काठमाडौ, कार्तिक १५ - राजधानीको बत्तीसपुतलीमा तिरुपति बेंकटेश मन्दिर निर्माण धमाधम भइरहेको छ । १ रोपनी १० आना जग्गामा करिब पाँच करोड रुपैयाँ लागतमा मन्तिर निर्माण सुरु गरिएको हो ।
धार्मिक पर्यटन विकासका लागि अन्तराष्ट्रिय पर्यटकलाई समेत लक्षित गरेर मन्दिर बनाउन थालिएको हो । दुई वर्षभित्र पूरा निर्माण पूरा गर्ने योजना छ । दक्षिण भारतीय भाषामा भगवान् नारायणलाई बेंकटेश भनिन्छ । १ सय १२ वर्षदेखि बेंकटेशको पूजाआजा, वैदिक धर्मको प्रचार-प्रसार, अतिथि र विद्यार्थी सेवामा लागेका श्रीवैष्णव -रामानुजीय) संस्थाले बत्तीसपुतलीस्थित जीर्ण हुँदै गएको पुरानो मन्दिरलाई भत्काएर नयाँ स्वरूप दिन लागेको हो । मुलुकभर १० लाख र उपत्यकामा मात्रै दुई लाख ५० हजार श्रीवैष्णव अनुयायी छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र महन्त स्वामी पदमधराचार्यका अनुसार आठ दिनको यात्रापछि काठमाडौंबाट केही सहयात्रीहरूका साथ गरुडध्वज रामानुज दासी बंेंकटेश नारायणको मन्दिर पुगेकी थिइन् । नारायकै अन्र्तइच्छानुरुप गरुडध्वजीले १९५७ सालमा उक्त मन्दिरको निर्माण गरेकी थिइन् । पुरानो मन्दिर भत्काएपछि त्यहाँको मूर्ति धर्मशालामा सारिएको छ ।
एक शताब्दीभन्दा बढी पुरानो यो मन्दिरको निश्चित आयस्रोत छैन । उनका अनुसार दैनिक झन्डै १ सय ५० भक्तजन भोजन गर्ने यस स्थलमा बिहे, व्रतबन्ध, श्राद्ध, शैक्षिक र व्यावसायिक कामको सिलसिलामा विदेश जानेले दिने दान-दक्षिणाबाट मन्दिर सञ्चालन भइरहेको छ ।
उक्त मन्दिरमा दैनिक औसत सय जना र शनिबार एवं चाडपर्वका बेला ४ सय भक्तजन आउँछन् । मन्दिरमा अहिले पाँच जना पुजारी र तीन भान्से छन् ।
बीस हजार वर्ग फिटमा निर्माणाधीन भव्य मन्दिरको भुइँतलाको बेसमेन्टमा पचास गाडी अट्न सक्ने परिसर, पहिलो तलामा पाँच सय भक्तजन बस्न मिल्ने प्रवचन हल, दोस्रो तलामा एकैपटक पाँच सय बसेर पूजा अर्चना गर्न मिल्ने खाली ठाउँ हुनेछ । पहिलो र दोस्रो तलाको पछाडिपट्टकिा झन्डै २० कोठामा हवनकुण्ड, दीक्षा कक्ष, पुजारी, आचार्य, विद्यार्थी, कार्यकर्ता, अतिथि कक्ष र भोजनालय रहनेछन् । वेदको अध्ययनका गर्ने ३० विद्यार्थीका लागि आवास र भोजनको निःशुल्क व्यवस्था हुनेछ । 'सदिच्छाका साथ हामीले पाइला बढायौं,' समितिका महासचिव नुतनदेव खनालले भने, 'आपसेआफ सहयोगी हातहरू जुट्न थाले ।' नाफारहित यो धार्मिक अभियानमा जोडिनेहरूको संख्या दैनिक बढ्दो छ ।
यो योजनामा पाटनको हिमाल डेरीका सञ्चालक श्यामसुन्दर शाहीले एक करोड रुपैयाँ र दुई वर्षदेखि भारतको चेन्नईमा आश्रम बनाएर बसेका सिन्धुपाल्चोकका स्वामी राम प्रपन्नाचार्यले ५१ लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् । स्वदेश र विदेशका धार्मिक संघसंस्था, भक्तजन, सरकार र स्थानीय निकायबाट अपुग सहयोग लिइने गरी निर्माण कार्य अघि बढेको खनालले जानकारी दिए ।
पूर्वतयारीअनुरूप दुई वर्षअघि मन्दिरसँगै पूर्व दिशामा आठ आना जग्ग्ाामा दुई करोड रुपैयाँको लागतमा चारतले धर्मशालाको निर्माण भइसकेको छ । यो राम प्रपन्नाचार्यको ५८ लाख रुपैयाँ र भक्तजनको सहयोगले यसको निर्माण भएको हो । यहाँ नेपाल र भारतबाट आएका सय जना तीर्थयात्रीका लागि निःशुल्क आवास र भोजनको व्यवस्था छ ।मन्दिरमा अहिले पाँच जना पुजारी र तीन भान्छे छन् । मन्दिर निर्माण भइसकेपछि भक्तजनको चाप बढ्ने हुनाले पाँच पुजारी, दुई भान्छे, पाँच जना पात्र सफाइ गर्ने र अन्य कामका लागि २२ कर्मचारी थपिनेछ ।
समितिका कोषाध्यक्ष एवं गृहमन्त्रालयका पूर्वअधिकृत दुण्डिराज पोखरेलले विश्वकै सबभन्दा धनी मन्दिरको रूपमा परिचित तिरुपति बालाजीको एक थोपाको रूपमा मात्र यो मन्दिर विकास गर्न सके पनि नेपालको धार्मिक र यससँग जोडिएका पर्यटन क्षेत्रमा ठूलो उपलब्धि हुने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks