Loving nepal news

Monday, November 1, 2010

आजदेखि पेट्रोलियम ढुवानी बन्द

काभ्रे-, कार्तिक १५ -

भारतको बरौनीबाट पहिलेकै परिमाणमा पेट्रोलियम ढुवानी गर्न पाउनुपर्ने माग पूरा नभएको भन्दै ढुवानी व्यवसायीहरूले सोमबारदेखि ढुवानी रोक्ने निर्णय गरेका छन् । बुधबारदेखि छठ पर्वसम्म ढुवानी गरी त्यसपछि अनिश्चितकालका लागि ढुवानी बन्द गर्ने निर्णय आइतबार पेट्रोलियम ढुंवानी व्यवसायी महासंघले यहाँ गरेको हो ।

दैनिक १२ ट्यांकर पेट्रोलियम बरौनीबाट ढुवानी गर्ने र छठसम्म बन्द हडताल नगर्ने भनी असोज ११ गते आफूसँग भएको सहमति व्यवसायीहरूले तोडेको आरोप निगमले लगाएको छ । सोमबार व्यवसायीसँग वार्ता सुरु हुने जनाउँदै निकास निस्कने विश्वास निगम प्रवक्ता मुकुन्द ढुंगेलले व्यक्त गरे । 'निगमसँग पर्याप्त पेट्रोलियम भएकाले तत्काल आपूर्ति प्रभावित हुने छैन,' उनले भने ।

निगमले अमलेखगन्ज डिपोका लागि बरौनीबाट भइरहेको ढुवानीलाई कम गरी रक्सौलबाट ढुवानी परिमाण बढाउँदै लगेपछि बरौनी रुटमा ढुवानी गर्ने व्यवसायीहरू विरोधमा उत्रिएका हुन् । यसरी बरौनीबाट ढुवानी कम गर्दा उक्त क्षेत्रका लागि अनुमति लिएका १ सय ४० वटा ट्यांकर थन्किएर व्यवसायी डुब्ने महासंघका अध्यक्ष खगेश्वर बोहराले बताए । 'बरौनीबाट तेल नल्याउने हो भने ६० करोड रुपैयाँ डुब्छ,' उनले भने ।

तर बरौनीबाट ढुवानी गर्न नपाउने ट्यांकरलाई रक्सौलबाट ढुवानी गर्न दिने जनाउँदै व्यवसायीहरूले भ्रम फैलाउन खोजेको प्रवक्ता बताउँछन् । बरौनीका ३० ट्यांकरलाई रक्सौलबाट ढुवानी गर्न अनुमति दिने भनेर सिफारिस गर्न भने पनि महासंघले बेवास्ता गरको उनले बताए । निगमले मंसिर १ गते ३० वर्षभन्दा पुराना ट्याकंरलाई विस्थापित गर्न लागेको जनाउँदै ती ठाउँमा हाल बरौनीबाट ढुवानी गरिरहेका ट्यांकरले काम पाउने उनले जनाए ।

हाल ५७ वटा ३० वर्षभन्दा पुराना ट्यांकरले ढुवानी गरिरहेका छन् । माघदेखि २५ वर्षभन्दा पुराना ट्यांकर विस्थ्ाापित गर्ने निगमको योजना छ । भारतीय आयल निगमले १५ वर्षभन्दा पुराना ट्यांकर विस्थापित गर्न दबाब दिइरहेको छ ।

मुलुकमा खपत हुने ६५ प्रतिशत पेट्रोलियम अमलेखगन्ज डिपोमार्फत आपूर्ति हुन्छ । यो डिपोमा २ वर्षअघिसम्म सीमावर्ती रक्सौल डिपोबाट मात्र पेट्रोलियम पदार्थ ढुवानी हुने गरेको थियो । बढ्दो माग पूरा गर्न रक्सौलस्थित डिपोको पूर्वाधार अपुग हुनुका साथै वीरगन्ज नाकामा सडक जामका कारण ढुवानीमा कठिनाइ भएको कारण देखाई निगमले दुई वर्षअघि -२०६५ मंसिर) भारतीय आयल निगमको बरौनी रिफाइनरीबाट पेट्रोलियम ल्याउने निर्णय गरेको थियो । बरौनीबाट ढुवानी गर्दा निगमले प्रतिलिटर ९० पैसा बढी भाडा तिर्नुपर्छ ।

सुरुको ६ महिना भारतीय ट्यांकरको सेवा लिएको निगम ढुवानी व्यवसायीको विरोधका कारण नेपाली ट्यांकरलाई अनुमति दिन बाध्य भएको थियो । अमलेखगन्ज डिपोमा गत वर्ष ३८ प्रतिशत पेट्रोलियम बरौनीबाट ल्याइएको थियो ।

तर गिट्टी बालुवाको निकासी बन्द भएका कारण नाकामा आवतजावत सहज भएकाले निगमले बरौनीबाट पेट्रोलियम ढुवानी घटाउँदै लगेको छ । दैनिक ४० ट्यांकरसम्म पेट्रोलियम ढुवानी हुने बरौनीबाट अहिले १२ ट्यांकर मात्र ढुवानी भइरहेको छ । प्रतिलिटर ९० पैसा बढी खर्च हुने बरौनीमा ट्यांकर चालक/व्यवसायीले क्यालिब्रेसन -ट्यांकरमा क्षमताअनुसार तेल हाल्न निर्धारण गरिने विन्दु) मा बदमासी गरी निगमलाई नोक्सानी पुर्‍याएको फेला परेपछि कर्मचारी युनियनले त्यहाँबाट ढुवानी बन्द गराउन दबाब दिइरहेका छन् ।

पेट्रोलियम ढुवानी गर्ने ट्याकंरले कुन चेम्बरमा कुन विन्दुमा राख्दा क्षमताअनुसार पेट्रोलियम पदार्थ लोड हुन्छ भनेर क्यालिब्रेसन गर्नुपर्छ । पानी राखेर कुन पेट्रोलियम लोड गर्ने विन्दु तोकिन्छ । भारतमा निगमबाट मान्यता प्राप्त निजी क्षेत्रको संस्थाले क्यालिब्रेसन गर्छन् ।

तर चालक/व्यवसायीले क्यालिब्रेसन गर्नेको मिलेमतोमा क्यालिब्रेसन विन्दु २ सेन्टिमिटरजति घटाएर तेल अपचलन गरेको फेला परेका थिए । क्यालिब्रेसनमा बदमासी भएको गुनासो आएपछि निगमले बरौनी पुगेर चेक गर्दा ८ वटा ट्यांकरले यस्तो गरेको फेला परेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks