हिमेशरत्न वज्राचार्य/अजय हमाल
गोन्जाउ, कार्तिक २७ - चिनियाँ व्यापारिक सहर गोन्जाउ दस हजार अतिथिलाई स्वागत गर्दै शुक्रबारदेखि सुरु भएको एसियाली खेलकुदको १६ औं संस्करणसँगै नयाँ युगमा प्रवेश गरेको छ । भव्य उद्घाटनसँगै अब एसियाली खेलकुदले पारम्परिक सोचलाई त्यागेर अत्याधुनिक नयाँ अवधारणालाई आत्मसात् गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद इतिहासमै पहिलोपल्ट उद्घाटन समारोह लाखौं दर्शक अगाडि खुला रूपमा आयोजना गरिएको थियो ।
यसका लागि प्रकाश, पानी, आवाज र प्रविधिको गजबको संयोजन गरिएको थियो । उद्घाटन समारोहको रौनकता अन्तिम समयसम्म पनि कायम राख्न कार्यक्रममा हुने प्रस्तुतिबारे केही बताइएको थिएन । लेजर प्रविधिको मदतले खुला आकाश र त्यसमुनि विभिन्न आकृति बनाइएको थियो । पर्ल नदीको सिरानीका रूपमा रहेको खुला हैझिङ्स रंगशालामा अपूर्व र रहस्यमय ढंगले उद्घाटन समारोह गरिएको थियो । सुरुमै आकर्षक आतिशबाजी गरिएको थियो र यो क्रम पूरा समारोहमा जारी रह्यो । सहभागी ४५ देशको प्रतिनिधित्व गर्ने गरी ४५ डुंगालाई सजाइएको थियो ।
अरू बेला बन्द रंगशाला दुलही जस्तो सजाइएको हुनेमा यसपल्ट पर्ल नदीको छेउछाउ लगभग दस किलोमिटरले ओगेटेको स्थान प्रकाशमय बनाइएको थियो । शुक्रबारको उद्घाटन समारोह दुई वर्ष अगाडि चिनियाँ राजधानी बेइजिङमा भएको ओलम्पिक खेलकुदको सुरुआतभन्दा राम्रो मानिएको छ । दुवै कार्यक्रमका संयोजक चेन वईले गरेका थिए र उनले एसियाली खेलकुदलाई ओलम्पिक जत्तिकै आकर्षित पार्न कुनै कसर बाँकी राखेनन् ।
आयोजकले प्रतियोगिताको आतिथ्य गर्नुपछाडि आफ्ना जनतालाई सभ्य र सुशील बनाउन चाहेको दाबी गरेको छ । त्यसैले उद्घाटन अवसरमा शान्ति र प्रकृति बचाउने नारा मुखरित बनाइएको थियो । दस किलोमिटर वरिपरिका गगनचुम्बी घर प्रकाशमय भएका थिए । पर्ल नदीकै छेउमा गोन्जाउ सहरको सभ्यता विकास भएको मानिन्छ । हैझिङ्स रंगशालाको अगाडिको भागको एक सतह पानीले डुबेको थियो ।
त्यसै पानीमा चिनियाँ इतिहास, संस्कृति तथा विशेषता बोकेका नृत्य र गायन प्रस्तुत गरिएको थियो । रंगशालाको ठीकअगाडि रहेको विशाल पर्दामा विशेष प्रविधि मदतले झुन्डिएर रहेकाले आकर्षक नृत्य गरेका थिए । रंगशाला अगाडिको भागमा आवश्यक परेको बेला पानीको सतह पनि घटाउन मिल्थ्यो र त्यस्तै अवसर सिर्जना गरेर प्रतियोगितामा सहभागीले मार्चपाससमेत गरेका थिए ।
त्यसपछि खेलाडी पानीको फोहोराले बनेको द्वारबाट बाहिर निस्केका थिए । मार्चपास अफगानिस्तानबाट सुरु भएर आयोजक चिनियाँ टोलीमा गएर टुंगेको थियो । नेपाली टोलीको नेतृत्व भारोत्तोलन खेलाडी कमल अधिकारीले गरेका थिए । उनले नेपाली राष्ट्रिय झन्डा बोकेर टिमको अगुवाइ गरेका थिए । उनका पछाडि खेलाडी, प्रशिक्षकसहित राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीका शीर्ष पदाधिकारी सहभागी थिए ।
अन्त्यमा पूर्वडाइभिङ च्याम्पियन हे चाङले पनि नयाँ शैलीमा एसियाली ज्योति प्रज्वलित गरेका थिए । नेपालले प्रतियोगिताका २० खेलमा सहभागिता जनाउनेछ र त्यसमा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको उद्घाटन विश्वकै सर्वाधिक शक्तिशाली मानिएका चिनियाँ राष्ट्रपति हु झिन ताओले गरेका थिए । अहिलेको प्रतियोगिता एसियाली खेलकुद इतिहासमा सर्वाधिक सहभागिता भएको प्रतिस्पर्धाका रूपमा रहेको छ ।
अब प्रतियोगिताको दोस्रो दिन शनिबारदेखि औपचारिक रूपमा प्रतिस्पर्धा सुरु हुनेछ । फुटबलका खेल भने यसअघि नै सुरु भइसकेका छन् । पछिल्लो समय एसियाली खेलकुद शक्ति रहेको चीनले घरमै आयोजना भएको एसियाडमा पनि बलियो प्रदर्शन गर्ने विश्वास गरिएको छ । चीनले एसियाली खेलकुदको आयोजना गरेको दोस्रोपल्ट हो । गोन्जाउ एसियाड अहिलेसम्मकै ठूलो सहभागिता रहेको प्रतियोगिता हो । प्रतियोगितामा ३ हजार ९ सय ८९ पदकका लागि ४५ देशका ९ हजार ७ सय ४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks