यसलाई धैर्यसाथ पूरा समय हेर्न सकिन्छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks