Loving nepal news

Tuesday, November 16, 2010

लट्ठीले मुटु र फोक्सो छेडेपछि शल्यक्रिया * विश्वमै दुर्लभ सफलता: चिकित्सक

अतुल मिश्र

काठमाडौ, मंसिर १ - लट्ठीले मुटु, फोक्सो, डायफ्राम छेड्दै वारपार भएका एक व्यक्तिको दुर्लभ शल्यक्रिया सफल भएको छ । मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा मुटु तथा फोक्सो शल्यक्रिया विभागका प्रमुख प्रा.डा. भगवान कोइरालाको नेतृत्वमा यस्तो शल्यक्रिया भएको हो ।

'एकदमै दुर्लभ शल्यक्रिया सफल भयो,' केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. प्रकाश सायमीले भने, 'यसअघि यस्तो केस नेपालमा देखिएको छैन, विश्वमा समेत दुर्लभ हो ।' यो केन्द्र चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत छ ।

तिहारको अघिल्लो दिन भैली खेल्न जाँदा सिन्धुपाल्चोककी ५५ वर्षीया मोतीमाया तामाङ भीरमा पिसाब गर्न लाग्दा लडेकी थिइन् । उनी लड्दा करिब बूढीऔंला मोटाइ बराबरको एक फिट लामो लट्ठी उनको मुटु, फोक्सो, डायफ्राम छेड्दै वारपार भएर अड्केको थियो । 'मुटु, फोक्सो, डायफ्राम छेड्दै लट्ठी कलेजोमा गएर अडकएको रहेछ,' शल्यक्रियामा संलग्न एक चिकित्सकले भने, 'झिरमा रोपेको सेकुवाजस्तै उनको मुटु, फोक्सो, डायफ्राम, कलेजो देखिएको थियो ।' केन्द्रमा आइपुग्दा तामाङको अवस्था गम्भीर थियो ।

सिन्धुपाल्चोक अस्पतालले छातीमा रोपिएको लट्ठीसहित मोतीमायालाई नचलाई ड्रेसिङ गरेर केन्द्रमा पठाएको थियो । 'नचलाई उपयुक्त ड्रेसिङ गरी पठाउनुले समेत शल्यक्रिया सफल हुन सघाएको हो,' एक चिकित्सकले भने, 'लट्ठी वारपार हुँदा छियाछिया परेको मुटु, प्वाल परेको फोक्सो, डायफ्राम र कलेजो हेरेपछि केही क्षण त मैं दोधारमा परें ।' ती चिकित्सकका अनुसार लट्ठीले मुटुको अगाडिको भागमा चार सेन्टिमिटर र पछाडिको भागमा २ सेन्टिमिटरको प्वाल बनाएको थियो ।

'दुर्लभ प्रकृतिको मुटुको चोट लागेर आएका बिरामीको हामीले शल्यक्रिया गरेका हौं,' प्रा.डा. कोइरालाले कान्तिपुरसँग भने, 'र, भाग्यवश हामी सफल भयौं ।' डा. कोइरालाले भने, 'यसको उपचारको प्रमुख श्रेय मोतीमायाको प्राथमिक उपचार गर्ने स्वास्थ्यकर्मीलाई जान्छ, जसले लट्ठीलाई हटाउने प्रयास नगरी प्राथमिक उपचार गरी बिरामीलाई हामीकहाँ पठाए ।' उनका अनुसार लट्ठी निकाल्ने प्रयास गरेको भए तत्काल बिरामीको मृत्यु हुने थियो । कोइराला भन्छन्, 'दुर्घटनामा लट्ठी, रड वा अन्य वस्तुले कुनै पनि अंग छेड्दा त्यो वस्तु आफैंले निकाल्नतर्फ नलागी सुरक्षित रूपमा घाइतेलाई उपचार केन्द्रमा पुर्‍याउनुपर्छ ।'

'गाउँघरमा त्यस्ता वस्तु सामान्यतया आफैंले निकाल्ने गरेको देखिन्छ,' एक अर्का चिकित्सकले भने, 'यस्तो प्रकृतिका दुर्घटनामा घटनास्थलमै मृत्यु हुने गरे पनि मोतीमाया अत्यन्त भाग्यमानी रहिछन् ।'

शल्यक्रियामा चिकित्सक कोइरालालाई डा. सिद्घार्थ प्रधान, डा. रञ्जन सापकोटा, परफ्युनिस्ट महेन्द्र भट्ट र एनेस्थेसियातर्फ प्रा.डा. रोशन अमात्य लगायतले सघाएका थिए । शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार चिकित्सा इतिहासमा यस्तो स्थितिको शल्यक्रिया र रोगी पूर्ण निको भएको घटना अत्यन्त दुर्लभ हो । टीकाको दिन बिहान ९ देखि साँझ ५ बजेसम्म ८ घन्टा लगाएर कोइरालाको टोलीले गहन शल्यक्रिया गरेको थियो । उनीहरूले मुटुको चाललाई बन्द गरेर त्यसलाई खोलेर लट्ठी निकाली पुनः मुटुलाई बन्द गरेका थिए ।

मुटु भित्र र फोक्सोको घाउ निको भए पनि हाल बाहिर छालामा भएको घाउ प्राविधिक कारणले खुला राखिएको छ । तर पनि तामाङ पूर्ण स्वस्थ हुनुका साथै अस्पतालबाट डिस्चार्ज हुने तयारीमा छिन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks