Loving nepal news

Friday, November 19, 2010

ऐश्वर्या विवादित


कान्तिपुर संवाददाता

मुम्बई (एजेन्सी), मंसिर ३ - केही समयअघि मात्रै फिल्म 'धुम-२' मा चुम्बन दृश्य दिएर चर्चामा आएको हृतिक रोशन र ऐश्वर्या रायबीचको जोडी पछिल्लो समयमा सञ्जयलिला भन्साली निर्देशित फिल्म 'गुजारिस' मा पनि यौनिक संवादका लागि चर्चाको शिखरमै छ ।

आउँदो शुक्रबार रिलिजको तयारीमा रहेको उक्त फिल्मले पहिल्यै चर्चा कमाएर मक्ख परिरहेका निर्मातालाई भने अहिले झट्का लागेको छ । फिल्मको प्रमोसनका लागि हालै सार्वजनिक गरिएको नायिका ऐश्वर्याले चुरोट पिउँदै गरेको तस्बिर विवादमा परेको छ ।

पूर्वविश्व सुन्दरीसमेत रहेकी ऐश्वर्याले चुरोट पिएको उक्त पोस्टरले सेलिब्रेटीको नक्कल गर्न मन पराउने युवापुस्तामा गलत सन्देश जान सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले चर्को विरोध गरेपछि फिल्म युनिट समस्यामा परेको हो ।

ऐश्वर्याले चुरोट पिएको प्रसंगलाई रमाइलोका लागि मात्रै राखिएको दाबी गर्दै 'गुजारिस' का सहनिर्माता सिद्धार्थ कपुरले त्यसलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् । फिल्ममा नर्सको भूमिकामा देखिने नायिकाले नायकलाई देखाउनकै लागि एकसर्को तानेकी हुन्छिन् । तर उक्त पोस्टर विवादमा आएपछि ऐश्वर्याले पनि मुख खोलेकी छन् ।

'तपाईंहरूले पनि देख्नुहुनेछ, मैले चुरोट पिउने कोसिस गर्दा के हुन्छ भन्ने' उनले तस्बिरमा मात्रै नभई पूरै दृश्यमा ध्यान दिन आग्रह गर्दै भनिन्, 'जब मैले पिएँ, निसासिएर खोकी लाग्यो अनि आँखाभरि आँसु पनि ।' फिल्ममा चुरोटको अम्मली रहेका नायकलाई त्यसको लत छुटाउन प्रोत्साहन गरिरहे पनि नमानेपछि आफैंले पिएर त्यसको असर देखाएकी हुन्छिन् ।

तर फिल्म रिलिजको दिन शुक्रबार डाक्टरहरूको गैरनाफामुखी एक संस्था 'डक्टर्स फर यू' का सदस्यले विरोध गर्ने जनाएपछि 'गुजारिस' निर्देशक भन्साली आफ्नो फिल्मले कतै पनि धूमपानलाई ग्राह्यता नदिएकाले बुझिदिन आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks