Loving nepal news

Wednesday, November 10, 2010

कक्षा कोठामै कार्यालय र ओछ्यान पनि


दोलखाको लामाबगरस्थित ठोङठोङ प्राविको एउटा कक्षामा पसियो, जहाँ तीन कुनामा तीन समूहमा बाँडिएर बसेका विद्यार्थी फरक-फरक विषय र फरक-फरक कक्षाका पाठ पढ्दै थिए । बालकक्षा, एक कक्षा र दुई कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउन व्यस्त भेटिए, दुई शिक्षक । अर्को कोठाको हालत त्योभन्दा उदेक लाग्दो भेटियो । त्यो रहेछ कक्षा ३, जुन विद्यालय कार्यालय र शिक्षकहरूको सयन कक्ष पनि रहेछ । जहाँ ओढ्ने ओछ्याउने सहितको खाट थियो भने भुइँमा छरपस्ट खानेकुरा । अलिपर दराजमा विद्यालयका कागजपत्र र पाठ्यसामग्री ।]

राजेन्द्र मानन्धर

लामाबगर (दोलखा), कार्तिक २४ - कोठा अभावले लामाबगरस्थित ठोङठोङ प्राविमा तीन तह अर्थात बाल, एक र दुई कक्षाका विद्यार्थी एउटै कोठामा कोचिए पढ्न बाध्य छन् । एकै कोठमा भए पनि एक तहकाले अर्कोका पठनपाठनमा बाधा नपार्न निकै सजगता अपनाउने गरिएको प्रधानाध्यापक चन्द्रप्रसाद दाहालले बताए । उनले भने, 'कक्षा एकमा घोकाएर पढाउँदा दुईलाई लेख्न दिइन्छ र बाल कक्षाकालाई अनुशासित भई दुवै कक्षा अवलोकन गर्न भनिन्छ ।' त्यसो गर्दा सजिलै तीनवटा कक्षालाई नियन्त्रणमा लिएर पढाउन सकिने अनुभव उनले सुनाए ।

छुट्टै कोठामा राखिएको कक्षा ३ पनि विद्यालयको कार्यालय र शिक्षकको सयन कोठा पनि हो । 'यो कोठामा कक्षा ३ को पढाइ, विद्यालयको प्रशासनिक काम र सयनका रूपमा प्रयोग गर्दै आएका छौं,' प्रअ दाहालले भने ।

गाउँको कुनै पनि घरमा डेरा नपाएकाले शिक्षकहरू विद्यालयमै बस्दै आएका छन् । बस्तीभरि एकतले साना घरमात्र छन् । नबारिएको घरको बीचमा अँगेना छ । चार कुनामा परिवारका सदस्यलाई ठिक्क हुँदा बाहिरियालाई डेरा दिन अप्ठ्यारो छ । 'कहीं डेरा नपाएपछि यहीं बसेका छौं,' दाहालले भने, 'गाउँलेको सानो घरमा परिवार बस्नु कि हामीलाई डेरा दिनु ?' बालकक्षा पढाउने शिक्षिका र प्रअ पति-पत्नी भएकाले उनीहरूलाई विद्यालयमा बस्न सजिलो भएको हो ।

गाउँको ४१ घरका बालकक्षा पढ्ने २० जना विद्यार्थी खोला तर्न नसकेर अनियमित हुन्छन् । एक कक्षामा १५ र दुईमा १६ जना छन् । उनीहरू भने प्रायः आउँछन् । सबै गरी ५१ जनालाई दुइटा कोठामा कोचिएर पढ्नुपर्छ । बालकक्षासहित ५७ जना विद्यार्थी पढ्ने विद्यालयमा एक दरबन्दी र एक बालकक्षा पढाउने शिक्षिका छिन् । तीनकोठे अर्को भवनको खाँचो परेको उनीहरूको भनाइ छ । पुरानो भवन पहिराले लगेपछि विद्यालय यहाँ सारिएको हो । शिक्षा कार्यालय, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र गाविस मिलेर दुई कोठे भवन बनाएपछि विद्यालय सारे पनि कोठाको अभाव भने नहटेको व्यवस्थापन समिति अध्यक्ष सहवीर तामाङ बताउँछन् । जिल्ला शिक्ष्ाा अधिकारी गेहनाथ गौतमले भवनको समस्या भएको विद्यालयलाई प्राथमिकतामा राखिने बताए ।



No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks