Loving nepal news

Tuesday, November 9, 2010

उद्धारमा जाँदा आफैं दुर्घटनामा



शिला पाण्डे

काठमाडौ, कार्तिक २३ - हिमाली क्षेत्रमा जोखिममा परेका दर्जनौं आरोही, पर्यटक र पदयात्रीलाई सकुशल उद्धार गरेका क्याप्टेन सविन बस्नेतले यसपाला आफैंलाई बचाउन सकेनन् । आमादब्लम हिमाल आरोहणमा गएका जर्मन नागरिक डेभिड ६ हजार ३ सय मिटर उचाइमा चिसोले कठ्यांगि्रएपछि सविनको टोलीले आइतबार सकुशल उद्धार गरेर काठमाडौं ल्याएको थियो । अर्का जापानी आरोहीलाई त्यहींबाट उद्धार गर्न जाँदा हेलिकप्टर दुर्घटनामा पर्‍यो, त्यसमै सविन र प्राविधिक पूर्ण अवाले पनि परे ।

निकै अनुभवी फिस्टेलका चिफ पाइलट सविन उद्धारका लागि पर्यटन क्षेत्रमै चिनिएको नाम हो । त्यसैका कारण पाँच महिनाअघि उनलाई नेपालस्थित स्विस दूतावासले उत्कृष्ट उद्धारकर्मी भन्दै सम्मान गरेको

थियो । तर नियतिले यसपाला उनी आफैंलाई छाडेन । 'उचाइका निकै कठिनपूर्ण उद्धारमात्र सविनले एक दर्जनभन्दा बढी सफलतापूर्वक सम्पन्न गरेका थिए,' फिस्टेलका अध्यक्ष विकास राणाले सम्झिए, 'सामान्य उद्धारको संख्या त ५०/६० नाघ्छ ।'

आरोहणपछि गलत रुटबाट फर्केकाले आरोहीहरू अल्मलिँदा अत्यधिक चिसोले बिरामी परेका थिए । 'जापानी आरोही लिन जाँदा ९ एन एआईएक्स (एएस ३५०) हेलिकप्टर अवतरण गर्ने ठाउँमा ठूलो आँधी आएर सन्तुलन बिगि्रयो,' उद्धार विज्ञ लाक्पा ग्ल्याजेन शेर्पाले भने ।

सविनको हेलिकप्टर उद्धारका लागि गएको टोलीमा सामेल लाक्पाका अनुसार हेलिकप्टर सोलुखुम्बुको कोङदेबाट आमादब्लम आधारशिविरतर्फ उडेको थियो । आरोहीहरू थामसेर्कु ट्राभल्सबाट आरोहणमा गएका हुन् ।

जापानी आरोहीलाई भने फिस्टेलकै क्याप्टेनहरू सिद्धार्थ गुरुङ र आशिष शेरचनको टोलीले सोमबारै उद्धार गरेको फिस्टेलका प्रबन्ध निर्देशक सुमन पाण्डेले बताए । 'यो दुःखद अवस्थामा पनि विदेशी आरोहीको जीवनरक्षा गर्न सकियो,' उनले भने ।

'उचाइ धेरै नभए पनि प्राविधिक रूपमा आमादब्लम कठिन छ,' उनले भने, 'त्यसमा पनि आरोहीले बाटो बिराएपछि गाह्रो हुनु स्वाभाविक हो ।' उनका अनुसार हिमालको क्याम्प २ देखि ३ सम्म खर्पस (हिम दरार) बढी भएकाले आरोहण गर्दा वा ओर्लंदा जोखिमपूर्ण हुन्छ । 'मनसुनमा परेको हिउँ यतिबेला तल झर्ने र मौसम खराब हुने सम्भावना बढी हुन्छ,' उद्धार विज्ञ तथा शेर्पा एन्ड स्विस एडभेन्चरका व्यवस्थापक ग्याल्जेनले भने । तर साहसिक काम गर्न रुचाउने यो मौसममा पनि पर्वतारोहणमा आउँछन् ।

सगरमाथाको ८ हजार मिटर उचाइको साउथकोलबाट आरोहण क्रममा निधन भएका स्विस आरोही वे मिचाको मृत शरीर सविनकै टोलीले गत जेठमा सफलतापूर्वक राजधानी ल्याएको थियो । ४५ हजार घन्टाभन्दा बढी हेलिकप्टर उडान भरिसकेका सविनसँग विभिन्न किसिमका हेलिकप्टर उडानको अनुभव थियो । १८ वर्षको उमेरदेखि नै यो पेसामा आबद्ध उनले एएस ३५०, बेल २०६, बीके ११७, एमआई १७ लगायत हेलिकप्टर उडाइसकेका थिए । उनी नागरिक उड्डयन प्राधिकरणको अनुमतिप्राप्त नेपालका थोरै इन्स्ट्रक्टर पाइलटमा पर्थे । 'फिस्टेलका लागि मात्र होइन, पूरै पर्यटन र उड्डयन क्षेत्रकै लागि यो अपूरणीय क्षति हो,' राणाले भने । सोमबार बिहान उनीहरूको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाई साँझ आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि र दाहसंस्कार गरिएको छ ।

'प्रतिकूल मौसमका कारण हिउँदमा आरोहण गर्न गाह्रो छ,' नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले भने, 'कम उचाइका हिमालमा टोलीका एक/दुई सदस्यले मात्र सफलता पाउँछन् ।' सगरमाथा आरोहणका लागि जानेहरू तयारीका लागि आमादब्लम चुम्ने गर्छन् । यो हिउँदमा आमादब्लम आरोहणका लागि २० टोलीले अनुमति लिएको पर्यटन उद्योग महाशाखा, पर्वतारोहण शाखाका प्रमुख बाबुराम भण्डारीले जानकारी दिए । सन् २००९ मा भने १३ टोलीका १ सय ८० आमादब्लम आरोहणका लागि गएका थिए ।

'वसन्त ऋतुभन्दा यो मौसममा आमादब्लम बढी आरोहण हुन्छ,' उनले भने । २०१० को वसन्त ऋतुमा ६ टोलीले यो हिमाल आरोहण गरेका थिए । त्यस्तै यसपालिको हिउँदमा विभिन्न हिमाल आरोहणमा गएकामध्ये ६ जनाको मृत्यु भइसकेको पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पाले बताए । 'तर उद्धारकै लागि गएको टोली सदस्यको यसरी दुर्घटनामा परी मृत्यु भएको थाहा थिएन,' उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks