सुरज कुँवर
थोराङभन्ज्याङ (मनाङ), कार्तिक २१ - पास काट्नेको भीडमा अधिकांशले अग्लो हिमाली भन्ज्याङमा पैंठेजोरी गरिरहेका बेला मधेसी लबजका एक झोले व्यापारी भेटिए झुत्रे र मैलो पहिरनमा । स्टोभ, कुकर र ग्यास पनि बनाउन जान्ने उनी रहेछन् मध्य तराईको रौतहटका सियाराम साह । उकालोमा थकाइ मेटाइरहेका भरिया र गाइडलाई उनी बिक्री गर्दै थिए, 'ए हजुर लौ आयो है 'पिवर' लेदरको पर्स, कम्मरपेटी, घडी ।' हिउँले ढाकेको पैदलमार्ग उक्लिँदै गर्दा ३७ वर्षका झोले व्यापारी साह स्थानीय घोडाका मालिक र सइसलाई भिडाउँदै थिए फिल्म र एमपीथ्रीका सिडी पनि । 'नयाँ फिल्म लिनुहुन्छ ? सल्मान खानको हो 'दबङ, काठमाडौंमा यही चल्या छ ।'
काठमाडौंमा २५ रुपैयाँ पर्ने सिडीलाई ८० रुपैयाँमा बिक्री गरिरहेका साहको भनाइ सही थियो । कोरियन, नेपाली र अंग्रेजी फिल्मका सीडी र दोहोरी गीतका एमपीथ्री बिक्री गरिरहेका उनले दबङ फिल्मका सिडी बिक्री गराउने प्रयास गरिरहँदा राजधानी र पोखराका हलमा त्यही फिल्म प्रदर्शनमा थियो ।
दैनिक ३ सय हाराहारी पदयात्रीले कट्ने थोराङ लेकमा पर्यटकहरू सजगता अपनाउँदै न्यानो पहिरनमा उक्लिरहेका थिए । मिर्मिरे अँध्यारोमा टर्च बालेर हिँडेका पर्यटक नेपाली भरिया, गाइडको सहयोगमा हिउँले पुरिएको बाटो काटिरहेका थिए । तर भारतको बिहार राज्यसँगै जोडिएको १८ सय मिटर हाराहारी उचाइको सन्तपुर गाविसमा जन्मिएका फिरन्ते व्यापारी साह ५४ सय मिटर उचाइको हिमाली पासमा कमसल पहिरनमा थिए ।
मोजा र पन्जाबिना सस्तो फाटेको चाइनिज जुत्तामा उक्लिरहेका उनको काँधमा घडी, कम्मरपेटी, स्टोभ र कुकरका स्पेयर पार्टस् र फिल्मका सिडीसहित करिब ३० किलोका दुईवटा झोला थिए । दायाँ हातमा कम्मरपेटीको मुठो र बायाँमा नीलो प्लास्टिकको टोकरी थियो । टोकरीमा घडी, पर्स, स्टोभ र कुकर मर्मतका सामान थिए । १७ वर्षदेखि हिमाली जिल्लामा फिरन्ते व्यापारीका रूपमा घुमिरहेका उनले थोराङ भन्ज्याङ ८ पटक काटेको बताए ।
मनाङमा एक महिनाअघि पसेका उनी नजिकिँदै गरेको छठ पर्व मनाउन नवौं पटक थोराङको बाटो मुक्तिनाथ हुँदै पोखरातर्फ आइरहेका थिए । 'छठ सकिएपछि एफएम रेडियो, सोलार टर्च र इमरजेन्सी लाइट लिएर आउँछु,' मनाङबाहेक, मुस्ताङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, डोल्पा, मुगुमा पनि व्यापारका सिलसिलामा डुलिरहने साहले भने ।
यी जिल्लाका हिमाली गाउँमा एक फन्को घुमाइमा १५ देखि २० हजार हाराहारीको व्यापार हुँदोरहेछ । सामान सकिएपछि काठमाडौंको असन, इन्द्रचोक र ठहिटीबाट थोकमा सामान किन्दै उनी हिमाली जिल्लाका दुर्गम गाउँ पस्छन् । 'खर्च घटाउँदा ६ हजार हाराहारी नाफा हुन्छ,' ४ सन्तानलाई काठमाडौंको जोरपाटीमा पढाउँदै आएका साहले कान्तिपुरलाई भने । पत्नीलाई गाउँमै छाडेर फिरन्ते व्यापार गरिरहेका उनी १७ वर्षअघि काठमाडौंका गल्लीमा स्टोभ र कुकर बनाउँथे ।
लेखपढ नजानेका साह बिन्दास शैलीमा हिमाली भेगका पास र बस्तीमा व्यापार गर्दै उक्लिरहेको बिहान थोराङ फेदीमा लेक लागेर दुई नेपालीसहित तीन पर्यटक घोडाको बुई चढेर लेक काट्दै थिए भने अघिल्लो दिन त्यही लेक काट्न नसकेर बेहोस भएका एक इजरायली पर्यटकलाई राजधानीबाट हेलिकप्टरले उद्धार गरेको थियो । बिहान मनाङको थोराङ पासमा व्यापार गरिरहेका उनी त्यही दिनको बेलुकी मुस्ताङको मुक्तिनाथ मन्दिरमा घडी बिक्री गर्दै थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks