योगेश खतिवडा
काठमाडौ, मंसिर १५ - सुनचाँदीको भन्सार बजेटले बढाएको डेढ सातापछि वाणिज्य मन्त्रालयले मंगलबारदेखि आयातमा लागेको प्रतिबन्ध हटाएको छ । मन्त्रालयले वाणिज्य बैंकमार्फत मात्र आयात गर्न खुला गरेको हो ।
'सुनचाँदी आयात खुला भएको छ,' वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, 'राष्ट्र बैंकको निगरानीमा वाणिज्य बैंकले मात्र सुनचाँदी आयात गरी बिक्री गर्न सक्नेछन् ।' उनले विदेशी मुद्रा सञ्चितिलाई मितव्ययी गर्न राष्ट्र बैंकको निगरानीमा वाणिज्य बैंकले मात्र सुनचाँदी आयात गर्न सक्ने व्यवस्था गरिएको बताए ।
बैंकहरूले सुनचाँदी आयात सुरु गर्नुअघि राष्ट्र बैंकले आयात तथा बिक्री गर्ने कार्यविधि तयार गर्ने उनले बताए । 'त्यही कार्यविधि अनुसार बैंकहरूले सुनचाँदी आयात गर्नेछन्,' उनले भने । मन्त्रालयले आयात, आपूर्ति र बिक्री वितरणको हरेक महिना समीक्षा गर्ने निर्णयसमेत गरेको छ । 'वाणिज्य र राष्ट्र बैंकका प्रतिनिधि बसेर हरेक महिना आयात, आपूर्ति र बिक्री वितरणको समीक्षा हुन्छ,' उनले थपे ।
राष्ट्र बैंकका एक अधिकारीले यसरी सुन आयातको व्यवस्था गर्न आफूहरू तयार भएको बताए । उनका अनुसार बैंकहरूले राष्ट्र बैंकले तोकेको दैनिक कोटाअनुसार सुन आयात गर्नेछन् । 'केही दिनअघि वाणिज्यसँग भएको छलफलमा आयातको एक विकल्पमा वाणिज्यले गरेको निर्णयजस्तै हुन सक्ने बताएका थियौं,' ती अधिकारीले भने, 'निर्णय नै भएको जानकारी भने आएको छैन ।' वाणिज्य मन्त्रालयबाट जानकारी पाएपछि आयात र बिक्री वितरणको व्यवस्थापनको कार्यविधि तयार गरिने उनले बताए ।
'सुनचाँदी आयातमा प्रतिबन्ध लगाउनुअघि पनि केन्द्रीय बैंकले आफ्नो निगरानीमा वाणिज्य बैंकमार्फत सुन ल्याउन दिएको थियो,' उनले भने, 'अब पनि त्यस्तै प्रक्रियामा सुनचाँदी आयात हुन्छ ।' आयात प्रतिबन्ध हुनुअघि वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन र १ सय किलो चाँदी आयात गर्न पाउँथे । 'अहिले भन्सार बढेकाले यो कोटा केही बढ्छ,' उनले भने ।
राष्ट्र बैंकले यसै साताभित्र आयात तथा बिक्रीसम्बन्धी कार्यविधि बनाउने भएको छ । 'नयाँ आयात पनि पहिलेकै कार्यविधिअनुसार हुने भएकाले त्यसैमा केही बुँदा मात्र मिलाउनुपर्छ,' उनले भने, 'त्यसैले यसै साता कार्यविधि ल्याउन सकिन्छ ।' तीन वर्षअघिसम्म वाषिर्क १०/१२ अर्बको सुन आयात हुने गरेकामा अघिल्लो वर्ष उच्च वृद्धि भई ४५ अर्ब पुगेपछि विदेशी मुद्रा सञ्चितिमा मितव्ययिता अपनाउन नयाँ व्यवस्था ल्याइएको उनले बताए ।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले नयाँ व्यवस्थाले भाउ बढ्ने बताए । बैंकले ल्याउँदा उनीहरूले लिने नाफासमेत थपिने र भन्सार १० ग्राममा १ हजार रुपैयाँ थपिँदा भाउ बढ्ने उनले बताए । यसअघि बैंकले १० ग्राममा ५ सय रुपैयाँ नाफा लिने गरेको उनले बताए । 'सरकारले गर्न खोजेको के हो ?' उनले भने, 'बैंकले समेत बढी कमिसन लिने भएकाले अब उपभोक्ताले अझै धेरै मूल्य तिर्नुपर्छ ।'
बैंकहरूले यसअघि धेरै नाफा लिएर बेच्ने गरेको भन्दै उनले थपे, 'पहिलेको भन्दा केही कोटा बढाउँदैमा बजारको माग धान्दैन । अवैध रूपमा भारतबाट आउँछ । जसका कारण सरकारले राजस्व गुमाउँछ ।' वाणिज्यले अध्ययन गरेर खुला गर्ने भने पनि अध्ययनै नगेको उनको दाबी छ ।
व्यवसायी निर्मल ज्योतिले नयाँ व्यवस्था मौदि्रक नीति विपरीत भएको बताए । 'नीतिमा सुनचाँदी व्यवसायी संघको सिफारिसमा व्यवसायीले तोकिएको परिणामा सुन ल्याउन सक्ने व्यवस्था छ,' उनले भने, 'नयाँ व्यवस्था सरासर यसको प्रतिकूल भयो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks