मुम्बई (एजेन्सी), कार्तिक १८ - बलिउडका 'किङ खान' शाहरुखका विभिन्न फिल्म नीतिमध्ये 'अन-स्क्रिन' चुम्बन नगर्ने अठोट सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । सायद यसैले होला- एक पुरुष फ्यानले उनलाई 'अफ-स्क्रिन' मा च्याप्पै समातेर चुम्बन गरिदिए ।
इटलीमा भइरहेको रोम फिल्म फेस्टिभलमा 'माई नेम इज खान' को स्क्रिनिङमा सहभागी हुन पुगेका शाहरुखलाई एक युवकले गालामा चुम्बन गरेका हुन् । रेड कार्पेटमा आफूलाई स्वागत गर्न उभिएका फ्यानहरूसँग शाहरुख अलमलिइरहेका बेला ती युवकले मौकामा चौका हानेका हुन् । युवतीहरूको चुम्बनबाट सधैं बचेका 'कल हो ना हो' स्टार अचानक पुरुषले अँगालोमा बाँधेर चुम्बन गरेपछि एकछिन अक्क न बक्क भएका थिए ।
'फिल्म फेस्टिभलको रेड कार्पेटमा फ्यानहरूको माया र सम्मान पाएर धेरै खुसी छु,' परिवारसँग रोम पुगेका शाहरुखले समारोह सिध्दिएपछि सामाजिक सञ्जाल टि्वटरमा लेखे, 'यो खुसीमा करन जौहरको याद आइरहेको छ ।' निर्देशक जौहर मलेरियाबाट सिकिस्त छन् । फ्यानलाई न्यानो स्वागतका लागि टि्वटरबाटै धन्यवाद दिएका अभिनेताले पुरुष फ्यानको चुम्बनबारे भने केही प्रतिक्रिया दिएका छैनन् ।
रोम हुँदै 'डन टु' का लागि मंगलबार बर्लिन पुगेका शाहरुखले ४५ औं जन्मदिन परिवारका साथै नायक हृतिक रोशनको परिवार र फिल्मका सहकर्मीमाझ मनाएका छन् । 'मेरो जन्मदिनमा यत्तिको मजा कहिल्यै भएको थिएन,' भन्दै उनले टि्वटरबाट जन्मदिनको शुभकामना सन्देश पठाएका फ्यानलाई धन्यवाद दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks