Loving nepal news

Wednesday, November 24, 2010

माओवादी बिस्तारित बैठकमा पदीय प्रभाव / दाहाल बलियो


सरोजराज अधिकारी र कृष्ण आचार्य

पालुङ्टार (गोरखा), मंसिर ९ - माओवादीमा जनवर्गीय संगठन, राज्य समितिलगायतका महत्वपूर्ण पदीय जिम्मेवारीमा अध्यक्ष पुष्पकमल दाहाल पक्षधरको बाहुल्यता भएकाले त्यसको प्रभाव बिस्तारित बैठकमा पनि देखिएको छ । अध्यक्ष पक्षधर नेताहरुले सहभागीमाझ गरेको लबिङका कारण बैठकमा त्यसको प्रभाव देखिएको हो ।

खासगरी माओवादीको महत्वपूर्ण शक्ति मानिएको जनसेना, वाइसीएलजस्ता संगठनमा अध्यक्ष दाहाल पक्षधरको बर्चश्व नै छ । फरक विचार पक्षधरले यसलाई अध्यक्ष दाहालको पार्टीमा प्रभाव जमाउने रणनीतिक चाल भएको र समयक्रमसंगै यिनको नेतृत्व सन्तुलित बन्दै जाने बताएका छन् ।

सात सदस्यीय पदाधिकारीमा अध्यक्षसहित उनको पक्षमा चार र सोह्र सदस्यीय स्थायी समितिमा सात जना छन् । पछिल्लो समय महासचिव रामबहादुर थापाले पनि सघाएकाले अध्यक्षनिकटको संख्या बढेको हो । राज्य समितिका सदस्यहरुसम्मिलित बिस्तारित बैठक भइरहेका बेला भूगोलका आधारमा छुट्याइएका १३ मध्ये सात वटा राज्य समितिका इन्चार्ज अध्यक्ष दाहाल पक्षधर छन् ।

यसैगरी बैठकका करिव ५५ सयमध्ये ११ सय १० माओवादी सेनाबाट प्रतिनिधिका रुपमा सहभागी छन् ।

सेनाका इन्चार्ज, वर्षमान पुन, कमाण्डर नन्दकिशोर पुन र डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल तिनै जना महत्वपूर्ण व्यक्ति अध्यक्ष दाहाल पक्षधर हुन् । यतिमात्र नभएर माओवादी सेनामा प्रभाव राख्ने पूर्वडेपुटी कमाण्डर जनार्दन शर्मा पनि अध्यक्षको पक्षमा लबिङ गरिरहेका छन् ।

बैठकमा फरक प्रस्ताव पेस गरेका माओवादी उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराई पक्षधर लडाकुलाई आफ्नो बेग्लै धारणा नराख्न र अध्यक्षको प्रस्तावको विरोध नगर्न सेनाका दाहाल पक्षधर नेताहरुले दबाव दिएको स्रोतले बतायो । सेनाको आफ्नै 'चेन अफ कमाण्ड' हुने भएकाले त्यसविपरीत जान नहुने र गए कारवाहीसमेत हुनसक्ने भन्दै माओवादी सेनाको नेतृत्व पंक्तिले उनीहरुलाई अध्यक्षकै प्रस्तावलाई समर्थन गर्न दबाव दिएको सहभागी एक लडाकुले कान्तिपुरलाई बताए । अन्तिममा समय अभाव भयो भन्दै बोल्नै नदिने रणनीतिमासमेत रहेको उनले जनाए ।

भट्टराईनिकट स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भने अहिलेको युगमा कसैको वाक स्वतन्त्रतालाई रोक्न नसकिने बताए । 'कसैले चाहेर पनि विचार रोक्न सक्दैन । सहभागी जनसेनाका सदस्यले पनि आफ्ना विचारहरु राख्नुहुनेछ,' उनले भने । साना ठूला गरी तीस वटा राज्य समितिका प्रतिनिधि सहभागी बैठकमा पूर्वलडाकूलाई समेत समेटेर बनाइएको माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) का सदस्यको पनि उल्लेख्य उपस्थिति छ ।

माओवादी स्रोतका अनुसार प्रत्येक राज्य समिति मुख्यालयका १५ देखि २० र केन्द्रका गरी करिव सात सय वाइसीएल सदस्य बैठकमा सहभागी छन् । वाइसीएल पनि लगभग अध्यक्ष दाहाल पक्षधरको कब्जामा छ । वाईसीएल संयोजक गणेशमान पुन, सह-संयोजकद्वय राजु खड्का र उमा भुजेल तीनै जना अध्यक्ष पक्षधर हुन् । अध्यक्षपछि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा उपाध्यक्ष मोहन वैद्यनिकट व्यक्तिको बाहुल्यता छ ।

'उपाध्यक्ष भट्टराईले फरक दस्तावेज ल्याएर खाता खोलेको दुई महिनामात्र भएको छ । यति छोटो समयमै बैठकमा उहाँको यति धेरै प्रभाव देखिइसकेको छ । यो बढ्दो क्रममा छ । त्यसैले पुरानो खाता भएकासंग तुलना गर्न मिल्दैन,' रायमाझीले भने, 'फेरि राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा उहाँको छबी निकै राम्रो छ । पार्टीभित्र पनि यसको प्रभाव देखिनेछ ।'


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks