माधब अर्याल
पाल्पा-, कार्तिक १९ - झडेवा-१ मरमराकी हेमकुमारी दिशामगर दैनिक ४ घन्टा पैदल हिँडेर उच्च मावि पढ्न जाने गर्छिन् । बिहान साढे ३ बजे उठेर विद्यालय हिँडेकी उनी मध्यान्ह एक/दुई बजे मात्रै घर फर्किन्छिन् ।
'४ बजे हिँडिएन भने त ६ बजेको कक्षा भेटाउन पुग्ने अवस्था नै हुदैन,' किसान उच्च मावि झडेवामा कक्षा, १२ मा पढ्ने उनले भनिन्, 'त्यसैले साढे ३ बजे त तयारी हुनै पर्छ । साढे ३ बजे उठ्यो भने तयारी गर्न
सकिन्छ ।' बिहान सबेरै उठ्ने र दिउँसोको मध्यान्हमा घर फर्किदा थकाइले गर्दा संसाझै सुतिसक्नुपर्ने बाध्यता छ ।
दिशामगर मात्रै होइन, कक्षा १२ मै पढ्ने हीरा आलेको पनि अवस्था उस्तै छ । झडेवा-१ मरमराका बालबालिकाको पढाइ सामान्यतः प्राथमिक र निम्नमाध्यमिक तहमा टुंगिने गर्छ । प्राथमिक तह पढेपछि नै अधिकांशले पढाइ अधुरै छाड्ने गर्छन् । गाउँबाट मावि र उच्च मावि पढ्न धेरै टाढा जानुपर्छ ।
'विद्यालय धेरै टाढा छ, खोला खोला हिँड्नुपर्छ,' आलेमगरले भनिन्, 'धेरै टाढा हुँदा कतिपयले निमावि पढ्पछि नै पढाइ छाड्ने गर्छन् ।' केटीहरूभन्दा केटाहरू भने अलि छिटो हिँड्ने गर्छन्, त्यसैले आधा घन्टा ढिला हिँड्छन् । गाउँका धेरैले विद्यालय टाढा भएकै कारण पढाइ बीचमै छाडेका छन् । मगर समुदाय बाहुल यो गाउँमा केटीहरूले सानोमै बिहे गर्ने र केटा भारतलगायत खाडी मुलुकमा कमाउन जाने गर्छन् ।
'यो सबै विद्यालय टाढा भएकोले नै भएको हो,' मरमराका कक्षा १२ का विद्यार्थी श्याम सारूले भने, 'अहिले भने धेरैमा पढ्नुपर्छ भन्ने भावना जागेको छ ।' केटाकेटी सबै मिलेर विद्यालय आउने गर्छन् । उच्च मावि पढ्ने ४ बजे नै हिँड्नुपर्छ भने मावि पढ्न आउनेहरूको पनि अवस्था उस्तै हो । साढे ७/८ बजे नहिँड्ने हो भने पहिलो पिरियड छुट्ने सम्भावना हुने विद्यार्थी भविसरा आलेले बताइन् ।
'गाउँमा एकातर्फ आर्थिक समस्या छ भने अर्कोतर्फ विद्यालय टाढा पनि छ,' उनले भनिन्, 'त्यसो भएर धेरै विद्यार्थीको पढ्ने सपना अधुरै रहने गरेको छ ।' मावि पढ्न आउने २० बढी छन् भने उच्च मावि पढ्ने १२ जना छन् । कतिपय आफन्तको घरमा बस्ने गर्छन् । कोही भने मावि तह जेनतेन अध्ययन गरेर सदरमुकाम तानसेन र बुटवलमा उच्च मावि पढ्न जाने गर्छन् ।
शिक्षा, मानविकी र व्यवस्थापनमा कक्षा १२ पास गर्नेहरू भने सदरमुकाम र बाहिर जिल्ला नगई सुख छैन । किसन उच्च माविले नै स्नातक सञ्चालन गरेमा मरमराका यी विद्यार्थीलाई ठूलो सहयोग पुग्छ । 'हामीले त विद्यालयमा आउने वर्ष नै बीबीएस वा बीएड सञ्चालन गरे राम्रो हुनेथियो भनेका छांै,' विद्यार्थी हेमकुमारीले भनिन्, 'शिक्षकले पनि अब गाउँमै स्नातक पढ्न पाइन्छ भन्ने आश्वासन दिनुभएको छ ।'
विद्यालयले यसै वर्ष स्वर्ण महोत्सव मनाउन लागेको छ । आगामी माघको २५ देखि फागुनको ५ गतेसम्म मनाउने स्वर्ण महोत्सवलाई स्नातक कक्षा सञ्चालन सहयोगार्थ मनाउने योजना बनेको विद्यालयका प्राचार्य शेषनारायण चालिसेले बताए ।
'विद्यालयमा विद्यार्थीको चाप र यसलाई खेप्नका लागि अहिले स्नातकका लागि योजना बनेको हो,' उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks