Loving nepal news

Thursday, November 25, 2010

सत्ता बार्गेनिङको हतियार नबनाउन लडाकुको चेतावनी * समायोजन छिटो टुंग्याउन माग

सरोजराज अधिकारी र गंगा बीस

पालुङटार, गोरखा-, मंसिर १० - माओवादी सेनाका अधिकांश लडाकुले जारी केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकमा बोल्ने क्रममा समायोजन प्रक्रिया छिटो टुंग्याउन नेतृत्वसमक्ष माग गरेका छन् ।

सेना समायोजनबारे अहिले पार्टीले ल्याएको प्रस्ताव लागू हुन्छ कि हुँदैन स्पष्ट धारणा ल्याउनुपर्नेमा उनीहरूले जोड दिएको स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनले जनाए ।

'अधिकांश साथीबाट यो प्रक्रिया धेरै लम्ब्याउनु हुँदैन, हुने भए हुनेतिर लाग्नुपर्‍यो नहुने भए पनि त्यस दिशामा पार्टीले स्पष्ट धारणा ल्याउनुपर्‍यो भन्ने धारणा आएको छ,' उनले कान्तिपुरसित भने, 'सेना समायोजनबारे पार्टी स्पष्ट दृष्टिकोणसाथ अगाडि आउनुपर्छ भन्नेमा उहाँहरूको जोड थियो ।'

बैठकमा बोल्ने क्रममा कतिपय लडाकुले आफूहरू क्रान्तिको मेरुदण्ड भए पनि सत्ता बार्गेनिङको हतियारका रूपमा प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

'हामीलाई सत्ता बार्गेनिङको हतियार नबनाउनुहोस् । अध्यक्षको राष्ट्रियताको लडाईं सत्ताको बार्गेनिङजस्तो देखिएको छ । यदि त्यसो हो भने यो मण्डले राष्ट्रवाद हो,' उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई पक्षधर लडाकुको भनाइ थियो ।

अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले भने उपाध्यक्ष वैद्यको संकीर्णताका कारण पार्टीमा गुटबन्दी देखा परेको र अर्का उपाध्यक्ष भट्टराईले दक्षिणपन्थी भासमा लैजान खोजेको आरोप लगाएका थिए ।

'यसले गर्दा पार्टी अनुशासनहीन बन्दै गएको छ । पार्टीभित्रका केही मतभेदलाई बाहिर लैजानेमाथि कारबाही गर्नुपर्छ,' अध्यक्ष पक्षधर दोस्रो डिभिजनका कमान्डर सुकबहादुर रोकाले भने, 'अहिलेको परिवेशमा अध्यक्षको कार्यदिशा नै वस्तुनिष्ठ र वैज्ञानिक भएकाले पार्टी त्यही दिशामा अघि बढ्नुपर्छ ।

उपाध्यक्ष भट्टराई पक्षधर पहिलो डिभिजनका सहायक कमान्डर हरिबहादुर क्षेष्ठले तीन दस्तावेजलाई इंगित गर्दै पार्टीले तीनवटा अत्याधुनिक राइफल दिएको र त्यसमध्ये उपाध्यक्ष भट्टराईको राइफलले सही निसाना लगाउने बताए । 'वैद्य कामरेडको राइफलले निसाना त लाग्छ तर ब्यारेल भाँचिने खतरा छ,' उनले फौजी भाषामा भने, 'अध्यक्षको राइफलले त निसाना नै लाग्दैन ।'

पहिलो डिभिजनकै बि्रगेड सहायक कमान्डर विवस राईले 'चेन अफ कमान्ड' का कारण साथीहरू खुल्न नसकेको बताए । 'अध्यक्ष दाहालबाट एक्काइसौं शताब्दीको जनवादलाई कुल्चेर विचारको बहसमा रोक लगाउने काम भएको छ,' वैद्यपक्षधर उनले भने । सैन्य इन्चार्ज पुनले 'चेन अफ कमान्ड' लादेको र धम्की दिएको कुरा कल्पना पनि गर्न नसकिने बताए ।

'सेनालाई पनि जनवादको आवश्यकता पर्छ, सबै साथीहरूले त्यही रूपमा जनवादको अभ्यास गर्नुभएको छ । यसबाट सेनामा हाम्रो पक्षमा कोही छैन कि भन्ने अन्य नेताहरू आफूप्रति पनि आस्था, विचार राख्ने रहेछन् भन्ने थाहा पाएर सन्तुष्ट हुनुहुन्छ,' उनले भने, 'नेताहरूमाथि कतिपय ठाउँमा सेनाले साथ दियो, दिएन भन्ने प्रेसर

थियो अब त्यसको पनि अन्त्य हुनेछ ।' उनले दोस्रो डिभिजनबाट सहभागी एक सय ४ मध्ये अरू दस्तावेजका पक्षधर नभएर अध्यक्ष पक्षधर एक जनालेमात्र बोलेको प्रष्टीकरण दिएका थिए ।

माओवादी सेनाका तर्फबाट तीन दस्तावेजभन्दाबाहेक स्वतन्त्र विचार राख्ने पनि थिए । उनीहरूले पार्टी एकताबद्ध हुनुपर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर जनयुद्ध, जनआन्दोलनका कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए । 'युद्धमा धेरै रगत बगायौं, बलिदानी गर्‍यौं अहिले नेताहरूमा देखिएको गुटबन्दीले क्रान्तिका उपलब्धि गुम्ने खतरा बढेको छ । नेताहरू मिल्नुहोस् नत्र हामी नेता बन्छौं, लड्छौं र क्रान्ति सम्पन्न गर्छौं,' तेस्रो डिभिजनका बटालियन कमान्डर रवीन्द्रले भने ।

माओवादीका सातै डिभिजनका कमान्डरहरू अध्यक्ष पक्षधर छन् । एकदेखि सातसम्म क्रमश: यमबहादुर अधिकारी, सुकबहादुर रोका, धनबहादुर मास्की मगर, तेजबहादुर वली, राजबहादुर बुढा, महेन्द्र शाही र सन्तु दराई कमान्डर छन् । पाँचौं डिभिजन कमान्डर कालीबहादुर खाम निलम्बनमा रहेकाले उनको स्थानमा राजबहादुर निमित्त कमान्डर छन् । तेजबहादुर, सन्तु, धनबहादुर केन्द्रीय सदस्यसमेत रहेकाले नबोलेका हुन् । बैठकमा केन्द्रीय सदस्यलाई बोल्न नदिने नीति माओवादीले लिएको छ ।

कसले कसको पक्षमा बोले ?

पहिलो डिभिजनबाट

दाहाल: यमबहादुर अधिकारी, डिभिजन कमान्डर

वैद्य : विवस राई, बि्रगेड सहायक कमान्डर

भट्टराई : हरिबहादुर श्रेष्ठ

दोस्रो डिभिजनबाट

दाहाल : सुकबहादुर रोका, डिभिजन कमान्डर, अरू पक्षधर भेटिएनन्

तेस्रो डिभिजनबाट

दाहाल : प्रदीप तामाङ, बि्रगेड कमान्डर

वैद्य : उदयबहादुर चलाउने, डिभिजन

सहायक कमान्डर

भट्टराई : श्रवण, बटालियन कमान्डर

स्वतन्त्र : रवीन्द्र, बटालियन कमान्डर

चौथो डिभिजनबाट

दाहाल : सुरेश पहाडी, बि्रगेड कमान्डर

वैद्य : वासुदेव घिमिरे, डिभिजन सहायक कमान्डर

भट्टराई : डम्मर ठकुरी, बटालियन कमान्डर

पाँचौं डिभिजनबाट

दाहाल : राजबहादुर बुढा, डिभिजन

निमित्त कमान्डर

वैद्य : रामलाल रोका, डिभिजन सहायक कमान्डर

स्वतन्त्र : रायन

छैटौं डिभिजनबाट

दाहाल : महेन्द्र शाही, डिभिजन कमान्डर

वैद्य : विवेक कुँवर, डिभिजन सहायक कमान्डर

सातौं डिभिजनबाट

दाहाल : जीवन बुढा, डिभिजन सहायक कमान्डर

वैद्य : हिमाल, बि्रगेड कमान्डर

भट्टराई : संघर्ष, बटालियन कमान्डर

माओवादी सेना मुख्यालयबाट

दाहाल : वीरेन्द्र बुढा, डिभिजन सहायक

कमान्डर, अरूका छैनन्

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks