गोकर्ण अवस्थी
काठमाडौ, कार्तिक २८ -
साउदी अरबका राजकुमार अल वालिद विन तलालको नेपाल भ्रमणका क्रममा सरकारले जलविद्युत्, पर्यटनजस्ता क्षेत्रमा लगानीका अवसरबारे जानकारी गराउने छ । तीनदिने भ्रमणमा शनिबार आइपुगेका विश्वका १९ औं धनी तलालसँग नेपाली मन्त्रीहरूको समूहले लगानीसँगै वैदेशिक रोजगारका अवसर र सुरक्षाबारे पनि छलफल गर्नेछन् ।
राजकुमार तलाललाई परराष्ट्र सचिव मदनकुमार भट्टराईले स्वागत गरे । उनी दुई निजी विमानमार्फत ३६ जनाको टोली नेतृत्व गर्दै आएका छन् । हयात रिजेन्सी होटलमा राजकुमार ड्रुक एयरबाट आइतबार बिहान भुटान गएर त्यही साँझ काठमाडौं र्फकने छन् ।
निजी भ्रमणका लागि नेपाल आएका राजकुमार तलालले सोमबार राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाललगायत मन्त्रीहरूसँग समेत भेटघाट गर्नेछन् । खाडी क्षेत्रका वारेन वफेटका नामले समेत चिनिने उनी साउदी राजपरिवारबाट नेपाल भ्रमण गर्ने पहिलो हुन् । वारेन वफेट सेयर लगायतका क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका संसारका तीन ठूला धनीमध्ये हुन् ।
सोमबार परराष्ट्रमन्त्री सुजाता कोइरालाले आयोजना गर्ने दिवाभोजमा राजकुमार तलालसँग अन्य चार मन्त्रीले पनि छलफल गर्नेछन् । अर्थमन्त्री सुरेन्द्र पाण्डे, जलस्रोतमन्त्री प्रकाशशरण महत र श्रममन्त्री मोहमद अफ्ताव आलम छलफलमा सहभागी हुने कार्यक्रम छ । 'मन्त्रीहरूले नेपालमा जलविद्युत् र पर्यटनमा लगानीको सम्भावनाबारे जानकारी गराउने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । छलफलको औपचारिक एजेन्डा भने नेपालले तयार पारेको छैन । निजी भ्रमणका क्रममा आएका राजकुमारको समेत औपचारिक भेटघाटको एजेन्डा र लगानीबारेको प्रतिबद्धता भने केही नआइसकेको परराष्ट्र स्रोतले जानकारी दियो । 'छलफलपछि उनको इच्छा हेरेर सोहीअनुसार वातावरण तयार पारिने छ,' स्रोतले भन्यो ।
नेपाली श्रमिकको मुख्य गन्तव्य साउदी अरबमा रोजगारीका थप अवसर र तिनको सुरक्षाका विषयमा पनि नेपाली उच्च अधिकारीहरूले छलफल गर्नेछन् । साउदी अरबमा ३ लाखभन्दा बढी युवा रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगारका आधारमा साउदी नेपालीका लागि तेस्रो ठूलो गन्तव्य हो । करिब १४ खर्ब रुपैयाँ -१९ अर्ब अमेरिकी डलर) का मालिक राजकुमारले पनि नेपालमा लगानीको वातावरणबारे अध्ययन गर्ने सम्भावना रहेको परराष्ट्रले जनाएको छ ।
प्रख्यात बैंक सिटिग्रुपमा समेत ३.५ प्रतिशत सेयर रहेका राजकुमार तलालसँग एयरबस ३२० सहित ४ निजी जेट विमान छन् । उनको कम्पनी किंगडम होल्डिग्स सिटिग्रुपसँगै न्युज कर्पोरेसन, टाइम वार्नर आदिमा लगानी छ । समाचार एजेन्सीहरूका अनुसार करिब २ खर्ब २० अर्ब रुपैयाँ -३ अर्ब डलर) को दरबार र घरजग्गाका मालिक राजकुमार तलालसँग करिब ५४ अर्ब रुपैयाँ -७३ करोड डलर) बराबरको गरगहनाको संकलन छ । तलालको कम्पनीको बैंकिङ, होटल, रियल स्टेटमा मुख्य लगानी छ । नेपाल बसाइका क्रममा दरबार स्क्वायरको अवलोकनसँगै उनी माउन्टेन फ्लाइटमा समेत जाने कार्यक्रम छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks