Loving nepal news

Wednesday, November 10, 2010

सबै सन्तानमा सात वर्ष पुगेपछि अन्धोपन

शंकर खरेल

सुनसरी, कार्तिक २४ - सुनसरी इटहरीस्थित एक मध्यम वर्गीय परिवारका सदस्यमा एक निश्चित उमेरमा अन्धोपनको सिकार भएका छन् ।

इटहरी-२ का लक्ष्मण र मनमाया तामाङका सन्तान ७ वर्ष पुग्नासाथ अन्धोपनको सिकार भएको हेर्न दिनहुँ भीड लाग्ने गरेकोछ । चौथों सन्तान पनि नेत्रहीन हुने डरले परिवारजनले सरकारीस्तरबाट यसको जाँच हुनुपर्ने माग गरेपछि भीड बढ्न थालेको हो ।

तामाङ् जोडीका दुई छोरी र एक छोरा ७ वर्ष पुग्नासाथ आँखा देख्न छाडेका हुन । २०४८ सालमा जन्मिएकी जेठी छोरी अस्मिता ७ वर्ष पुगेदेखि आँखा देख्न छाडिन् ।

पहिलो सन्तानले आँखा नदेखेपछि उनीहरुले एक लाखभन्दा बढी उपचारमा खर्च गरे । दोस्रो सन्तानका रुपमा जन्म लिएका छोरा सरोजले आँखा देख्न छाडेको ७ वर्ष भइसक्यो । ९ वर्षीय छोरी सुस्मिताको आँखा गुमेको पनि २ वर्षभयो ।

'हामी आफै छक्क परेका छौ' आमा मनमायाले गहभरी आँशु झार्दै भनिन, 'लौ न बाबुहरु के भएको हो पत्ता लगाउनु पर्‍यो ।'

तामाङ् दम्पत्तीको काखमा यतिबेला अढाई वर्षका छोरा राजीव छन् । उनी अहिले आँखा देख्छन् । 'हामीलाई यो छोराको पनि पीर लाग्न थालेको छ' बाबु लक्ष्मण भन्छन- 'जहाँ उपचार गर्न गयो त्यहाँ यसको जवाफ नै पाईदैन ।'

उनीहरुसित अस्पतालमा जाँच गरेको रिपोर्ट छ । कतीपय कागजमा 'सरी' लेखिएको छ । 'डाक्टरहरुले पैसा खर्च नगर्नोस् भन्छन' तामाङ् जोडी एकै स्वरमा भन्छन- 'कतीले वंशानुगत भने तर, हाम्रो परिवारमा कोही नेत्रहीन थिएनन, कती डक्टरले आश्चर्य व्यक्त गर्दै यो त स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती हो भन्छन ।'

तामाङ् दम्पत्ती छोराछोरीको आँखा उपचारका लागि वीर अस्पताल, तिलगंगा र विराटनगरको रामलाल गोल्छा नेत्र चिकित्सालय पुगिसकेका छन् । उनीहरुले अस्पतालमा मात्र ३ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks