Loving nepal news

Tuesday, November 23, 2010

राष्ट्रसंघीय टोलीले दाहाललाई सोध्यो-अनमिन गएपछि के हुन्छ ?

राष्ट्रसंघीय टोलीले दाहाललाई सोध्यो-अनमिन गएपछि के हुन्छ ?

पालुङटार (गोरखा), मंसिर ८ - राष्ट्रसंघीय सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पुस मसान्तमा अनमिनको समयावधि सकिएपछि शान्ति प्रक्रिया के हुन्छ भनी प्रश्न गरेको छ । नेपाल भ्रमणक्रममा माओवादी अध्यक्ष दाहाललाई भेट्न मंगलबार गोरखाको पालुङटार आएको राष्ट्रसंघको सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी कार्यसमूहका अध्यक्ष क्लाउड हेलर नेतृत्वको टोलीले यस्तो प्रश्न गरेको हो । टोलीमा अनमिन प्रमुख करिन लनग्रेन र सुरक्षा परिषद्का स्थायी राष्ट्रका प्रतिनिधि थिए ।

'अनमिनको समयावधि सकिएपछि शान्ति प्रक्रिया, सेना समायोजनलगायत विषयमा के हुन्छ भनेर जिज्ञासा राख्नुभो,' भेटबारे माओवादी अध्यक्ष दाहालले भने, 'हामीले यो प्रक्रिया छाड्दैनौं, यसलाई निरन्तरता दिन्छौं भन्यौं । विस्तारित बैठकपछि सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अनमिन रहँदै निष्कर्षमा पुगिने, नभए एउटा विकल्प खोजिने र यो प्रक्रिया अगाडि बढाउन राष्ट्रसंघले हामीलाई मद्दत गरिरहनुपर्छ भन्यौं ।'

राष्ट्रसंघीय टोलीले अनमिन रहँदै शान्ति प्रक्रियाबारे निष्कर्षमा पुग्न आग्रह गरेको थियो । 'दलहरूले शान्ति प्रक्रियाबारे गहन छलफल गरी छिट्टै निष्कर्षमा पुर्‍याउनेमा म विश्वस्त छु,' टोली प्रमुख हेलरले भने । माओवादीले भने भारतले अहिले सबै कुरा रोकेको र अनमिन गइसकेपछि आफूले जस लिन यो प्रक्रियामा बाधा हालेको धारणा राखेको स्रोतले बतायो ।

यसैगरी टोलीले बहिर्गमन भइसकेका जनसेनाका कम उमेरका अप्रमाणित लडाकुको भविष्यका विषयमा समेत छलफल गरेको स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनले जानकारी दिए । 'उहाँहरूले अयोग्य, त्यसमा पनि नाबालक भनिएका जनमुक्ति सेनाका सदस्यको हकमा माओवादीले राम्रो काम गरेकामा धन्यवाद दिन पनि आएका हौं भन्नुभयो,' उनले भने, 'बहिर्गमन भएका लडाकुलाई पुनःस्थापना प्याकेजमा प्रेरित गर्न पनि आग्रह गर्नुभयो ।'

नेपाल पनि विश्वमा हिंसा र सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गर्ने मुलुकको सूचीमा रहेको र त्यसमा माओवादीसमेत मुछिएको जनाउँदै पुनले राष्ट्रसंघीय टोलीले त्यसबाट आगामी अपि्रलसम्म नेपाल र माओवादीलाई हटाइने बताएको जनाए । सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकासम्बन्धी राष्ट्रसंघीय महासचिव बान कि मुनकी विशेष प्रतिनिधि राधिका कुमारास्वामी गत वर्ष नेपाल आएका बेला १६ देखि १२ वर्षका बालबालिकाको भविष्यबारे सरकार र माओवादीबीच 'सिक्सटिन टु ट्वेल्भ एक्सन प्लान' मा सहमति भएको थियो ।

त्यसबेला कम उमेरका सहित चार हजार आठ अप्रमाणित लडाकुको बहिर्गमनबारे माओवादी र सरकाबीच सहमतिसमेत भएको थियो । तीमध्ये २९ सय ७३ जना शिविर छोड्दाका बेला १८ वर्ष मुनिका थिए । पछि माओवादीले सरकारसँगको केही मतभिन्नताका कारण अप्रमाणित लडाकुलाई एकतर्फी रूपमा शिविरबाट बाहिर निकालेको थियो । केही अप्रमाणित पुनःस्थापनाको प्याकेजमा सहभागी भए पनि अधिकांश सम्पर्कविहीन छन् ।

अनुगमन संयन्त्रको प्रतिवेदनले नाबालक लडाकुको व्यवस्थापन राम्रो नभएको र केही अहिले पनि पार्टीको चेन अफ कमान्डमा रहेकामा राष्ट्रसंघीय टोलीले चिन्ता व्यक्त गरेको थियो । राष्ट्रसंघीय टोलीले शिविरको गतिविधि हेर्न चाहेकाले बुधबार उनीहरूलाई इलामको चुलाचुलीस्थित प्रथम डिभिजन भ्रमणको व्यवस्था मिलाइदिएको उनले जानकारी दिए ।

राष्ट्रसंघीय टोलीले उपाध्यक्ष बाबुराम भट्टराई, स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनसँग छुट्टै र त्यसपछि करिब आधा घन्टा सैन्य इन्चार्ज पुन, माओवादी सेनाका पूर्वडेपुटी कमान्डर तथा पोलिटब्युरो सदस्य जनार्दन शर्मा, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल र वाईसीएल संयोजक गणेशमान पुनसँग छलफल गरेको थियो ।
सरोजराज अधिकारी

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks